वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि, आयात २.१ पनि प्रतिशतले बढ्यो

वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि, आयात २.१ पनि प्रतिशतले बढ्यो


आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको रिर्पोट अनुसार कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो। 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ। 

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ। 

त्यस्तै, वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपूर्जा, दूरसंचारका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपूर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपूर्जा, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात घटेको छ।

निर्यातततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु.८६३ अर्ब २१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो।

Logo