सरकारले हटायो ६० लाखमाथिका गाडी आयात प्रतिबन्ध, अटो व्यवसायीद्वारा स्वागत

सरकारले हटायो ६० लाखमाथिका गाडी आयात प्रतिबन्ध, अटो व्यवसायीद्वारा स्वागत


सरकारले ६० लाखमाथि (५० हजार डलर) का महँगा सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाएको छ। 

गत फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा करिव एक वर्षदेखि ६० लाख भन्दामाथि मूल्य पर्ने महँगा सवारी साधन आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

गत वर्ष २०७६ चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशी मुद्रा सञ्चितीका लागि भन्दै ५० हजार डलर अर्थात ६० लाखभन्दा माथिका महँगा सवारी तथा कृषि उपज मरिच, सुपारी, केराउ, छोकडा र मदिरा लगायतका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। 

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विश्व महामारीको रुपमा कोरोना भाइरस फैलिएर आर्थिक गतिविधि चलायमान हुने क्षेत्रहरु तथा विदेशी मुद्रा आर्जन हुने मुख्य पर्यटन क्षेत्र पूर्णरुपमा समस्यामा रहेको भन्दै विदेशी मुद्राको सञ्चिती बचाउनकै लागि महँगा सवारी साधन आयातमा प्रतिबन्ध लगाएको डा. खतिवडाले नै बताएका थिए।

एक वर्ष पश्चात सरकार आफ्नो निर्णयमा पछाडि हट्दै महँगा सवारी आयात प्रतिबन्ध फुकुवा गरेको हो। मन्त्रिपरिषद्को निर्णय सोमबार सरकारले राजपत्रमा प्रकाशित गरेको छ। यस्तै प्रतिबन्धित कृषि उपजका वस्तुहरु केराउ, मरिच, सुपारी र छोकडा पनि परिमाण तोकेर ल्याउन पाउने गरि फुकुवा गरेको छ।

राजपत्रमा भनिएको छ,‘भन्सार उपशीर्षकमा लगाइएको बन्देज पूर्णरुपमा हटाई चालु आर्थिक वर्ष अवधिको लागि एक जना व्यवसायीले वार्षिक ८० हजार मेट्रिक टन केराउ, सुपारी २५ हजार मेट्रिक टन, छोकडा ५ हजार मेट्रिक टन र नधुल्याइएको मरिच एक जना व्यवसायीले एक वर्षमा १५ हजार मेट्रिक टन आयात गर्न पाउनेछन्।’

सरकारले महँगा सवारी आयात फुकुवा गरेसँगै अटो व्यवसायीहरुले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन्।

नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले गर्नै पर्ने काम गरेको बताएका छन्। अटो व्यवसायीहरुको मागलाई सरकारले ढिलै भएपनि सम्बोधन गरेको छ। उनले भने,‘व्यवसायीहरुले महँगा गाडी राज्यलाई कर तिरेर ल्याउने भएकाले महँगा गाडी चढ्न सक्ने सार्मथ्य भएकाहरुलाई चढ्न दिनु पर्छ र नहुनेलाई छुट दिनुपर्छ।’

व्यापार गर्न खुल्ला व्यवसायी स्वतन्त्रता हुनेछ भनेर लेखेको संविधान भएकाले रोक्न नहुने थियो। तर कोरोनाको कारणले रोके पनि अहिले खुल्ला गरेकोमा सरकारको निर्णय स्वागतयोग्य भएको उनको भनाइ छ ।

नेपालमा महँगा सवारी कति आयात र विक्री कति हुन्छ?

नेपालमा ६० लाखभन्दा बढी मूल्य पर्ने सवारी साधन कमै मात्रामा आयात हुने गरेको छ। वार्षिकरुपमा आयात हुने कुल सवारी साधनमध्ये करिब २ प्रतिशत मात्रै महँगा सवारी साधन आयात हुने गरेको अध्यक्ष दुलालले बताए। 

उनका अनुसार दश हजार सवारी आयात हुँदा २ सय सवारी ६० लाखभन्दा माथि मूल्य भएका आउने गरेका छन्। त्यस्तै, नेपालमा त्यस्ता सवारी साधनको खपत पनि २ प्रतिशतभन्दा कमै रहेको दुलाल बताउँछन्। 

सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतिय महँगा गाडीमा भन्सार शुल्क बढाएको थियो । तर व्यवसायीहरुको चर्को विरोधपछि सरकारले भन्सारदर परिमार्जन गरेको छ। यसरी सरकारले भन्सारदर बढाएपछि वीरंगन्ज भन्सारसम्म आएका विश्वका महँगा गाडी गत जेठ महिनादेखि अलपत्र अवस्थामा रहेका छन्।

Logo