धुम्बाराही तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

धुम्बाराही तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु


नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल विक्रीकेन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । 

अब धुम्बाराही तरकारी तथा फलफूल केन्दमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । 

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बराही तरकारी तथा फलफूल केन्द्रका कार्यकारी सदस्यहरु एवं विक्रीकेन्द्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि एउटा तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए । 

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । 

अहिले बैंकको साथमा देशभर ३ हजार भन्दा बढी क्यूआर सेवादिने व्यवसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन्।

Logo