यसकारण घट्यो २७ वाणिज्य बैंकको निक्षेप

यसकारण घट्यो २७ वाणिज्य बैंकको निक्षेप


चैत महिनामा २७ वाणिज्य बैंकहरूको निक्षेप घटेको छ। चैत मसान्तसम्ममा बैंकहरूको कर्जा लगानी बढे पनि निक्षेप संकलन घटेको हो। 

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।  चैत २० गतेसम्म ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका  बैंकहरूले एक सातामै ३४ अर्ब रुपैयाँ लगानी गरेपछि कूल कर्जा लगानी ३५ खर्ब ३५ अर्ब रुपैयाँ नाघेको नेपाल बैंकर्स संघले जनाएको छ।

संघका अनुसार कर्जा लगानीको अनुपातमा पछिल्लो साता निक्षेप संकलन भएको छैन। वाणिज्य बैंकहरूको  चैत २० सम्म ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप रहेको थियो। गत शुक्रबारसम्ममा निक्षेप संकलन २३ अर्ब रुपैयाँले मात्रै वृद्धि भएर ३९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो  साता बैंक, फाइनान्स र बिमाको निक्षेप संकलन जोडेर हेर्दा सन्तोषजनक रहेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवनकुमार दाहालले बताए।

उनका अनुसार यो साता चैत मसान्त परेकाले सरकारलाई राजस्व बुझाउँदा बैंकमा जम्मा हुने निक्षेप संकलनमा असर परेको हो। उनले भने, ‘व्यवसायीले सरकारलाई राजस्व बुझाउन लागेकाले बैंकभन्दा सरकारसँग निक्षेप बढेको छ। अब सरकारले खर्च बढायो भने बैंकहरूमा पनि निक्षेप बढ्छ।’ 

पछिल्लो समय बजारमा कर्जाको माग अत्यधिक बढेकाले बैंकहरूले पनि राम्रै कर्जा लगानी गरेका छन्। यसले गर्दा पनि बजारमा तरलताको जटिलता थपिएको छ। तथापि, अहिले नै तरलता अभाव भइहाल्ने अवस्था भने नरहेको दाहालको भनाइ छ। ‘बैंकहरूमा तरलता अभाव हुने–नहुने भन्ने सरकारी खर्चको अवस्थामा भर पर्छ,’ दाहालले भने, ‘सरकारी खर्च राम्रै भयो भने तरलतामा समस्या आउँदैन।’

त्यस्तै, पूर्वबैंकर अनलराज भट्टराईले बैंक, वित्तीय संस्था, उद्योग र व्यक्ति गरी सबैतिरबाट ३० प्रतिशत राजस्व जम्मा भएकाले बैंकहरूमा निक्षेप घट्न गएको बताए। उनका अनुसार अबको तीन महिना सरकारले पूरा खर्च गर्छ। सरकारले खर्च बढाउनेबित्तिकै बैंकहरूमा पनि निक्षेप बढ्ने छ।

उनले भने, ‘सरकारले यस वर्ष तीन खर्ब गर्ने लक्ष्य राखेकोमा अहिले एक खर्ब मात्रै खर्च भएको छ। अझै खर्च गर्न २ खर्ब बाँकी नै छ। यो रकम खर्च हुँदा बैंकहरुमा २ सय अर्ब रुपैयाँ निक्षेप बढ्छ।’

बैंकहरुमा निक्षेप घट्न थालेकाले बजारमा तरलताको अभाव हुन्छ भनेर तत्काल डराइहाल्नुपर्ने अवस्था  नरहेको भट्टराईको धारणा छ। बैंकहरुले बैशाख, जेठ र असार तीन महिना कर्जा दिन त्यति चाहान्दैनन्। त्यसले गर्दा असारसम्म कर्जा धेरै लगानी नहुने तथा यो समयमा नै सरकारी खर्च पनि बढ्छ । सरकारी खर्च बढ्नाले बैंकहरुमा निक्षेप पनि बढ्ने हुँदा तरलता अभाव नहुने उनको भनाइ छ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले गत वर्ष चैत ११ देखि भदौसम्म लकडाउन गर्दा बैंकहरूमा लगानी योग्य रकम थुप्रिएको थियो । निक्षेप संकलन र कर्जा लगानीसमेत ठप्प रहेको थियो। तर, पछिल्लो समय आर्थिक गतिविधि बढ्दै गएपछि बैंकहरूलाई तरलता व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ। 

चैतपछि बैंकहरूले निक्षेपमा ब्याज बढाउने बताए पनि वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपमा ब्याजदर घटाएका छन्। अहिले २० वटा बैंकहरूले निक्षेपमा ब्याजदर घटाएका छन्। 

तत्कालै तरलता अभाव भइ नहाल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकहरूमा कर्जाको माग तथा आयात बढेर तुलनात्मक रुपमा तरलता सङ्कुचन देखिए पनि अभाव नै भइनहाल्ने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुन पहिलो साता र चैतको अन्तिम साताको तुलना गर्ने हो भने कर्जा लगानी २ खर्ब रुपैयाँले वृद्धि भएको छ। तर, निक्षेप रकम भने १ खर्ब १४ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो। आर्थिक वर्षको आठ महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १७.३ प्रतिशत, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ। 

Logo