व्यवसायी भन्छन्–’लकडाउन मात्र विकल्प होइन, सतर्कता अपनाएर कोरोनाविरुद्ध डटौं’

व्यवसायी भन्छन्–’लकडाउन मात्र विकल्प होइन, सतर्कता अपनाएर कोरोनाविरुद्ध डटौं’


लामोसमय कोरोना कहरले शिथिल मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको छ। तर, पुनःकोरोना भाइरसको संक्रमण बढ्न थालेकाले सरकारले स्वास्थ्य प्रोटोकल अपनाउन तथा सभासम्मेलन नगर्न आग्रह गरिरहेको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दै जाँदा नेपालमा सावधानी अपनाउन अनिवार्य जस्तै हुन्छ। यस्तो अवस्थामा सरकारले यसका लागि सूचना नै जारि गरि सावधानी अपनाउन आह्वान गरिसकेको छ।

सरकारको यस्तो सूचना र महामारीको नयाँ रुपले उद्योगी व्यवसायी भने चिन्तित हुन थालेका छन्। कोरोना महामारीको मार खेपेर तंग्रिदै गरेका उद्योगीहरुलाई फेरि पनि कोरोनाको चिन्ताले सताउन थालेको छ। पुनः लकडाउन हुने होकि भन्ने चिन्ताले पिरोल्न थालेको छ। 

वर्षदिनसम्म कोरोनाको मार भोग्दै आएकाले अब लकडाउन भन्दा पनि स्वास्थ्य प्रोटोकललाई अधिकतम प्रयोग गरेर लकडाउन गर्न नहुने मत उद्योगी तथा व्यवसायीहरूको छ। 

‘अब फेरि लकडाउन होइन यसको विकल्प खोज्नु पर्छ’, अर्थतन्त्रप्रति चिन्ता जाहेर गर्दै नेपाल चेम्बर अर्फ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठ भन्छन्,‘अब मुलुकले लकडाउन भन्ने कुरा सोच्नु पनि हुँदैन । बरु सरकारले स्वास्थ्य प्रोटोकल कडाई, सीमा नाकामा आवात जावातमा कडाईका साथै क्वारेन्टिनको व्यवस्था राम्रो गरेर उद्योग व्यवसाय चलायमान राख्नु पर्छ।’ 

‘हामीले लकडाउनको तितो र नमिठो अनुभव बेहोरिसक्यौँ र त्यसको असर अहिलेसम्म पनि भोग्दै आएका छौं,’ श्रेष्ठ थप्छन्। 

कोरोनाले थलिएका कतिपय उद्योग व्यवसाय अहिले पनि सञ्चालनमा आउन सकेका छैनन्। साना तथा मझौला उद्योगहरु धरासायी अवस्थामा नै छन्। त्यसमा पनि सबैभन्दा बढी प्रभावित पर्यटनक्षेत्र अहिलेसम्म माथि उठ्न सकेको छैन। यस्तो अवस्थामा फेरि लकडाउन हुन सक्दैन। अब लकडाउन भन्दा पनि सचेत र संयमित भएर सम्भावित समस्याको पूर्वतयारीमा उद्योगी व्यवासायीसहित सरकार तयारी अवस्थामा बस्नु पर्नेमा श्रेष्ठको जोड छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पनि अब, मुलुकलाई लकडाउनतर्फ धकेल्नु मुर्खता हुने बताउँछन्। फेरि देश लकडाउनमा जाने अवस्था आयो भने त्यो मुलुकका लागि थप दुर्भाग्य हुने उनको तर्क छ। भन्छन्,‘बाहिरबाट आउने नाकाहरुमा कडाई गर्ने तथा क्वारेन्टाइनको व्यवस्थापन गरेर स्वास्थ्य प्रोटोकल ध्यान दिएर देशभित्रको अर्थतन्त्र चलायमान राख्नु जरुरी छ।’

लकडाउन गर्दा फेरि पनि निजी क्षेत्र एक वर्ष अघिकै अवस्थामा पुग्ने तथा उद्योगी व्यवसायीहरु नै मारमा पर्ने हुनाले लकडाउनको विकल्प खोज्नु पर्ने उनको भनाइ छ ।

कोरोनाबाट बच्न सुरक्षित र संयमित भएर सुरक्षा सतर्कताकासाथ व्यवसाय विस्तार गर्दै जानु पर्छ। तर, सरकार र निजिक्षेत्र दुबैले कोरोना नियन्त्रणको लागि पूर्वतयारीमा भने ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ। भारतमा कोरोनाको दोस्रो लहर देखा परिसकेकाले सरकारले सीमा नाकाहरुमा कडाई, चेकजाँचमा तीव्रता दिनुपर्ने सिंगो निजि क्षेत्रकै माग रहेको श्रेष्ठ बताउँछन्। 

पुनः लकडाउन हुने शंकामा नेपाल होटल एशोसिएसन अफ हानका उपाध्यक्ष विनायक शाह पनि चिन्तित छन्। कोरोना महामारी फैलिएर लकडाउन भएको एक वर्ष पुरा भए पनि पर्यटन क्षेत्र त्यसमा पनि होटल तथा रेष्टुरेन्टहरुको अवस्था शुन्य भएको र अझै पनि रेड जोनमै रहेको उनी बताउँछन्। 

पछिल्लो समय कोरोना भ्याक्सिन आएपछि होटल तथा रेष्टुरेन्टहरुमा केही मानिसहरुको चाप बढ्न थाले पनि भारतमा कोरोनाको दोस्रो लहर आएको हल्लाले होटल तथा रेष्टुरेन्टहरुमा आउने ग्राहकको संख्या ह्वातै घट्न शाहको भनाइ छ।

अब सरकारले बनाएको स्वास्थ्य प्रोटोकल अपनाएर सकेसम्म व्यवसायलाई निरन्तरता दिनु नै जरुरी रहेको उनको माग छ । फेरि लकडाउन गर्नुको औचित्य नभएको तर, आकस्मिक परिस्थितिलाई भने सबैले स्वीकार गरेर नै अघि बढ्नु पर्ने उनको सुझाव छ ।

०००००
विश्वभरि फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको बुधबार एक वर्ष पुरा भएको छ। सरकारले लगाएको लकडाउनका कारण उद्योग व्यापार व्यवसायीहरु ठूलो मारमा परे। सर्वसाधारणको जनजीवनसमेत कष्टकर बन्न पुग्यो। 

०७६ चैत ११ गते नेपालमा सरकारले लकडाउन घोषणा गरेको थियो। यसरी लगाएको लकडाउन ८ महिनासम्म लम्बिदै गएको थियो। उद्योग व्यवसाय प्रायः ठप्प नै भयो । आठ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण कतिपय उद्योग व्यवसायहरु पलायन हुन पुगे भने कतिपय उठ्नै नसक्ने गरि थला परेका छन्।

लकडाउनले ६ महिनासम्म अत्यावश्यक बाहेकका कुनैपनि यातायातसमेत सञ्चालनमा आउन सकेनन्। यसले गर्दा मानिसहरुको दैनिक जनजीवनसमेत कष्टकर बन्दै गएको थियो। 

सरकारले निरन्तर लकडाउन र निषेधाज्ञा मात्रै गरेको तर उद्योगी व्यवसायीहरुलाई कुनै पनि राहतको योजना नल्याएको भन्दै उद्योग व्यवसायीहरुले लकडाउन अवज्ञा गरेका थिए । महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले नेपालमा तीन खर्ब रुपैंयाँको क्षति पुगेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनले जनाएको छ । योजना आयोगको प्रतिवेदन अनुसार थप १२ लाख मानिस गरिबीमा धकेलिएको विवरण उल्लेख छ। 

सरकारले कोरोना महामारीको बेलामा समेत सवा दुई प्रतिशतले अर्थतन्त्रको आकार वृद्धि हुने आंकलन गरेको थियो । तर सरकारले आंकलन गरेजस्तो हुन सकेन । तथ्याङ्क विभागले १.८८ प्रतिशतले अर्थतन्त्र खुम्चिएको तथ्याङ्क देखाएको छ । कोरोनाका कारण पर्यटन, साना तथा मझौला व्यवसाय धेरै प्रभावित भएका थिए । यी दुबै व्यवसाय अहिले पनि माथि उठ्न सकेका छैनन् । करिव १२ लाख आश्रित रहेको पर्यटनक्षेत्र अहिले पनि धरासायीकै अवस्थामा रहको छ ।

नेपालबाट रोजगारीका निम्ति विदेश जाने नेपालीहरूको संख्यासमेत घटिरहेको छ । राष्ट्र बैंकका अनुसार ७५ प्रतिशत विदेश जाने नेपालीहरुको संख्या घटिरहेको छ । 

पछिल्लो केही महिनादेखि उद्योग, व्यापार व्यवसाय विस्तारै पुरानै अवस्थामा फर्किन थालेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन थालेको छ । 
०००००

Logo