हनुमानढोका क्षेत्रका अनधिकृत व्यापारिक प्रयोजन हटाउन विभागलाई ध्यानाकर्षण

हनुमानढोका क्षेत्रका अनधिकृत व्यापारिक प्रयोजन हटाउन विभागलाई ध्यानाकर्षण


विश्वसम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गराएको छ । 

‘विश्वसम्पदा सूचिमा सूचिकृत काठमाडौँका चार सम्पदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘ती सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जिर्णोद्धार, तथा सम्वर्द्धन गरी प्राचिनता जोगाउनु काठमाडौँ महानगरपालिको दायित्व हो । त्यसैले हामीले पुरातत्व विभागलाई पटक–पटक त्यहाँका अनधिकृत प्रयोजन हटाउन ताकेता गरेका छौँ । तर, विभागले ढिलासुस्ती गरिरहेको छ । हामीले ताकेता गरिरहेका छौँ ।’ 

उनले वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु चलेका भन्दै छिटो हटाउन आग्रह गरेको पुनः स्मरण गराए ।  ‘ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वको त्यो क्षेत्र पहिला परम्परागत र बटुवामैत्री थियो । बटुवाहरु त्यहि सतलमा आराम गर्ने गर्थे,’ शाक्य थप्छन्, ‘त्यस्तो पुरातात्विक ठाउँको महत्वलाई जोगाउनुपर्छ भनेर महानगरपालिकाले पुरातत्वलाई व्यापारिक प्रयोजन हटाइदिन आग्रह गरेको हो ।’ 

Logo