नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय आफ्नो क्षेत्रमा लगानी भित्र्याउन स्थानीय सरकारबीच देखिएको प्रतिस्पर्धा सकारात्मक भएको बताएका छन् । उनले स्थानीय तथा प्रदेश सरकारबीचको यस्तो प्रतिस्पर्धालाई निजी क्षेत्रले सकारात्मक र सुखद् संकेतको रुपमा लिएको बताए ।
कैलाली उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभालाई शनिबार धनगढीमा सम्बोधन गर्दै महासंघ वरिष्ठ उपाध्यक्ष ढकालले आफू विभिन्न जिल्लाका कार्यक्रममा जाँदा लगानीका लागि प्रदेश र स्थानीय सरकारबाटै आह्वान भइरहेको जानकारी दिए ।
‘म हिजोमात्र वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा गएको थिएँ, त्यहाँ प्रदेश सरकार र वीरगञ्ज उपमहानगरपालिकाले लगानीका लागि आग्रह गर्नुभयो, यस्तै आग्रह मुलुकका धेरै स्थानबाट आइरहेको छ’, वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘यस्ता आग्रह र प्रस्तावलाई हामी निजी क्षेत्रले सकारात्मक रुपमा लिएका छौं ।’
ढकालले निजी क्षेत्रको नेतृत्व स्थानीय सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशभित्र कृषि, पर्यटन, उत्पादनमूलक तथा जडिबुटी प्रशोधन लगायतका क्षेत्रमा सम्भावनाका क्षेत्रमा आफूहरुले सहकार्य गर्न चाहेको जिकिर गरेका छन् ।
प्रकाशित: २१ चैत २०७७ १८:०९ शनिबार