बैंकहरूमा निक्षेपभन्दा कर्जा बढ्दै, पाँच बैंक कर्जा लगानीमा अग्रणी

बैंकहरूमा निक्षेपभन्दा कर्जा बढ्दै, पाँच बैंक कर्जा लगानीमा अग्रणी


पछिल्लो एक सातादेखि बैंकहरुमा निक्षेप संकलनभन्दा कर्जा विस्तार दोब्बरले वृद्धि हुन थालेको छ । बैंकहरुले गत साता मात्रै १३ अर्ब रुपैयाँ निक्षेप उठाउँदा २६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। पछिल्लो एक महिनामै बैंकहरुले कूल ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ७० अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन्।

कमर्सियल वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार चालू आर्थिक बर्षको ८ महिनाको बैंकहरुको निक्षेप संकलन तथा कर्जा लगानीको तथ्यांक सार्वजनिक गरेको छ । बैंकर्स संघको तथ्यांकअनुसार  चालू आर्थिक वर्षको साउनदेखि फागुन अन्तिम सातासम्म करिब ८ महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ३ खर्ब ३२ अर्ब ७४ अर्ब रुपैयाँ निक्षेप र ४ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन्।

२०७७ साल असार मसान्तमा ३४ खर्ब ८९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले फागुन तेस्रो सातासम्ममा ३८ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ३३ खर्ब ८७ अर्ब ५० करोड ऋण प्रवाह गरेका छन्। त्यस्तै, पछिलो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन भन्दा ऋण प्रवाह बढ्दै गएको देखिन्छ। 

नबिल बैंकको मात्रै ६ अर्ब ६७ करोड संकलन

चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन २१ गतेसम्म २७ वाणिज्य बैंकहरुले १३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा सबैभन्दा बढी निक्षेप संकलन गर्ने पहिलो नबिल बैंक रहेको छ । नबिल बैंकले मात्र यो अवधिमा ६ अर्ब ६७ करोड निक्षेप संकलन गरेको छ । त्यस्तै, निक्षेप संकलन गर्ने दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ६१ करोड संकलन गरेको छ भने तेस्रोस्थानमा रहेको सिभिल बैंकले २ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

त्यस्तै, सिभिल बैंकलाई पछ्याउँदै एनआइसी एसिया, सानिमा र प्रभु बैंकले उल्लेखनीय मात्रामा निक्षेप संकलन गरेका छन् । एनआईसी एसियाले १ अर्ब ७७ करोड, सानिमा बैंकले १ अर्ब ३५ करोड र प्रभु बैंकले १ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

राम्रा मानिएका नेपाल एसबिआई, स्ट्यान्डर्ड चार्टड, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, नेपाल बंगलादेश लगायतका बैंकले भने जस्तो निक्षेप संकलनमा वृद्धि गर्न सकेको देखिँदैन।

कर्जा लगानीमा एनआईसी एसिया बैंक अग्रस्थानमा

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा व्यवसाय विस्तार, निक्षेप संकलन तथा कर्जा लगानी गर्नेमा एनआइसी एसिया बैंक अग्रस्थान रहेको छ । पछिल्लो एक सातामा २७ वाणिज्य बैकहरुले २५ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसमध्ये एनआईसी एशिया बैंकले मात्रै यो अवधिमा २ अर्ब ५६ करोड कर्जा लगानी गरेको छ । दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमइले यो अवधिमा २ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

त्यस्तै, कर्जा लगानी गर्ने तेस्रो स्थानमा नबिल बैंकले १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सानिमा बैंकले १ अर्ब ६४ करोड, प्रभु बैंकले १ अर्ब ४२ करोड, एनआइबिएल बैंकले १ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । 

कोरोना महामारीको कारण करिव एक वर्ष देशको अर्थतन्त्र शिथिल बन्न पुगेको थियो । महामारीले अर्थतन्त्र चलायमान बनाउने उद्योग, व्यापार–व्यवसाय समेत ठप्प हुन पुगेको थियो । यसरी सबै उद्योग व्यापार व्यवसाय बन्द हुँदा बैंकबाट कर्जा लगानी हुने पाएन । त्यसबेला बैंकहरुमा कर्जाको माग नै आउन छाडेको थियो । यसरी कर्जाको माग नहुँदा बैंकमा २ खर्ब भन्दा बढी तरलता बढ्न पुगेको थियो। 

अर्थतन्त्र चलायमान हुन थालेसँगै बैंकहरुले निक्षेप संकलन र कर्जा विस्तारलाई प्राथमिकतामा राख्न थालेका छन्। केही बैंकहरुले ब्याज कम गरेर निक्षेप संकलन जारी राखेका छन्। अहिले बैंकमा ब्याजदर पनि सस्तो भएको कारण घरजग्गा, शेयर कारोबार तथा उद्योग व्यवसायमा लगानी बढ्न थालेकाले निक्षेपको तुलनामा बैंकहरुले कर्जा लगानीमा बढी जोड दिएको देखिन्छ।

Logo