1
1

नेपाल र कतारबीच पर्यटन प्रर्वद्धनका लागि सहकार्य हुने

1
1
1

नेपाल र कतारबीच पर्यटन प्रर्वद्धनका लागि सहकार्य हुने भएको छ। नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्न सकिने पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको छ । 

बोर्डको निमन्त्रणमा आएका कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए । 

“नेपाल विश्वकै सुन्दर देश मध्ये एक हो । म आफैं पनि नेपालका धेरै ठाउँ पुगेको छु । यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु । तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसहरूले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन्। यसमा ध्यान दिन सके राम्रो होला ।” राजदूतले भने । उनले नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधैं तयार रहेको बताए । 

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतारसहित मध्यपूर्वमा पर्यटन  प्रर्वद्धनका नयाँ योजना अगाडि सारेको बताए । उनले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकता अनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताए । 

“नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ । खासगरी कतारी पर्यटकका लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ ।” उनले नेपाल र कतारबीच सिधा हवाई सम्पर्कसमेत रहेकाले पर्यटक आवागमनमा खासै समस्या नहुने बताउँदै त्यसका लागि बोर्डले थप पहल गर्ने बताए।

प्रकाशित: २४ चैत २०७७ १३:३६ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी