सधैँ ग्राफ उक्लिएको डेपुटी गभर्नर ‘ढुंगाना’को बैंकिङ करिअर

सधैँ ग्राफ उक्लिएको डेपुटी गभर्नर ‘ढुंगाना’को बैंकिङ करिअर


केही दिनअघि नेपाल राष्ट्र बैंक पुग्दा नवनियुक्त पहिलो महिला डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना अत्यन्तै व्यस्त थिइन्। डेपुटी गर्भनर नियुक्त भएको दुई साता बिते पनि उनको कार्यकक्ष बाहिर बधाई दिन आउने आगन्तुक पर्खाइमा थिए।

केही व्यक्ति अफिसियल कामका लागि पालो कुरेर बसिरहेका थिए। म पनि अन्तर्वार्ताका लागि समय लिएर त्यहाँ पुगेको थिए। केहीबेर पर्खनुपर्ने भयो।

‘तपाईं मिडियाबाट आउनुभएको रहेछ, पक्कै म्याडमसँग समय लिनुभएकै होला। बधाईंका लागि मात्र कि अन्तर्वार्ता पनि लिन आउनु भएको?’ बाहिरी कक्षमा रहेका कर्मचारीले सोधे। 

‘उहाँसँग समय लिएर म बधाई दिन र अन्तर्वार्ता दुवैका लागि आएको।’
‘अहिले म्याडम व्यस्त हुनुहुन्छ। साढे १२ बजे गभर्नर सा’वसँग मिटिङ छ,’ चाँडै गइहाल्नुस् भनी उनले मलाई भित्र पठाए। 

डेपुटी गर्भनर ढुंगाना अत्यन्तै हतारमा थिइन्। भेटघाट, दैनिक काम र मिटिङ मिलाउन हम्मे थियो उनलाई।

गत फागुन २५ गते सरकारले ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट उनले कार्यभार सम्हालेकी थिइन्। 

‘कार्यभार सम्हालेको दुई साता हुन लाग्यो, शुभेच्छुकहरू बधाई दिन आइरहनु भएको छ,’ खुसी प्रकट गर्दै उनले भनिन्।   

अन्तर्वार्ताका लागि समय लिएर आएको स्मरण गराए मैले। 

‘मैले सम्झिरहेकी छु, साढे १२ बजे गभर्नरसँग मिटिङ छ, छोटो कुराकानी गर्न मात्र भ्याउँछु।’ घडी हेरेँ–त्यसबेला १२ बजिसकेको थियो।

‘नेपालका पहिलो महिला डेपुटी गर्भनर नियुक्त हुनुभएको छ, यो पदमा पुग्छु भनी पहिल्यै सोच्नुभएको थियो?’ कुराकानीको पेटारो खोलेँ।

वास्तवमा बैंकिङ करिअर सुरु गर्दा उनलाई यति उच्च पदमा पुग्छु भन्ने लागेकै रहेनछ। तथापि, आफ्नो मेहनत र आत्मविश्वासले अहिलेको ठाउँमा पुगेको उनले स्पष्ट पारिन्। उनले राष्ट्र बैंकमै सेवा सुरु गरेको २३ वर्ष बितिसकेको छ।

‘राष्ट्र बैंकमा मैले सँगालेको अनुभवका आधारमा सरकारले डेपुटी गभर्नर नियुक्त गरेको छ, त्यसमा मलाई खुसी लागेको छ,’ उनले प्रतिक्रिया दिइन्। 

घरधन्दा र मेलापात गर्दै स्कुले शिक्षा

ढुंगानाको जन्म झापाको गौरादहमा भएको हो। त्यसबेला स्कुल जानुअघि नै विद्यार्थीले घरायसी काम सिध्याउनुपथ्र्यो। उनले त्यही कर्म गरेर स्कुले जीवन बिताइन्। ‘घरधन्दा र मेलापात सिध्याएर स्कुल जानुपथ्र्यो, त्यसबेला मेहनत गर्नुपर्छ भन्ने सोच चाहिँ भित्रबाटै आउँथ्यो,’ उनले भनिन्।

उनका बुबा माध्यमिक विद्यालय निरीक्षक र आमा शिक्षिका। ‘बुबाआमाले राम्रो पढ्नुपर्छ, सरकारी जागिर खानुपर्छ भन्ने प्रेरणा दिनुभएको थियो। यो मेरा लागि वरदान सावित भयो,’ उनी सम्झिन्छन्। बुबाले आफ्नो करिअर बनाउनका लागि दिएको उत्प्रेरणालाई उनी बारम्बार स्मरण गर्छिन्। 

उनले प्राथमिक तहको अध्ययन विभिन्न सरकारी विद्यालयबाट पूरा गरिन्। झापा, दमकस्थित हिमालय माविबाट उनले २०४१ सालमा एसएलसी उत्तीर्ण गरिन्। त्यतिखेर एक घन्टाभन्दा बढी समय हिँडेर स्कुल जानुपथ्र्यो। ‘अंग्रेजी एकदमै गाह्रो विषय भन्ने धारणा थियो, यो विषय भन्नेबित्तिकै एकदमै डर लागेर आउँथ्यो,’ उनी भन्छिन्। 

उच्चशिक्षालाई निरन्तरता

नीलमले दमक क्याम्पसबाट आइकम उत्तीर्ण गरिन्। त्यसपछि स्नातक अध्ययनका लागि उनी महेन्द्र मोरङ क्याम्पस विराटनगर भर्ना भइन्। स्नातक तह प्रथम वर्ष अध्ययन गर्दागर्दै विराटनगरमै उनको विवाह भयो। विवाहपछि पनि उनले पढाइ रोकिनन्। 

उनले महेन्द्र मोरङ क्याम्पसबाटै  एमबिए उत्तीर्ण गरिन् । त्यसपछि महेन्द्र मोरङ क्याम्पसमै एमबिएका विद्यार्थीलाई अर्थशास्त्र पढाउन थालिन्। उनका श्रीमान् पनि महेन्द्र मोरङ क्याम्पसमै अर्थशास्त्र पढाउने गर्थे।

वास्तवमा बैंकिङ करिअर सुरु गर्दा उनलाई यति उच्च पदमा पुग्छु भन्ने लागेकै रहेनछ। तथापि, आफ्नो मेहनत र आत्मविश्वासले अहिलेको ठाउँमा पुगेको उनले स्पष्ट पारिन्। उनले राष्ट्र बैंकमै सेवा सुरु गरेको २३ वर्ष बितिसकेको छ।

राष्ट्र बैंकमा ‘इन्ट्री प्वाइन्ट’

 कलेजका विद्यार्थीले राष्ट्र  बैंकमा जागिर खुलेको छ भन्ने सूचना ल्याए। ‘हजुरजस्तो योग्य मान्छेले राष्ट्र बैंकमा आवेदन दिनुपर्छ, नाम निकाल्न गाह्रो पर्दैन,’ विद्यार्थीले निक्कै ढिपी गरे। विद्यार्थीकै सल्लाहबमोजिम राष्ट्र बैंकमा जागिरका लागि आवेदन दिएको उनको भनाइ छ। 

२०५४ सालमा उनले एकैपटकमा राष्ट्र बैंकको सहायक निर्देशकमा नाम निकालिन्। उनले राष्ट्र बैंकमा विदेशी विनिमय विभागमा काम सुरु गरिन्। त्यहाँ करिव एक वर्ष काम गरेपछि उनी विराटनगर सरुवा भइन्। 

उकालो लाग्दै बैंकिङ करिअर

विराटनगरबाट सरुवा भएर काठमाडौं आउँदा उनको बैंकिङ करिअरको ग्राफ उकालो लागिरहेको थियो। केही वर्षपछि उपनिर्देशकमा बढुवाका लागि आवेदन खुल्यो।  एकैचोटी नाम निकालेर उनी उपनिर्देशक बनिन्।

उपनिर्देशक भएर चार वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा काम गरेपछि २०६६ सालमा उनी निर्देशकमा बढुवा भइन्। त्यसपछि उनले अनुसन्धान र सुपरिवेक्षण विभागमा कामलाई निरन्तरता दिइन्।

 राष्ट्र बैंकमा सेवा सुरु गरेको दुई दशकपछि २०७४ सालमा उनी कामु कार्यकारी निर्देशक भएर आन्तरिक लेखा परीक्षण र राष्ट्र ऋण व्यवस्थापन विभागमा अनुभव सँगालिन्।

खुसीसँगै थपिएको दायित्व 

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर नियुक्त गरेकोमा उनले खुसी प्रकट गरेकी छन्। यसका साथै आफ्नो काँधमा जिम्मेवारी पनि थपिएको उनले महसुस गरेकी छन्। ‘कसैको दबाब र प्रभावमा नपरी डेपुटी गभर्नरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु,’ उनले भनिन्।

वित्तीय स्थायित्व, स्वच्छ र सक्षम बैंकिङ प्रणाली विकास, वित्तीय पहुँच वृद्घि र वित्तीय साक्षरता विकासमा ध्यान दिने उनको भनाइ छ। ‘देशको अर्थतन्त्रलाई चलायमान बनाउन अहम् भूमिका खेल्नेछ,’ उनले प्रतिबद्घता जनाइन्। वित्तीय व्यवस्थापनमा सुशासन कायम गर्नु आफ्नो प्राथमिकता रहेको उनको धारणा छ।
 
सपना गभर्नरको

डेपुटी गभर्नरबाट अबको खुड्किलो गभर्नर नै हो। डेपुटी गभर्नरहरू गभर्नरका लागि आकांक्षी हुनु अस्वाभाविक पनि होइन। हामीकहाँ सरकारले गभर्नर नियुक्ति गर्दा समसामयिक राजनीतिक घटनाक्रमको प्रभाव देखिने गरेको छ।

बैँकिङ करिअरमा आफूलाई ‘अब्बल’ सावित गरेकी नीलमको गभर्नर हुने सम्भावना प्रबल रहन सक्छ। तर, उनी त्यतातर्फ ध्यान नदिएको र अहिलेको जिम्मेवारी सफलतासाथ कसरी पूरा गर्ने भन्ने आफ्नो ध्याउन्न रहेको बताउँछिन्। 

गर्भनरका लागि अहिले नै सोच्ने बेला नआएको उनको विचार छ। ‘हतार गरेर हुँदैन, विस्तारै खुड्किला चढ्नुपर्छ। काम गर्दै जाँदा गर्भनरका लागि आधारशिला बन्न सक्छ।’

Logo