बैंकहरूले निक्षेपको ब्याज घटाए, कुन बैंकको कति?

बैंकहरूले निक्षेपको ब्याज घटाए, कुन बैंकको कति?


वैशाख १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशले ब्याजदर घटाएका हुन्। यद्यपि, केही बैंकहरूले भने ब्याजदर बढाएका छन्। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा निक्षेपको ब्याजदर परिवर्तन गर्दा ब्याजदर लागू हुने महिनाको अघिल्लो मसान्तमा विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो। 
२२ वाणिज्य बैकले मंगलबार नै ब्याजदर सार्वजनिक गरेका र केहीले सार्वजनिक गर्न अझै बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ। 

प्रायःजसो बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रूपमा आफ्नो ब्याजदरको ‘बेस रेट’ परिवर्तन गर्दै आएका छन्। ब्याजदर परिर्वतन गरेका केही बैंकले बचतको ब्याज घटबढ गरेका छन् भने केहीले मुद्दतीको ब्याजदर पनि तल–माथि गरेका छन्। 

चैत मसान्तपछि निक्षेपकर्ताले बैंकको ब्याज बढ्ने अनुमान गरेका थिए। तर, केही बैंकहरूले बाहिर अनुमान गरेभन्दा फरक हिसाबले बचत तथा मुद्दतीको ब्याज घटाएका छन्। चैत मसान्तसम्ममा बैंकहरूको निक्षेपभन्दा कर्जा लगानी बढी रहेकाले  बजारमा तरलता अभाव हुने हल्ला चलिरहेका बेला बैंकहरूले ब्याज घटाएका हुन्। 

पछिल्लो समय बैंकहरूले उच्च लगानी गर्दा  कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) सीमा सकिएकाले केही बैंकले भने निक्षेप बढाउनकै लागि ब्याज बढाएका विश्लेषकहरू बताउँछन्। सबैभन्दा उच्च कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) रहेको मेगा बैंकले २ प्रतिशतले ब्याजदर घटाएको छ भने एनआइसी एसिया र सानिमा बैंकले एक प्रतिशतले ब्याजदर बढाएका छन्।

८० प्रतिशतभन्दा कम सिसिडी हुनुपर्ने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकले कोरोना महामारीपछि मौद्रिक नीतिमार्फत् सिसिडी बढाएर ८५ प्रतिशत पुर्याएको छ। मेगाको ८४.६२ प्रतिशत, एनआइसी एसियाको ८४.३९ प्रतिशत र सानिमा बैंकको ८३.९३ प्रतिशत सिसिडी रेसियो पुगेको छ। अहिले ९ बैंकको सिसिडी रेसियो ८० प्रतिशतभन्दा माथि छ। 

राष्ट्र बैंकले तोकेकोे सीमा नजिक सिसिडी पुगेका बैंकहरूले निक्षेपमा ब्याज घटाएको र सिसिडी कम भएका बैंकहरूले त्यही अनुसार बढाएका सनराइज बैंकका प्रमुख कार्यकारी सुमन शर्माले बताए । ‘बैंकहरूले दुई महिनादेखि निक्षेप संकलन राम्ररी बढाएका छन्, सिसिडी पनि कम देखिएकाले ब्याज बढाएका हुन्,’ उनी भन्छन्।

कुन बैंकले कति ब्याजदर घटाए ?

नबिल बैंक
नबिल बैंकले बचतको ब्याज घटाएको छ। नबिलले चैतसम्म बचतमा २.५१ प्रतिशत ब्याज दिँदै आएकोमा ०.२७ प्रतिशतले घटाएर १.५१ प्रतिशतमा झारेको छ । यसै आधारमा अधिकतम बचतको ब्याज ४.५१ प्रतिशतबाट ३.५१ प्रतिशतमा आएको छ। त्यस्तै, मुद्दती निक्षेपमा एक महिनाअघि ७.५१ प्रतिशत  पुर्याएकोमा घटेर  ६.५१ प्रतिशतमा आएको छ। 

एनएमबि बैंक
एनएमबि बैंकले पनि निक्षेपको ब्याज दर घटाएको छ। बैंकले ३.१ देखि ५.१ प्रतिशतसम्म दिँदै आएकोमा घटाएर २ देखि ४ प्रतिशत कायम गरेको छ। त्यस्तै, निक्षेपमा ब्याजदर घटाएपछि त्यसको असर मुद्दतीमा परेको छ।  मुद्दती ब्याजदर अधिकतम ८ प्रतिशत रहेकोमा ७ प्रतिशतमा झारिएको छ। 

मेगा बैंक 
मेगा बैंकले निक्षेपको ब्याजदर सबैभन्दा धेरै घटाएको छ। यसअघि ३.५ देखि ५.५ प्रतिशतसम्म ब्याज दिँदै आएको बैंकले २ प्रतिशतले घटाएर १.७५ देखि ३.५ प्रतिशत कायम गरेको छ। मुद्दतीमा ७.२५ प्रतिशतसम्म ब्याज दिँदै आएकोमा ६.७५ प्रतिशतमा झारेको छ। 

सनराइज बैंक 
सनराइज बैंकले पनि निक्षेप ब्याजदर घटाएको छ । यसअघि २.५ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो। बैंकले ०.५ प्रतिशतले घटाएर बचतको ब्याज २ देखि ३.५ प्रतिशतमा झारेको छ। तर, मुद्दती निक्षेपमा दिँदै आएको सात प्रतिशत ब्याजदरलाई भने निरन्तरता दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले बचतको न्युनतम ब्याज दर २ प्रतिशतलाई बढाएर २.२५ प्रतिशत पुर्याएको छ भने अधिकतम ब्याज ४ प्रतिशत यथावत राखेको छ। त्यस्तै,मुद्दती निक्षेपमा यसअघि दिँदै आएको सात प्रतिशतको ब्याजलाई बढाएर ७.२५ प्रतिशत  पुर्याएको छ।

कुमारी बैंक
कुमारी बैंकले निक्षेपको ब्याज बढाएको छ । न्युनतम २ देखि ४ प्रतिशत दिँदै आएको बैंकले अहिले २.५३ देखि ४.५३ प्रतिशत पुर्याएको छ । मुद्दती निक्षेपमा पनि सात प्रतिशत दिँदै आएकोमा बढाएर बैंकले अधिकतम ब्याज ७.२५ प्रतिशत   पुर्याएको छ। 

बैंक अफ काठमान्डू
बैंक अफ काठमान्डूले निक्षेपको ब्याज बढाएको छ। बैंकले २ देखि ३.५ प्रतिशतसम्म दिँदै आएकोमा अहिले बढाएर ३.१ देखि ४.६ प्रतिशत  पुर्याएको छ । बैंकको मुद्दतीको ब्याज अधिकतम सात प्रतिशतबाट ७.६ प्रतिशतसम्म पुगेको छ।

प्राइम बैंक
प्राइम कमर्सियल बैंकले निक्षेपको न्युनतम ब्याजदर बढाएको छ। यसअघि २.५ प्रतिशत दिँदै आएकोमा बढाएर ३.५१ प्रतिशत  पुर्याएको छ। त्यस्तै, अधिकतम ब्याजदर भने ४.५ प्रतिशतलाई यथावत राखेको छ। मुद्दतीको ब्याज साढे सात प्रतिशत रहेकोमा एक प्रतिशत बढाएर आठ प्रतिशत  पुर्याएको छ।

माछापुच्छे बैंक
माछापुच्छे बैंकले भने निक्षेपको ब्याजमा कुनै परिर्वतन गरेको छैन। यसअघि बैंकले दुईदेखि चार प्रतिशत ब्याज दिँदै आएकोमा त्यसैलाई निरन्तरता दिएको छ । मुद्दतीको ब्याज सात प्रतिशत पनि यथावत राखेको छ।

प्रभु बैंक
प्रभु बैंकले निक्षेप र मुद्दती निक्षेपको ब्याजदर परिर्वतन गरेको छैन।  मुद्दतीमा अधिकतम सात प्रतिशत र निक्षेपमा दुईदेखि चार प्रतिशत ब्याज दिँदै आएको छ।

हिमालयन बैंक
हिमालयन बैंकले निक्षेपको ब्याज यसअघिकै २ देखि ४ प्रतिशत यथावत राखेको छ। मुद्दतीको ब्याज पनि अधिकतम सात प्रतिशत दिँदै आएको छ। 

राष्ट्रिय वाणिज्य बैंक
सरकारको स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको ब्याज ३ देखि ५ प्रतिशत रहेकोमा यसैलाई निरन्तरता दिएको छ। मुद्दतीमा पनि बैंकले ७.२५ प्रतिशतलाई निरन्तरता दिएको छ।

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पनि बचतको ब्याजलाई निरन्तरता दिएको छ। बैंकले बचतमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । मुद्दतीमा आठ प्रतिशत ब्याज दिँदै आएकोमा त्यसैलाई कायम गरेको छ । 

नेपाल बैंक
नेपाल बैंक लिमिटेडले निक्षेपमा २.५ देखि ४ प्रतिशत दिँदै आएको ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीमा नेपाल बैंकले पुरानै सात प्रतिशत कायम गरेको छ।

नेपाल एसबीआई बैंक
नेपाल एसबिआई बैंकले निक्षेपका सबै ब्याजदर ३ प्रतिशत कायम गरेको छ। यसअघि २ देखि ३ प्रतिशत दिँदै आएको थियो। तर, मुद्दतीको ब्याज दर भने बढाएको छ। अधिकतम साढे ६ प्रतिशत पाउँदै आएकोमा बढाएर ८ प्रतिशत  पुर्याएको छ। 

कृषि विकास बैंक    
कृषि विकास बैंकले ३.५ देखि पाँच प्रतिशतसम्मको ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीको अधिकतम सात प्रतिशतलाई बढाएर ७.२५ प्रतिशत  पुर्याएको छ। 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचतको ब्याज दर २ देखि ४ प्रतिशतलाई यथावत राखेको छ। मुद्दतीको ब्याज अधिकतम सात प्रतिशतलाई निरन्तरता दिएको छ।

स्टान्डर्ड चार्टर्ड बैंक
स्टान्डर्ड चार्टर्ड बैंकले बचतमा दिँदै आएको २.२५ देखि ४ प्रतिशत र मुद्दतीमा दिँदै आएको अधिकतम ब्याजदर ६ प्रतिशत यथावत राखेको छ। 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले निक्षेपको न्युनतम २ देखि ४ प्रतिशत ब्याजलाई निरन्तरता दिँदै मुद्दतीको अधिकतम ब्याज ६.७५ प्रतिशतलाई पनि कायम राखेको छ । 

सेन्चुरी बैंक
सेन्चुरी कमर्सियल बैंकले बचतको ब्याजदर  २.७५ देखि ४.७५ प्रतिशत राखेकोमा त्यसैलाई निरन्तरता दिएको छ। मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतलाई भने यथावत राखेको छ।
 

Logo