बुटिक-चक डस्टरदेखि वाणिज्य बैंक शाखाको नेतृत्वसम्म

बुटिक-चक डस्टरदेखि वाणिज्य बैंक शाखाको नेतृत्वसम्म


‘सामान्य परिवारमा जन्मिएर गाउँमै हुर्किएकी हुँ, बैंकमा जागिर खाइन्छ भन्ने कल्पनासम्म थिएन,’ उनले सुरुमै विगत स्मरण गरिन्। 

आखिर, उनको जीवनमा नसोचेको कुरा भएरै छाड्यो। चर्चित महिला बैंकरका रूपमा उनको परिचय स्थापित भएको छ। उनी साढे १६ वर्षदेखि बैंकिङ क्षेत्रमै कार्यरत छिन्।

उनी अर्थात् दुर्गा छत्कुली पुरानोमध्ये एक राष्ट्रिय वाणिज्य बैंक, न्युरोड (विशालबजार)को शाखा प्रबन्धक हुन्। वाणिज्य बैंकको यो सबैभन्दा ठूलो शाखालाई कुशल नेतृत्व दिइरहेकी छन् उनी।

एकैचोटी उनी बैंकिङ क्षेत्रमा प्रवेश गरेकी होइनन्। अहिलेको अवस्थामा आउन आफूले ठूलै संघर्ष र मेहनत गर्नुपरेको उनी बताउँछिन्।

एसएलसीपछि नतिजा आएर कलेज भर्ना हुन एक वर्ष लाग्ने गथ्र्यो त्यसबेला। उक्त एक वर्षको अवधिमा उनले सिलाइ–कटाइ तालिम लिइन्। 

 सिलाइ–कटाइको ‘मास्टर्स डिग्री’ भनिने कोट पाइटसम्म सिलाउन सिकिन् उनले।  हेर्दाहेर्दै उनले बुटिक पेसा सुरु गरिन्। कपडा इम्ब्रोइडरी र पेन्टिङमा पनि दक्षता हाँसिल गरिन् उनले। ‘अहिले पनि कतै राम्रो कपडा देख्दा त्यसको ‘फिनिसिङ’ मा आँखा जान्छ,’ उनले सुनाइन्। 

काठमाडौं आएपछि पेसा परिवर्तन

बुटिकसम्बन्धी विभिन्न अनुभव हाँसिल गरे पनि उनले यो पेसालाई पछिसम्म निरन्तरता दिन सकिनन्। उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनले पेसा परिर्वतन गर्नुप¥यो। उनी बुटिक छाडेर ‘टिचिङ’ पेसामा लागिन्। 

टिचिङ गर्दागर्दै नेपाल बैंकमा नाम निस्कियो। त्यसपछि दुईवर्षे टिचिङ करिअर छाडेर उनले बैंकमा जागिर सुरु गरिन्। 

 बुटिक र टिचिङ पेसा अपनाएकी उनका लागि बैंकिङ बिल्कुलै नयाँ क्षेत्र थियो। ‘यस क्षेत्रमा अपार सम्भावनासँगै चुनौतीका चाङ थिए। कडा परिश्रम गरी बैंकिङका विभिन्न काम सिक्दै गएँ,’ उनी भन्छिन्।

समयक्रममा परिश्रमी दुर्गाको बैंकिङ करिअर पनि उकालो लाग्दै गयो। राष्ट्रिय वाणिज्य बैंक, न्युरोडको शाखा प्रबन्धक भएर नेतृत्व सम्हाल्नुलाई उनी आफ्नो मेहनत र लगनशीलताको कारण ठान्छिन्। 

सानैदेखि आफ्नै खुट्टामा उभिने सोच

सामान्य किसान परिवारमा जन्मिएकी दुर्गाको बाल्यकाल चितवनमै बित्यो। बुबाआमा, आठ छोरा र आठ छोरी गरी १८ जनाको परिवार थियो। बुबाआमा शिक्षित नभए पनि पढ्ने वातावरण मिल्यो।

दुर्गा परिवारको कान्छी छोरी भएकाले सबैले पढ्न प्रोत्साहन गर्थे। ‘सानैदेखि आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने लाग्थ्यो, त्यही भएर पढाइमा मेहनत गर्ने बानी बस्यो,’ उनी सम्झिन्छन्। 

उनले चितवनमा स्नातक तह पूरा गरिन्। चितवनमा व्यवस्थापनमा मास्टर्स डिग्री नभएकाले त्रिवि, कीर्तिपुर भर्ना भइन्।

त्रिविबाट मास्टर्स डिग्री सिध्याएपछि चितवन फर्किएर उनले दुई वर्ष मैंयादेवी कन्या कलेजमा अध्यापन सुरु गरिन्। ‘मास्टर्स डिग्रीको रिजल्ट नआउँदै चितवनको मंैयादैवी कलेजमा एक नम्बरमा नाम निस्कियो, त्यसपछि कलेजमा टिचिङ सुरु गरेकी थिएँ,’ उनले भनिन्।

‘बैंकिङ यात्रामा विभिन्न चुनौती आउने गर्छन्। त्यसलाई सामना गर्दै जानुपर्छ। त्यस्ता चुनौती सामना गरेपछि मात्र जीवनले सार्थकता पाउन सक्छ।’

त्यही बेला उनको विवाह कुरा चल्यो र, धादिङ, ज्वालामुखी–७ मा विवाह पनि भयो। विवाहपछि महिलालाई पढ्न गाह्रो हुन्छ भनिन्छ, तर, उनले पढाइलाई निरन्तरता दिइन्। एमबिएस, एमपिए, एलएलबी र बिएड गरेकी छन् उनले। 

नेपाल बैंकबाट बैंकको जागिर सुरु

छत्कुलीले २०६१ सालमा सहायक प्रबन्धक छैटौं तहमा नेपाल बैंक लिमिटेडमा सेवा सुरु गरिन्। त्यहाँ उनले १४ वर्षसम्म कर्जा विभागमा काम गरिन्। पैसाभन्दा पनि ‘स्टाटस’नै ठूलो हुने भएकाले नेपाल बैंक छाडेर साढे दुई वर्षअघि राष्ट्रिय वाणिज्य बैंकमा काम सुरु गरेको उनले बताइन्।

२०७५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट मुख्य प्रबन्धक (दशौं तह) मा उनी छनोट भएकी हुन्। वाणिज्य बैंकको जोखिम व्यवस्थापन तथा कर्जा अनुगमन विभाग, सम्पत्ति व्यवस्थापन तथा कानुन विभागको जिम्मेवारीसमेत सम्हालेको अनुभव उनीसँग छ। 

बैंकिङ करिअरको साढे १६ वर्षमा उनले विभाग इन्चार्ज, कम्प्लायन्स अफिसर, वुमन अफिसर, सहायक शाखा प्रबन्धक, शाखा प्रबन्धकको जिम्मेवारी वहन गरिसकेकी छन्। आफूले तल्लो तहबाट काम सुरु गरेकाले टिम व्यवस्थापनमा सहज हुने गरेको उनको अनुभव छ। 

नेपाल बैंकमा उनी जागिरे भएर आउँदा बैंक समस्याग्रस्त थियो। विदेशीले व्यवस्थापन हेरिरहेको थियो। ‘नेपाल राष्ट्र बैंकले नेपाल बैंकलाई टाट पल्टिनबाट जोगाउन उक्त बैंकलाई समस्याग्रस्त घोषणा गर्दै विदेशी व्यवस्थापनको जिम्मेवारी दिएको थियो। त्यो बेला धेरै काम गर्नुपर्ने अवस्था थियो,’ उनी स्मरण गर्छिन्। बैंकिङ क्षेत्रमा काम गर्दै जाँदा धेरै कुरा सिकेको उनको अनुभव छ। 

वाणिज्य बैंक न्युरोड शाखाको प्रगति 

राष्ट्रिय वाणिज्य बैंकको न्युरोड–विशाल बजार) शाखा कारोबारको दृष्टिले ठूलो मानिन्छ। ‘बिजनेस हब’ भएकाले विशाल बजार शाखामा पैसा राख्ने, झिक्ने, विदेशी मुद्रा सटही गर्ने, रेमिट्यान्स, मोबाइल बैंकिङ, एलसी खोल्ने, एटिएम, लकर, कर्जालगायत सुविधा छन्।

वाणिज्य बैंकका देशभरका शाखामध्ये विशाल बजार शाखाको नाफा सबैभन्दा बढी छ। निक्षेप संकलन र कर्जा लगानी बढी हुने शाखा हो विशाल बजार। 

आर्थिक वर्ष २०७५/७६ मा अहिले सञ्चालनमा रहेका २७ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अग्रपंक्तिमा आएको थियो। वाणिज्य बैंकलाई अहिलेको स्थानमा ल्याउन विशाल बजार शाखाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ। 

चुनौती र अवसर दुवै 

बैंकिङ क्षेत्रमा प्रवेश गर्दा चुनौती र अवसर दुवै रहेको उनको धारणा छ। उनी भन्छिन्, ‘बैंकिङ यात्रामा विभिन्न चुनौती आउने गर्छन्। त्यसलाई सामना गर्दै जानुपर्छ। त्यस्ता चुनौती सामना गरेपछि मात्र जीवनले सार्थकता पाउन सक्छ।’

त्यही चुनौती सामना गर्ने इच्छाले नै उनी राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो न्युरोड शाखालाई लिड गरिरहेकी छन्। ‘न्युरोड ‘बिजनेस हब’ भएकाले ठुल्ठूला कारोबार हुन्छ, कहिलेकाही कारोबारसम्बन्धी समस्या पनि आउने गर्छन्। त्यसले गर्दा यो शाखामा काम गर्न चुनौतीपूर्ण छ,’ उनी थप्छिन्।

अहिलेसम्म न्युरोड शाखाका समस्या आफूले सहजतासाथ समाधान गरेको उनको ठम्याइ छ। ‘म न्यायाधीश त होइन, समस्या पहिचान गरी त्यसबारे उचित निर्णय लिएकी छु, समस्या समाधान हुँदा आफूलाई खुसी लाग्ने गरेको छ,’ दुर्गाले सुनाइन्। 

महिला भएर बैंकमा काम गर्दा कुनै अप्ठ्यारोे झेल्नुनपरेको उनको अनुभव छ। उनले भनिन्,‘पुरुष र महिलाको समान तलब हुन्छ। बैंकको काम अंक र तथ्यांकलाई आधार मानेर गरिन्छ। कामको आधारमा मूल्यांकन हुने भएकाले महिला र पुरुष भन्ने भेदभाव हुँदैन।’ 

दुर्गा अर्थतन्त्रका विभिन्न विषयमा लेख लेख्ने गर्छिन्। उनका लेख अखबार तथा विभिन्न अनलाइन मिडियामा समेत छापिने गरेका छन्।

छोटो समय ‘टिचिङ’ गरेकी उनीसँग केही महत्वपूर्ण अनुभव छन्। ‘टिचिङ’ गर्दा नयाँ कुरामा अपडेट भएर कक्षामा पस्नुपर्ने उनी बताउँछिन्। ‘टिचिङ र बैंकिङ करिअर बिल्कुलै फरक हुन्छ। बैंकिङ क्षेत्रमा टिचिङमा जस्तो नयाँ विषयमा अपडेट हुनु पर्दैन,’ उनी भन्छिन्।

Logo