दुई कम्युनिष्ट पार्टी तोरी र काेदाे जस्तै भएको छ : प्रवक्ता शर्मा

दुई कम्युनिष्ट पार्टी तोरी र काेदाे जस्तै भएको छ : प्रवक्ता शर्मा


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र काेदाेको जस्तो भएको टिप्पणी गरेका छन् । 

काठमाडौँमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले कोदो र तोरीले भिन्नाभिन्नै विशेषता बोकेको भएपनि एकै ठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले ३ वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको बताए । त्यही सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई सुझाव दिए । 

बुधबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरुबीचको एक कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्तहुन नसकेको टिप्पणी गरेका थिए । 

उनले सांसद अपहरणको आरोप लागेका सांसदलाई राज्य व्यवस्था तथा सुशासन समितिमा र सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको टेप काण्डका बारेमा सार्वजनिक लेखा समितिले छानविन गरिरहेका पूर्व मन्त्रीलाई सोही समितिको सदस्य बनाइएको भन्दै सुशासन कायम गर्ने सम्बन्धमा प्रभावकारी ढंगले काम गर्न कर्मचारीहरुलाई आव्हान गरे ।

उनले कर्मचारीतन्त्र भनेको स्थायी सरकार भएको र सुशासनको क्षेत्रमा स्थायी सरकारले गर्ने कामबारे सधैं सचेत भई प्रशासनतन्त्रलाई लोकतान्त्रिकरण गर्दै अघि बढ्न सबैलाई आग्रह गरे ।

Logo