कस्मेटिक आइटममा ठगी गरेको आरोपमा उद्योग सञ्चालक पक्राउ

कस्मेटिक आइटममा ठगी गरेको आरोपमा उद्योग सञ्चालक पक्राउ


वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासोको आधारमा मंगलबार अनुगमनका क्रममा कस्मेटिक आइटममा ठगी गरेको पाइएपछि कलंकीस्थित एक उद्योगका सञ्चालक पक्राउ गरेको छ।

काठमाडौंको कलंकीमा रहेको हबिब कालाकोकिला हिनाज उद्योगले आफ्नो उद्देश्य विपरित उपभोक्तामाथि खेलवाड गर्दै कस्मेटिक आइटममा ठगी गरेको पाइएको विभागका प्रवक्ता शिवराज सेढाईले बताए।

उनका अनुसार विभागले प्रहरीको समन्वयनमा कलंकीको उक्त उद्योगमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएकाले पक्राउ गरिएको हो। उनले भने,‘यस्ता खालका चरम बेथिति गरेको पाइएकाले प्रहरीको अपराध अनुसन्धान महाशाखासँगको समन्वयमा विभागले उद्योगको उत्पादनस्थल, गोदाम र बिक्रीस्थल नै शील गरेका छौं।’

विभागले अनुगमन गर्दा कालाकोकिला ब्राण्डको मेहेन्दीलगायतका अन्य कस्मेटिक आइटमहरु उत्पादन गर्ने, आयात गर्ने, बिक्री वितरण गर्ने गरेको पाइएको थियो। तर यो उद्योग यस्तो उद्देश्यले नखोलिएको पाएको छ। उद्योगको स्थापना मेहेन्दी र मलतानी माटो प्याकिङ गर्ने उद्देश्यले दर्ता भएको विभागले जनाएको छ।

सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो बारेमा विस्तृत अनुसन्धान गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ।

Logo