उपत्यकामा बल्ल मेलम्चीको पानी: कहाँ, कसरी वितरण गरिँदै?

उपत्यकामा बल्ल मेलम्चीको पानी: कहाँ, कसरी वितरण गरिँदै?


आयोजना सुरु भएको दुई दशकपछि आज (आइतबार)देखि उपत्यकावासीको धारामा मेलम्चीको पानी वितरण गरिँदैछ। 

मेलम्ची खानेपानी विकास समितिले गत फागुन २२ गते शनिबार मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झारेको थियो। सिन्धुपाल्चोकस्थित मेलम्चीको सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने कार्यको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र योजना निर्देशनालयले मेलम्चीको पानी प्रशोधन केन्द्रमा सञ्चित गरेर वितरणको तयारी पूरा गरिसकेको छ। ‘आइतबारदेखि निर्वाध रूपमा मेलम्चीको पानी वितरण गर्न चाहिने सम्पूर्ण काम गरिसकिएको छ,’ समितिका प्रवक्ता राजेन्द्रराज पन्तले भने।

शुक्रबारै नयाँ पाइप सफा गर्नका लागि ‘ट्रिटमेन्ट प्लान्ट’बाट ‘बुल डिस्ट्रिब्युसन प्रणाली (बिडिएस)’ मार्फत् पानी पठाउने कार्यको शुभारम्भ खानेपानी मन्त्री मणि थापाले गरेका थिए। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना विकास निर्देशनालयले योजना बनाएर पानी वितरण गर्ने पन्तको भनाइ छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको १७ करोड लिटर पानी थपिए पनि सबै पानी एकैपटक वितरण नहुने बताएका छन् । उनका अनुसार आयोजना विकास निर्देशनालयले बनाएको खुमलटारको एउटा नयाँ ट्यांकी र बाँकी पुरानै ट्यांकीमा पानी सञ्चित गरेर वितरण गरिनेछ।

खुमलटार नयाँ ट्यांकीबाहेक अन्य महांकाल चौर, बालाजु, बाँसबारी, महाराजगन्ज, पानीपोखरी, अनामनगर, मीनभवनलगायत स्थानका पुरानै ट्यांकीबाट पुरानै पाइप लाइनमार्फत् पानी वितरण हुन्छ। उनले भने, ‘आइतबारै मेलम्चीको १७ करोड लिटर पानी वितरण हुँदैन। यो परीक्षणकाल भएकाले विस्तारै पानी बढाउँदै जान्छौं। पानी वितरण सुरु भएको १५–२० दिनपछि मात्र उपत्यकाबासीले सबै पानी पाउँछन्।’ 

मेलम्चीको १७ करोड लिटर पानी थपिए पनि उपत्यकाबासीको माग सम्बोधन हँुदैन । यसअघि, सातामा एकपटक मात्र पानी वितरण हुँदै आएकोमा अब उपत्यकावासीले दैनिक एकपटक धारमा पानी पाउनेछन्। उपत्यकावासीले अब दैनिक प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्नसक्ने प्रवक्ता राईको भनाइ छ।

अहिले उपत्यकाका प्रत्येक घरमा औसतमा १० जना मानिस बस्ने र उनीहरूले दैनिक ७५ लिटरसम्म पानी प्रयोग गर्ने आँकलन छ। यसअघि सरकारले एक घरमा औसतमा चारजना बस्ने आँकलनका  साथ पानी बाँड्ने योजना बनाएको थियो।

सुन्दरीजल प्रशोधन केन्द्रबाट चारवटा ठूला पोखरीमा पानी सञ्चित गरी उपत्यकाका नयाँ र पुराना गरी ८० हजार धारामा पानी वितरण हुने भएको छ। अहिले काठमाडौं उपत्यकामा ८ करोड लिटर पानी वितरण हुँदै आएको छ। मेलम्चीको १७ करोड लिटर पानी थपिएपछि उपत्यकाबासीलाई दैनिक २५ करोड लिटर पानी बाँड्न सकिने केयुकेएलले जनाएको छ। तर, यो परिमाणले पनि उपत्यकाको सम्पूर्ण माग धान्न नसक्ने केयुकेएलका प्रवक्ता राईले जनाए। 

केयूकेएलका अनुसार उपत्यकामा दैनिक ४५ करोड लिटर पानी माग छ। मेलम्चीको १७ करोड लिटर  पानी वितरण गर्दा पनि अझै उपत्यकामा २० करोड लिटर पानी नपुग हुने देखिन्छ। 

मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता उज्ज्वल प्रजापतिले केयुकेएलसँगको सहकार्यमा मेलम्चीको पानी योजनाबद्ध रुपमा वितरण गरिने बताएका छन् । आइतबारदेखि तीन दिनसम्म ४ करोड, तीन दिनपछि साढे ६ करोड र त्यसपछि साढे ८ करोड लिटर पानी वितरण गर्दै क्रमिक रूपमा १७ करोड लिटर पानी वितरण गर्ने योजना छ।

 मेलम्ची खानेपानीका लागि  बिछ्याएको नयाँ १ हजार १ सय किलोमिटर पाइपबाट पानी बाँड्न भने समय लाग्ने भएको छ। पाइप सफा गरेर बिस्तारै नयाँ पाइपमा मेलम्चीको पानी बाँडिने योजना केयुकेएलको रहेको छ। 

‘लिकेज’ व्यवस्थापनको तयारी

मेलम्ची पानी वितरणका लागि नयाँ पोखरी र पाइपलाइन राख्ने कार्य अहिले पनि उपत्यकाभित्र जारी छ। मेलम्चीको पानी नयाँ बिछ्याइएका पाइप, पोखरी र धारामार्फत् वितरण गर्न भने केही समय लाग्ने भएको छ।

नयाँ पाइपलाइनबाट पानी बाँड्दा केही ढिलाइ हुने भएकाले अहिले सञ्चालनमा रहेका पुरानै पाइप र धारामार्फत् मेलम्चीको पानी वितरण गरिने भएको छ। पुरानो पाइपबाट पानी बाँड्दा ‘लिकेज’ समस्या देखिनसक्ने भन्दै त्यसका लागि आवश्यक सामग्रीसहित दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको केयुकेएलले जानकारी दिएको छ। 

चुहावट तथा ढलको समस्या निराकरणका लागि सबै वितरण शाखामा ‘¥यापिड रेसपोन्स टिम तथा मेलम्चीको पानी वितरण गर्दा कहाँ के–कस्तो समस्या आयो भनेर हर्ने अर्को टिमसमेत बनाइएको छ। त्यसबाहेक गाडी तथा अन्य समस्या समाधानका लागि चाहिने सबै सामग्रीको समेत चाँजोपाजो मिलाइएको छ। 

चक्रपथबाहिर वितरण कहिले? 

पहिलो चरणमा पुरानै पाइपलाइन तथा धाराबाट चक्रपथभित्रका धारामा पानी वितरण गर्ने योजना छ । त्यसपछि चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण गर्ने योजना रहेको केयुकेएलका प्रवक्ता राईको भनाइ छ। 

मेलम्ची कति लाग्यो लागत ? 

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता  पन्तका अनुसार मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम सकेर १७ करोड लिटर पानी उपत्यकाका घरघरमा बाँड्दासम्म करिब ३१ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ। सुन्दरीजलमा पानी खसाल्दासम्म करिव ३० अर्ब रुपैयाँ खर्च भइसकेको छ।

आयोजनाको सुरुआती लागत ४ सय ६४ मिलियन अमेरिकी डलर  अनुमान गरिएको थियो। तर, आयोजनाको लामो ठेक्का प्रक्रिया, जग्गाको मुआब्जा वितरणलगायत कारणले लागत बढेपछि सुरुआती लागतमा संशोधन गरिएको थियो। 

यस्तो छ मेलम्चीको कहानी 

मेलम्ची खानेपानी आयोजनामार्फत् उपत्यकामा पानी ल्याउने योजना सुरु भएको तीन दशक अर्थात् ३० वर्ष बितिसक्यो। ३० वर्षपछि बल्ल काठमाडौंका धारामा मेलम्चीको पानी आउने साइत जुरेको छ। 

 २०५१ को उपचुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावीसभामा काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिने भाषण गरेका थिए, जुन अद्यापि स्मरण गरिन्छ।

सन् १९७२ मा विश्व बैंकको सहयोगमा काठमाडौं उपत्यकाको खानेपानीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न एउटा गुरुयोजना तयार पारिएको थियो। नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायका अनुसार गुरुयोजनाअन्तर्गत उपत्यकामा खानेपानी ल्याउनका लागि धेरै ठाउँमा अध्ययन भएको थियो। सन् १९८८ मा ‘बिन्नी एन्ड पार्टनर्स’ नामक बेलायती अन्तर्राष्ट्रिय संस्थाले उपत्यकाभित्र र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीका स्रोतबारे अध्ययन गरेको थियो। उपत्यकाका लागि मेलम्ची नदीलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतका रूपमा अध्ययनले पहिचान गरेको थियो।

त्यसबेला उपत्यकाभित्रका पानीका स्रोतका साथै मेलम्ची, लामटाङ, इन्द्रावती, त्रिशूली, कुलेखानी, रोशी र कुलेखानीको अध्ययन गरिएको थियो। तीन दशकपहिले नै अन्तर्राष्ट्रिय दातृनिकायले विस्तृत अध्ययन र अनुसन्धान गरी मेलम्चीलाई उत्कृष्ट स्रोत ठहर गरेको उपाध्यायको भनाइ छ।

२०५२ सालमा मेलम्ची खानेपानी आयोजनाका लागि लगानीकर्ता जुटाएर यसको कार्यान्वयन गर्न नेपाल सरकारले मेलम्ची खानेपानी लिमिटेडको स्थापना गरेको थियो। 

उपत्यकाको खानेपानी समस्या न्यूनीकरणलाई लागि विशेष महत्व दिई एसियाली बिकास बैंक, जापानी सरकार, नर्वेजियन सरकारजस्ता प्रमुख दाताले मेलम्ची खानेपानी आयोजनामा लगानी गर्ने इच्छा देखाएपछि नेपाल सरकारले आर्थिक वर्ष  २०५५/५६ मा आवास तथा भौतिक योजना मन्त्रालयअन्तर्गत मेलम्ची खानेपानी विकास समितिको गठन गरेको थियो।

त्यसपछि मेलम्ची आयोजना २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्यसहित २०५८/५९ मा यसलाई अगाडि बढाइएको थियो। आयोजनाका लागि आर्थिक स्रोत जुटाउन निकै समय लाग्यो। २७ किलोमिटर सुरुङमार्ग बनाउनका लागि खरिद प्रक्रिया अगाडि बढाउन १० वर्ष ढिलाइ भएको थियो।

२०६६ सालमा चिनियाँ कम्पनी चाइना रेल्वे १५ ब्युरो कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएको थियो । तर, उक्त कम्पनीले सुरुङ निर्माण सुरु गरेको तीन वर्षमा ६ किलोमिटर मात्र काम गरेकाले सरकारले ठेक्का तोडेको थियो।  त्यसपछि पुनः नयाँ ठेक्का प्रक्रियामा जान कम्तीमा एक वर्ष लाग्यो। २०७१ सालमा इटालियन निर्माण व्यवसायी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्स्ट्रि (सीएमसी)ले ठेक्का पाएपछि सुरुङमार्ग निर्माण अघि बढेको थियो। 

नयाँ कम्पनीले काम सुरु गरेलगत्तै २०७२ साल वैशाख १२ गते विनासकारी भूकम्प गएपछि निर्माण कार्यमा बाधा पुग्यो। त्यसपछि आर्थिक संकटमा परेको भन्दै कम्पनी भागेपछि सरकारले ठेक्का रद्द गर्यो। त्यसछि फेरि ठेक्का प्रक्रियामा केही समय लागेको थियो। 

सरकारले चीनको सिनो हाइड्रो कर्पोरेसनसँग २०७६ साल असोजमा ठेक्का सम्झौता गरेपछि काम अघि बढ्यो। एक वर्षभित्र सुरुङमार्ग तथा हेडवक्सको काम सिध्याउने गरी सम्झौता भए पनि कोरोना महामारीले काम प्रभावित भएको थियो। 

Logo