मेलम्ची आयोजनाको फरक कथा : सुरु भएको ३० वर्ष, जस क-कसलाई? (भिडियोसहित)

मेलम्ची आयोजनाको फरक कथा : सुरु भएको ३० वर्ष, जस क-कसलाई? (भिडियोसहित)


नेपालको बहुप्रतिक्षित र महत्वाकांक्षी मेलम्ची खानेपानी आयोजना सम्भाव्यता अध्ययन सुरु भएको तीन दशकपछि पूर्ण भएको छ। काठमाडौं उपत्यकावासीले आयोजनाको सम्भाव्यता सुरु भएको तीन दशकपछि गत चैत १५ गते आइतबारबाट मेलम्चीको पानी घर–घरका धारामा झर्न सुरु भएको छ । 

मेलम्ची खानेपानी विकास समितिले गत फागुन २२ गते शनिबार मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल प्रशोधन केन्द्रमा झार्न सफल भएको थियो। 

सिन्धुपाल्चोकस्थित मेलम्चीको सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने कार्यको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। 

चैत १५ गतेदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना निर्देशनालयले पुरानै पाइपलाइनमार्फत उपत्यकाका तीन वटा ट्याङकीबाट काठमाडौंवासीमाझ मेलम्चीको पानी वितरण भइरहेको छ। तर मेलम्चीको पानी वितरण औपचारिकरुपमा भने शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित ढुङगेधाराको टुटी खोलेर उद्घाटन गरिन्। 

२०५१ को उपचुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावीसभामा काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिने भाषण गरेका थिए। उनको त्यो भाषणपछि मेलम्चीको चर्चा चुलिएको थियो।

तर, सन् १९७२ मा विश्व बैंकको सहयोगमा काठमाडौं उपत्यकाको खानेपानीलाई दीर्घकालीनरूपमा व्यवस्थापन गर्न एउटा गुरुयोजना तयार पारिएको थियो। सन् १९८८ मा ‘बिन्नी एन्ड पार्टनर्स’ नामक बेलायती अन्तर्राष्ट्रिय संस्थाले उपत्यकाभित्र र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीका स्रोतबारे अध्ययन गरेको थियो। उपत्यकाका लागि मेलम्ची नदीलाई नै सबैभन्दा उत्तम सम्भाव्य स्रोतका रूपमा अध्ययनले पहिचान गरि काम अघि बढाउन सुझाव दिएको थियो ।

कृष्णप्रसाद भट्टराई, विद्या भण्डारी र मेलम्चीको तीन संयोग 

तत्कालिन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा परि निधन भएपछि २०५१ सालमा काठमाडौं क्षेत्र १ मा उपनिर्वाचन भएको थियो। उक्त उपनिर्वाचनमा भट्टराई नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका थिए । त्यही बेला भट्टराईले चुनावी सभामा काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने तथा सडक पखाल्ने उद्घोष गरेका थिए।

त्यस्तै,तत्कालिन एमालेबाट उपनिर्वाचनको उम्मेद्वार विद्या भण्डारी बनाइएकी थिइन्। त्यो उपनिर्वाचनमा मदनकी धर्मपत्नी विद्या भण्डारीबाट भट्टराई पराजित भए। भण्डरीको निधन भएको एक वर्ष पुरा भएको थिएन। त्यो निर्वाचनमा भट्टराई र विद्याबीचको निर्वाचनमा ठूलै घोचपेच नै चलेको थियो। 

भट्टराईले विद्यालाई सेतो सारी लगाउँदैमा चुनाव जितिदैँन भनेपछि विद्याले चावहिलमा आयोजित चुनावी सभामा बोल्दै ‘यो सेतो सारी तिम्रो राजनीतिमा कात्रो सावित हुनेछ’ भन्दै जवाफ दिएकी थिइन्। 

अहिले भट्टराईको निधन भएको १० वर्ष वितिसकेको छ । तर शुक्रबार (चैत २०) भृकृटीमण्डपमा कृष्णप्रसाद भट्टराईले देखेको मेलम्ची सपना भट्टराईलाई पराजित गर्ने विद्या भण्डारीले राष्ट्रपतिको हैसियतमा पानी वितरणको उद्घाटन गरिन्। 

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले देशको राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथमचरणको निर्माण कार्य सम्पन्न भएर घरघरमा पानी वितरणको शुभारम्भ भएकोमा खुशी व्यक्त गरिन् । उनले मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्ने सर्वजनिक प्रतिबद्धता जाहेर गरेपछि मेलम्ची आयोजनाले थप महत्व र प्रचार पाएको समेत बताइन्। यसरी किसुनजी, राष्ट्रपति भण्डारी र मेलम्चीबीच तीन संयोग मिल्न पुगेको देखिन्छ। 

अहिले मेलम्ची आयोजनाको पहिलो चरणको काम सम्पन्न भएर काठमाडौंमा पानी वितरण भइरहेको छ। पानी वितरणपछि यसको जस कसले लिने भन्ने होडबाजी नै चल्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची आफ्नो पालामा ल्याउन सफल भएको भन्नेमा मख्ख छन्। यसको प्रचारमा उनले कुनै कसर बाँकि राखेका छैनन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मेलम्ची खानेपानी आयोजनाका अवधारणाकार कृष्णप्रसाद भट्टराईको नाम नलिएको भन्दै सरकारसँग गुनासो पोख्दै आएको छ।

प्रतिनिधिसभा बैठकदेखि लिएर शुक्रबार मेलम्चीको पानी वितरण हुँदासम्म पनि प्रधानमन्त्रीसहित सरकारी अधिकारीले भट्टराईलाई नसम्झिएको भन्दै आपत्ति जनाएको छ। यसको बदलामा कांग्रेसले किसुनजीको फोटोसहितको ब्यानर चोक चोकमा टाँगेर तथा भिडियो नै बनाएर जस लिन हरप्रयास गरिरहेको छ।

यसरी भयो निर्माण सुरु

राजतन्त्र भएकै बेलामा मेलम्ची आयोजना निर्माण कार्य सुरु भएको थियो। निर्माण सुरु भएको २० वर्षमा मुलुकमा १९ प्रधानमन्त्री, २५ खानेपानीमन्त्री र २९ जना आयोजना प्रमुख फेरिए तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालमा यो निर्माण सम्पन्न भएको छ। वि.स.२०५६ सालमा निर्माण सुरु भएको २२ वर्षपछि काठमाडौंबासीले बल्ल मेलम्चीको पानी खान पाएका छन्। 

२७ किलोमिटर लामो सुरुङ निर्माण गरी खानेपानी ल्याउनु नेपाल जस्तो गरिब र प्रविधि नभएको मुलुकका लागि कम चुनौतीको विषय थिएन। तर, निर्माण सम्पन्न गरेर ढिलै भएपनि पानी वितरण गर्न सरकार सफल भएको छ।

सात वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजना विविध समस्या र चुनौती  देखाउँदै २२ वर्षसम्म लम्बियो। यद्यपि, केपी ओली सरकारले हाल आएर आयोजना पूरा गरेको छ। काकाकुल काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न सफल भएको छ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि निर्माण कार्यमा तीव्रता

एमाले–माओवादी गठबन्धनले २०७४ को निर्वाचनमा करिब दुईतिहाई मत ल्याएको थियो। निर्वाचनपछि वि.स.२०७५ जेठ ३ गते पार्टीं एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो। 

नेकपाबाटै ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि मेलम्ची आयोजनाले तिव्रता पायो। यो सरकारले पनि मेलम्ची छिट्टै सम्पन्न गरि काठमाडौंमा पानी खसाउने मिति थुप्रैपटक तय ग¥यो। तर, त्यो पूरा हुन सकेन।

ओली क्याबिनेटमा खानेपानी मन्त्री बनेकी बीना मगरले यस आयोजनालाई पूर्ण गर्न उल्लेख्य भूमिका खेल्दै आएको बताइरहिन् । तर, उनी आयोजना सफल नभइ सरकारबाट बाहिरिइन्। यही अवस्थामा प्रधानमन्त्री ओलीले बीना मगर सरकारबाट बिदा नभएकी भए काठमाडौंमा अहिले नै पानी आउनै नसक्ने तर्क गरिरहेका छन् ।
 
गत पुस ५ गते, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि  बीनाले मन्त्रीबाट राजीनामा दिएकी थिइन् । त्यसपछि माओवादी केन्द्र छोडेर एमालेमा आएका मणि थापा ओली सरकारमा खानेपानी मन्त्री बने। संयोगवस उनी मेलम्ची आयोजना पूर्ण हुनै लाग्दा मन्त्री बने। यो प्रसंग प्रधानमन्त्री ओली स्वयंले पनि खुलाइ दिए। सुन्दरीजलमा मेलम्चीको पानी झार्ने कायक्रममा ओलीले थापालाई भाग्यमानी मन्त्री भनेर सम्बोधन गर्न भ्याएका थिए।.

मेलम्चीको २७ किलोमिटर सुरुङमार्गबाट हाल दैनिक १७ करोड लिटर पानी आउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार(चैत २० गते) भृकुटीमण्डपमा औपचारिक रुपमा मेलम्चीको पानी उद्घाटन कार्यक्रममा बोल्दै आगामी ३ वर्षभित्र काठमाडौंमा थप ३४ करोड लिटर पानी ल्याउने दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले अब छिट्टै याङग्री र लार्केको पानी पनि मेलम्चीमै मिसाएर काठमाडौं ल्याइने बताए । उनले २०८१ सालसम्म ती नदीबाट पानी ल्याएर काठमाडौं उपत्यकाको खानेपानीको मागलाई पुरा गराइने बताए। जुन यांग्री तथा लार्के नदीबाट प्रतिदिन ३४ करोड लिटर थप पानी काठमाडौं ल्याउन करिब ९.५ किलोमिटर लामो यांग्री सुरुङ तथा हेडवक्स र २ किलोमिटर लामो लार्के सुरुङ निर्माण गर्नुपर्ने हुन्छ।

आयोजनाको कथा…

काठमाडौं उपत्यकामा दीर्घकालीन रुपमा खानेपानी आपूर्ति गर्न विश्व बैंकको सहयोगमा वि.सं. २०२९ सालदेखि नै यसको सम्भाव्यता अध्ययन सुरु भएको थियो। 

वि.सं. २०४१ मा बीनी एण्ड पार्टनर्सले अध्ययन पूरा गरी २२ वटा विकल्प प्रस्तुत गरेको थियो। परामर्शदाता कम्पनी एसएमइसीले गरेको उक्त अध्ययनमा अघिल्ला २२ विकल्पमध्ये मेलम्ची, यांग्री र लार्केबाट दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ति हुनसक्ने विकल्प प्रस्तुत गरिएको थियो। त्यसपछि वि.सं.२०५५/०५६ मा एडीबीको इन्जिनियरिङ ऋण सहायता र नर्वे सरकारको सहयोगमा आयोजनाको विस्तृत सम्भाव्यता र डिजाइन कार्य सुरु भएको थियो। मेलम्ची आयोजनामा एडीबीसँग २०५८ सालमा ऋण लगानी गर्ने सम्झौता भएको पुर्वसचिव भिम उपाध्यायले बताए।

उनका अनुसार मेलम्ची आयोजनालाई अगाडि बढाउनुपर्छ भन्ने विषयमा पहिलेदेखि नै छलफल हुँदै आए पनि दाताहरुसँग कुरा नमिल्दा, दाता छनोट भएपछि विभिन्न मुआब्जा वितरण तथा भौगोलिक बनावटका कारण आयोजना अघि बढ्न ढिलाइ भएको थियो। 

डिजाइन सम्पन्न भएसँगै २०६६ सालमा २७ किलोमिटर सुरुङ निर्माण गर्ने कार्य सुरु भएको उपाध्याय बताउँछन्। नेपालको निजामति प्रशासन र राजनीतिक बातावरण खराव भएता पनि सुरुङ निर्माण गर्ने सुरुवात गरेको हिसावले चाडै निर्माण सम्पन्न भएको उनको बझाई छ। 

त्यसबेला उपत्यकाभित्रका पानीका स्रोतका साथै मेलम्ची, लामटाङ, इन्द्रावती, त्रिशूली, रोशी र कुलेखानीको अध्ययन गरिएको थियो। तीन दशकपहिले नै अन्तर्राष्ट्रिय दातृनिकायले विस्तृत अध्ययन र अनुसन्धान गरी मेलम्चीलाई उत्कृष्ट स्रोत ठहर गरेको थियो। 

२०५२ सालमा मेलम्ची खानेपानी आयोजनाका लागि लगानीकर्ता जुटाएर यसको कार्यान्वयन गर्न सरकारले मेलम्ची खानेपानी लिमिटेडको स्थापना गरेको थियो। 

उपत्यकाको खानेपानी समस्या न्यूनीकरणका लागि विशेष महत्व दिई एसियाली बिकास बैंक, जापान सरकार, नर्वे सरकारजस्ता प्रमुख दाताले मेलम्ची खानेपानी आयोजनामा लगानी गर्ने इच्छा देखाएपछि नेपाल सरकारले आर्थिक वर्ष  २०५५/५६ मा आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत मेलम्ची खानेपानी विकास समितिको गठन गरेको थियो।

त्यसपछि मेलम्ची आयोजना २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्यसहित २०५८/५९ मा यसलाई अगाडि बढाइएको थियो। आयोजनाका लागि आर्थिक स्रोत जुटाउन निकै समय लाग्यो। २७ किलोमिटर सुरुङमार्ग बनाउनका लागि खरिद प्रक्रिया अगाडि बढाउन १० वर्ष ढिलाई भएको थियो।

२०६६ सालमा चिनियाँ कम्पनी चाइना रेल्वे १५ ब्युरो कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएको थियो। तर, उक्त कम्पनीले सुरुङ निर्माण सुरु गरेको तीन वर्षमा ६ किलोमिटर मात्र काम गरेकाले सरकारले ठेक्का तोडेको थियो।  त्यसपछि पुनः नयाँ ठेक्का प्रक्रियामा जान कम्तीमा एक वर्ष लागेको थियो। २०७१ सालमा इटालियन निर्माण व्यवसायी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्स्ट्रि (सीएमसी)ले ठेक्का पाएपछि सुरुङमार्ग निर्माण अघि बढेको थियो। 

नयाँ कम्पनीले काम सुरु गरेलगत्तै २०७२ साल वैशाख १२ गते विनासकारी भूकम्प गएपछि निर्माण कार्यमा बाधा पुग्यो। त्यसपछि आर्थिक संकटमा परेको भन्दै कम्पनी भागेपछि सरकारले ठेक्का रद्द गरिदिएको थियो । त्यसछि पुनः ठेक्का प्रक्रियामा केही समय लागेको थियो। 

सरकारले चीनको सिनो हाइड्रो कर्पोरेसनसँग २०७६ साल असोजमा ठेक्का सम्झौता गरेपछि काम अघि बढ्यो। एक वर्षभित्र सुरुङमार्ग तथा हेडवक्र्सको काम सिध्याउने गरि सम्झौता भए पनि कोरोना महामारीले काम प्रभावित भएको थियो। यस्तै गत असार ३० गते परीक्षणका लागि मेलम्चीको पानी सुरुङमार्गमा पठाइएको थियो। तर, आयोजनाको परीक्षणको साता दिन नपुग्दै हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटको मुख्य गेट अर्थात् गेट नम्बर १७ फुटेर मानवीय क्षतीसमेत पुगेपछि परीक्षण नै प्रभावित भएको थियो।

Skip This
Logo