ओलीको गुटगत निर्णय स्वीकार्य छैन : नेपाल समूह

ओलीको गुटगत निर्णय स्वीकार्य छैन : नेपाल समूह


प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेतादेखि प्रदेश इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेपछि माधवकुमार नेपाल समूहले त्यसको विरोध गरेको छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अमान्य घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युताएँपछि आज बसेको बैठकले नेपाल निकट नेताहरुलाई पार्टीमा जिम्मेवारी बिहिन गर्ने निर्णय गरेको थियो।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति  तोक्ने, प्रदेश इन्चार्जको चयन तथा  केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको हाे । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेकाे भन्दै आपत्ति जनाए ।

सो समूहको बैठकपछि नेता रावलले भने, “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।” प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो । 

Logo