‘सुनजस्तो’ भयो माटो, शेयरकाे कमाइ घरजग्गामा

‘सुनजस्तो’ भयो माटो, शेयरकाे कमाइ घरजग्गामा


कोभिड–१९ महामारीले शिथिल बनेको घरजग्गा कारोबार पछिल्लो समय एकदमै फस्टाएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैतमा लकडाउन गरेपछि कारोबार ठप्पप्रायः बनेको थियो।

गत असोजमा लकडाउन हटिसकेपछि पनि केही महिना कारोबारले गति लिन सकेको थिएन। तर, पछिल्ला तीन महिनायता भने घरजग्गा कारोबारमा अकासिँदै गएको छ।

उपत्यकामा तीन महिनायता कारोबार बढेसँगै जग्गाको भाउ अचाक्ली बढेको छ। तीन महिनामै प्रतिआनामै ५ लाखसम्म भाउ बढेपछि उपभोक्ताले भन्न थालेका छन्– अहो! माटो पनि सुनजस्तै हुन थाल्यो। ‘तीन महिनासम्म प्रति आना २० लाखमा कारोबार भएको जग्गा ३० लाख पुगिसकेको छ, उपत्यकामा भित्री बस्तीमा समेत जग्गाको भाउ र कारोबार अत्यन्त बढेको छ,’ एक उपभोक्ताले भने।   

यता, घरजग्गा कारोबारसँगै नेपाली पुँजी बजारमा समेत उछाल आइरहेको छ। घरजग्गा तथा सेयर बजार दुवै क्षेत्रको कारोबारले ऐतिहासिक रेकर्ड बनाउँदै जाँदा लगानीकर्ता यी क्षेत्रमा झुम्मिएका हुन्। 

घरजग्गा र शेयर बजारमा छाएको उछालसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान भएको छ । कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म मासिक करिब ४० हजार वटा घरजग्गाका कारोबार हुने गरेकोमा अहिले यो संख्या दोब्बरले बढेर ८० हजारसम्म पुगेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। 

विभागको तथ्यांक अनुसार गत पुसमा मुलुकभर करिब ८० हजार र माघमा १ लाख ५० हजार घरजग्गा किनबेच भएको छ। अहिले घरजग्गा कारोबारलाई डिजिटलमा सुधार गरेर व्यवस्थित बनाइएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् । उनका अनुसार यसअघि कागजी कारोबारको काम गरिँदै आएकोमा अहिले सबै काम अनलाइनमार्फत् हुन्छन्। पहिले तीन दिन लाग्ने काम अहिले एकै दिनमा सिधिने र एक महिनामा हुने काम दश दिनमा नै सकिने भएकाले दुई महिनामा मात्रै करिब साढे दुई लाख घरजग्गा कारोबार भएको पौडेलको भनाइ छ। 

कोरोना महामारीपछि बढी मुनाफा कमाउन घरजग्गा र शेयर बजारमा लगानी बढ्न थालेकाले कारोबार उच्च हुँदै गएको छ। ‘देशैभरका मालपोत कार्यालयले दिने सेवालाई सरलीकरण र प्रविधिमैत्री बनाइएको छ, घरजग्गाको कारोबार बढेसँगै कोरोनाले रोजगारी गुमेकालाई समेत प्रत्यक्ष रोजगारी सिर्जना भएको छ। यसबाट आर्थिक गतिविधि चलायमान हुनुका साथै राज्यलाई करबापत ठूलो रकम आएको छ,’ पौडेलले भने। 

कोरोना महामारीअघिसम्म रिङरोडभन्दा बाहिरी भागमा प्रतिआना १०–१५ लाख रुपैयाँमासम्ममा पाइने जग्गा अहिले २० देखि २२ लाखसम्म पुगेको घरजग्गा एजेन्ट संघ नेपाल (रिआन) ले जनाएको छ। 

अहिले देशैभरका मालपोत कार्यालयको सेवालाई प्रविधिमैत्री बनाउँदै अधिकांश काम पेपरलेस बनाउँदै लगिएको छ, जसबाट दैनिक  कामहरू छिटो र समयमै सम्पन्न हुने हुँदा कारोबारको साथै राजस्वसमेत दोब्बरले बढेको विभागको भनाइ छ। 

घरजग्गा एजेन्ट संघ नेपाल (रिआन) का अध्यक्ष ईश्वर पोखरेलले कोरोना महामारीपछि अन्य उद्योग, व्यापार र व्यवसायमा लगानी गर्दा असुरक्षित महसुस गर्दै  तत्काल मुनाफा आउने देखेर मानिसले घरजग्गा र शेयरमा लगानी गर्न थालेका बताए। 

‘कोरोना महामारीपछि कुनै पनि विकासोन्मुख देशमा घरजग्गा तथा शेयर बजारमा बाहेक अन्य व्यापार क्षेत्रमा लगानी सुरक्षित नभएको अवस्था छ, नेपालका लगानीकर्ताले लगानीको सुरक्षा खोजेका छन्,’ पोखरेलले भने।

होटल, टुरिज्म, व्यापार, व्यवसायमा लगानी गर्दा महिनैपिच्छे करको झन्झट हुने भएकाले लगानीकर्ता चाँडै मुनाफा आउने क्षेत्रतर्फ आकर्षित भएका हुन्। 

लकडाउनको करिब ६ महिनासम्म रोकिएका घरजग्गाको किनबेच तीन महिनाको बिचमै सिधिएकाले पनि कारोबार दोब्बरले बढेको उनको भनाइ छ। 

शेयरको कमाइ घरजग्गामा लगानी 

दुई महिनादेखि नेपाली शेयर बजार नयाँ रेकर्डसहित उकालो चढ्दै गएको छ। कोभिड–१९ अगाडिको समयभन्दा अहिले सेयरको मूल्य दोब्बरभन्दा बढीले बढिसकेको छ। हालै नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा धेरै ८ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेपछि शेयरबजारले उचाइ कायम गर्दै गएको छ। सेयर बजारले ऐतिहासिक उचाइ कायम गरिरहँदा शेयरबाट कमाएको रकम घरजग्गामा लगानी हुन थालेको छ। यसले गर्दा पनि घरजग्गाको कारोबार बढ्दै गएको छ।

कोरोना महामारीपछि बैंकमा तरलताको चाप परेर ब्याजदर निकै कम भएको छ। यसले गर्दा मानिसले बैंकबाट कर्जा लिएर घरजग्गा जोड्न थालेकाले कारोबार बढेको हो। 

कोरोना महामारीको कारण आर्थिक गतिविधि नहुँदा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर रहेको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जा तथा अटो लोन (हायर पर्चेज कर्जा)को ब्याजदर कम गर्न बैंकहरूलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनसँगै अहिले सबै वाणिज्य बैंकहरूले सहुलियत ब्याजदरमा घरजग्गा कर्जा दिइरहेका छन्।

विगतमा १४ प्रतिशतभन्दा बढी रहेको घरकर्जाको ब्याज अहिले ८ प्रतिशतमा झरेको छ । यसरी बैंकहरूले ब्याजदर सस्तो गरेकाले पनि कर्जा लिएर घरजग्गा किन्ने बढेका महानिर्देशक पौडेलले उल्लेख गरे। बैंकहरुले सस्तोमा कर्जा उपलब्ध गराउँदै आएकाले शेयरमा समेत लगानी बढेको सरोकारवालाले बताएका छन् ।

जग्गाको मूल्य दोब्बर बढ्यो

घरजग्गा बजारमा कोरोना महामारीअघिको भन्दा अहिले मूल्य अत्याधिक रूपमा बढेको छ । कोरोना महामारीअघिसम्म रिङरोडभन्दा बाहिरी भागमा प्रतिआना १०–१५ लाख रुपैँयाँसम्ममा पाइने जग्गा अहिले २० देखि २२ लाखसम्म पुगेको संघका अध्यक्ष पोखरेलले बताए ।

उनका अनुसार कोरोनाको प्रभावमा परेका व्यवसायीले असार–साउनमा सस्तो मूल्यमा जग्गा बेचेका थिए। तर, कोरोना महामारी बीचमै पैसा भएका जग्गाधनीले जग्गा होल्ड गरेर राखी अहिले महँगोमा बेच्न थालेका छन्। 

जति मूल्य तोक्दा पनि किन्ने मान्छे आइरहेपछि जग्गाको मूल्य दिन दुई गुणा र रात चौगुणाले बढिरहेको छ। तीन महिनाअघिको तुलनामा अहिले जग्गाको मूल्य २० देखि ३० प्रतिशतसम्म बढिसकेको उनको भनाइ छ। पछिल्लो तीन महिनामा मात्रै करिब २ लाख घरजग्गा किनबेच भइसकेको विभागको तथ्याङ्कमा उल्लेख छ। 

राजस्व बढ्यो 
विभागको तथ्यांकअनुसार गत पुस महिनामा मात्र देशभरका मालपोत कार्यालयबाट ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, माघ महिनामा विभागले देशभरका मालपोत कार्यालयबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार राजस्व उठाएको छ, जुन पुस महिनाको तुलनामा ७ करोड ६४ लाख २५ हजारले कमी रहेको छ।

Logo