मूल्यवृद्धिले महँगीदै भान्सा, खानेतेलको मूल्य एकहप्तामै प्रतिलिटर २५ रुपैयाँले बढ्यो

मूल्यवृद्धिले महँगीदै भान्सा, खानेतेलको मूल्य एकहप्तामै प्रतिलिटर २५ रुपैयाँले बढ्यो


पछिल्लो समय बजारमा दिनप्रतिदिन खाद्यान्नदेखि दैनिक उपभोग्य बस्तुहरुमा महँगी बढ्दै जाँदा नेपालीहरुको भान्सा पनि महँगीदै गएको छ। केही दिन अघिदेखि बजारमा खानेतेलको मूल्य एक्कासी वृद्धि भएको छ। 

खानेतेलको मूल्य गत कात्तिक महिनादेखि निरन्तररुपमा बढीरहेको छ । अहिले कच्चा पदार्थ आयात, उत्पादन र आपूर्तिमा कुनै पनि असहजता छैन । तर, कच्चा पदार्थ आयात गर्न सहज परिस्थिती हुँदासमेत खानेतेल मूल्यवृद्धि हुँदा उपभोक्तालाई मर्का परेको छ।

पुनः अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्दै बजारमा खानेतेल लिटरमा १५ देखि २५ रुपैयाँले बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । बजारमा सूर्यमुखी र भटमासको तेल प्रतिलिटर २५ रुपैयाँ बढेको छ । व्यवसायीहरुका अनुसार लागत मूल्य बढी लागेको भन्दै तेल उत्पादकहरुले सूर्यमुखी, भटमास र तोरीको तेलमा मूल्य बढाएको बताएका छन्।  

दुई साता अघि सूर्यमुखी तेल प्रतिलिटर २१० रुपैयाँ थियो । तर, दुई सातापछि बजारमा प्रतिलिटर २३५ रुपैयाँ पुगेको छ । उत्पादक ब्रान्ड अनुसार कतिपयको मूल्य २५० रुपैयाँसम्म पुर्याइएको छ । त्यस्तै, भटमासको तेल २०५ रुपैयाँबाट बढेर २२५ रुपैयाँ पुगेको छ। 

अहिले बजारमा सबैभन्दा महंगो तोरीको धारा तेल प्रतिलिटर २६० रुपैयाँबाट ३१० रुपैयाँसम्म पर्न थालेको छ। बजारमा तीन महिनायता खानेतेलको मूल्य उकालो लाग्ने क्रम जारी छ।

बजारमा तेलको मूल्यवृद्धि ब्रान्ड अनुसार फरक फरकरुपले बढेर आएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनले भने,‘बजारमा खानेतेलको मात्रै मूल्यवृद्धि भएको छ, अन्य वस्तुको मूल्यवृद्धि भएको छैन । तर खानेतेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै बढेर आएकाले नेपालमा पनि बढ्यो भन्छन्।’

बजारमा उत्पादकहरुले नै बढाएर पठाएको तेल मूल्य बढेको होलसेलरहरु बताउँछन् । नेपालमा पनि बाहिरबाट कच्चा पदार्थ ल्याएर तेल उत्पादन गर्ने हो। तर यसरी एक महिनाको फरकमा यतिधेरै मूल्यवृद्धि हुन नहुने श्रष्ठको भनाइ छ । यसअघि सरकारसँग मूल्य नियन्त्रण गर्न दबाब दिएकाले मूल्य स्थिर रहेको थियो। तर मूल्य स्थिर रहेको एक महिना हुन नपाउँदै लिटरमा नै २५ रुपैयाँ महँगो भएकाले सरकारले छानबिन गर्नु पर्ने श्रेष्ठले बताए।

पाँच महिना अघि सूर्यमुखी तेल प्रतिलिटर १८५, भटमासको प्रतिलिटर १७० र धारा तेल २६० रुपैयाँ मूल्य रहेको थियो। गत माघमा पनि सूर्यमुखी प्रतिलिटर २२० र भटमासको २१० रुपैयाँ पुगेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढेको तेल उद्योगहरुले जिकिर गर्दै आएका थिए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अस्वाभाविक मूल्यवृद्धिबारे स्पष्टीकरण मागेपछि मूल्य स्थिर भएको थियो । 

अहिले बजारमा तेलको मात्रै मूल्यवृद्धि भएको छैन । खानेतेल लगायत भान्सामा प्रयोग हुने अन्य दैनिक उपभोग्य बस्तुहरु दाल, केराउ, चामल, फलफूल, तरकारी, अण्डा र मासुको मूल्यसमेत उपभोक्ताको पहुँच भन्दा बाहिर जान थालेको छ । 

नेपालमा जहिले जहिले संकट पर्छ, वस्तुको अभाव हुन्छ, महाविपति आउँछ,  तब तब बजारमा खाद्यवस्तुको मूल्य बढाउने परिपाटी नै रहँदै आएको छ । तर अहिले वस्तु आयातमा  कुनै पनि असहजता नहुँदा समेत उपभोक्ताको भान्सा महँगीदै गएको छ।

तीन वर्षमा एक सयले बढ्यो तेल

खाने तेलको मूल्य तीन वर्षमा एक सय रुपैंयाँले महँगीएको छ। यो अवधिमा सबैभन्दा बढी भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको मूल्य एक सय रुपैयाँसम्म महँगो भएको देखिएको छ । 

नेपाल खुद्रा व्यापार संघको तथ्याङ्क अनुसार २०७५ साल माघमा भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटरको क्रमशः १३५ र १४५ रुपैयाँ रहेको थियो । तर २०७७ माघमा २३५ रुपैंयाँसम्म पुगेको तथ्याङ्कमा उल्लेख छ । 

२०७५ सालदेखि अहिले २०७७ सालको चैतसम्ममा भटमासको तेलको मूल्य क्रमशः १३५, १६० र २३५ रुपैंयाँ रहेको संघको तथ्याङ्कमा छ । यस्तै सोही अवधिमा सनफ्लावर तेलको भाउ क्रमशः १४५, १६० र २३५ रुपैंयाँमा कारोबार भएको पाइएको छ ।

केराउमा ६० रुपैयाँले मूल्यवृद्धि

पछिल्ला केही दिनदेखि बजारमा गेडागुडीको पनि मूल्यवृद्धि भएको छ । खानेतेल, खाद्यान्न लगायतका वस्तुको मूल्यवृद्धि हुँदै गर्दा तरकारी तथा अचार खाने केराउको  मूल्य ६० रुपैयाँ वृद्धि भएको छ। 

हरियो केराउ र सुकेको केराउको मूल्य  प्रतिकिलो ८५ रुपैयाँबाट बढेर १४५ रुपैयाँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । केराउको मूल्य पनि दुई महिना अघिदेखि निरन्तर रुपमा बढदै आएको छ । माघमा ९० रुपंैयाँ रहेको केराउ बढेर १३० पुगेको थियो । हरियो केराउ १४० देखि १५० रुपैयाँ पुगेको थियो । बजारमा केराउको अभाव भएकाले पनि मूल्यवृद्धि भएको व्यापारीहरुले बताएका छन् । 

हरियो तरकारीको मूल्य सामान्य वृद्धि 

काठमाडौं उपत्यकामा पछिल्लो साता हरियो तरकारी तथा फलफूलको मूल्यमा उतार चढाब देखिएको छ । तरकारीको मूल्य घट्दै आएकोमा पछिल्लो एक सातादेखि पुनः मूल्यवृद्धि हुन सुरु भएको छ । ५० रुपैयाँ किलो रहेको गोलभेडा अहिले ७० देखि ८० रुपैयाँले बढेको छ । 

त्यस्तै, च्याउको मूल्य एक सातामा किलोमै एक सय रुपैयाँले बढेको छ भने आलु, काउली, बन्दा, गोलभेडा जस्ता तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार मसलाजन्य उत्पादन लसुन र हरियो धनियाँको मूल्यमा गिरावट आएको छ भने सुकेको प्याज र खुर्सानीको मूल्य भने कही बढेको छ । 

यता, अनुगमन तथा नियन्त्रण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल लगायत खाद्यवस्तुको बजार अनुगमनलाई तिव्रताका साथ अझ नयाँ ढंगले अगाडि बढाएको विभागका प्रवक्ता शिवराज सेढाइँले बताए।

उनका अनुसार विभागले बजारमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि नयाँ ढङ्गबाट अनुगमन गर्ने भएको छ । उनले भने,‘तेलको मूल्य महँगिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्नेदेखि यसको महँगो हुनुको कारणसहितको तथ्य खोज्ने गरि उद्योगी व्यवसायीसँग कारण पेस गर्न निर्देशनसमेत जारी गरेको छ।’

विभागले मूल्य निर्धारण गर्ने होइन । उत्पादक तथा व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा नै कच्चा पदार्थको मूल्य बढेर आएकाले केही मूल्य बढेको बताएको सेढाइँको भनाइ छ । विभागले यसअघि पनि मूल्यवृद्धि गर्दा कानून विपरित पाएकालाई कानून अनुसार कारबाही गरेकाले त्यस्तो भेटिएमा कारबाही गरिने बताए । उनले व्यवसायीहरुले पनि मूल्यवृद्धि गर्दा कारण खुलाएर गरेमा विभागलाई छानबिन गर्न सजिलो हुने बताए।  

राष्ट्र बैंकको तथ्याङ्कमा २.७० प्रतिशत मूल्यवृद्धि 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले नेपालीको भान्सा महंगीदै गएको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनासम्मको आर्थिक तथा वित्तीय स्थितीमा उपभोग्य वस्तुको मूल्य २.७० प्रतिशतले बढेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ६.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ।

तेलमा विदेशकै भर, नेपालको उत्पादन नगन्य मात्रामा

बजारमा हरेक वस्तुको मूल्य बढेको छ ।मूल्य बढ्नुका प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा बढेकाले नेपाली बजारमा पनि बढ्ने गरेको छ । नेपालमा तेल उत्पादन नगन्य मात्रामा रहेको छ । तेल सबै बाहिरबाट नै आयात हुने गरेको छ। नेपालको उत्पादनले देशको मागलाई धान्न सक्दैन । नेपालमा आर्थिक वर्ष ०७५÷७६ मा खानेतेल भारततर्फ निकासी हुन थालेपछि नेपाली तेल उद्योगले १२ अर्ब ६७ करोड ९४ लाख २२ हजारको तेल निर्यात गरेका थिए। चालु् आर्थिक वर्षको ८ महिनामा मात्रै भटमासको कच्चा तेल २४ अर्ब ३० करोड ५४ लाख बराबरका आयात गरेको छ।

त्यसैले विश्व बजारमा हुने जुन–जुन व्यापार छ, ती वस्तुको मूल्य बढ्दा र घट्दा नेपाली बजारमा असर पर्ने गरेको छ । तोरी अष्ट्रेलिया तथा क्यानडाबाट आयात हुन्छ । सनफ्लावर युक्रेन र रसियाबाट, भटमास ब्राजिल तथा अर्जेन्टिनाबाट आयात भइरहेको छ। 

 

Logo