लकडाउन भए पनि सुरक्षा प्रोटोकल बनाएर उद्योग–व्यवसाय सुचारु राख्नुपर्छः व्यवसायी

लकडाउन भए पनि सुरक्षा प्रोटोकल बनाएर उद्योग–व्यवसाय सुचारु राख्नुपर्छः व्यवसायी


कोरोना भाइरसको दोस्रो लहर नेपालमा तीव्र गतिका फैलिन थालेको छ। छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर अनियन्त्रित भएपछि नेपालमा पनि जाखिम बढेको छ। 

कोरोनाको दोस्रो लहर फैलिन नदिनका लागि सरकारले काठमाडौं उपत्यकाभित्र एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । त्यस्तै सरकारले कोरोनाको प्रभाव हेरेर स्थानीय तहलाई लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार दिएको छ। सरकारले निषेधाज्ञा जारी गर्ने तयारी गरेसँगै उद्योगी व्यवसायी चिन्तित हुन थालेका छन्। 

गत वर्ष लकडाउनले धरासायी बनेको उद्योग–व्यवसाय पुनः पुरानै स्थितिमा फर्कने अवस्था आएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोहरले बताए।

उनका अनुसार कोभिड–१९ को दोस्रो लहरसँगै देशमा देखिएको असहज परिस्थितिमा निषेधाज्ञा नै जारी गरे पनि दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि उद्योगको सञ्चालन अपरिहार्य छ। उनले भने, ‘आर्थिक गतिविध चलायमान बनाउन तथा धरासायी बनेका उद्योगलाई जोगाइ राख्नकै लागि भए पनि सुरक्षा प्रोटोकल पूर्ण रुपमा पालना गरी उद्योग सञ्चालन गर्न सरकारले छुट दिनुपर्छ।’

सरकारले सबै उद्योग–व्यवसाय  बन्द गर्दा देशको अर्थतन्त्र नै धरापमा पर्छ। कोरोना संक्रमण नियन्त्रका लागि सरकारले अरु उपाय अपनाएर उद्योग–व्यवसाय सञ्चालनमा निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

गत वर्ष लकडाउनका बेला व्यवसायीले बैंकहरूको ऋणको ब्याजसमेत तिर्न नसक्दा उद्योग नै बन्द गर्ने अवस्थामा पुगेकाले अब सरकारले विगतको भोगाइ आत्मसात गर्दै अघि बढ्नुपर्ने मोहर बताउँछन्।

त्यस्तै,नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले पनि निषेधाज्ञा नै जारी गरे पनि सुरक्षा प्रोटोकल बनाएर व्यवसाय सुचारु गर्न दिनुपर्ने बताएका छन्। 

उद्योगी व्यवसायीले कोरोना महामारीको कहर  भोगिसकेकाले अब केही गति लिन्छ कि भन्ने अवस्था आएको थियो। फेरि कोरोनाको दोस्रो लहरले थप त्रास पैदा गरेको छ। उनले भने, ‘धराशायी बनेका व्यवसायी एक वर्ष मारमा परे, अब केही सम्भावना छ भनी जुटिरहेको अवस्थामा यो अवस्थामा खतराको घण्टी बज्यो।’

‘निषेधाज्ञा हुँदा सबैभन्दा बढी उद्योगी व्यवसायी प्रभावित हुन्छन्। सरकारी कर्मचारीलाई काम नगरे पनि तलब आइहाल्छ,’ उनी भन्छन्। मन्त्रीलाई राज्यको ढुकुटीको पैसा आउने भएकाले सर्वसाधारण जनता सबैभन्दा मारमा पर्ने उनको भनाइ छ। 

त्यस्तै सरकारले उद्योगलाई चाहिने कच्चा पदार्थ तथा आवतजावतका लागि उचित व्यवस्था मिलाइ सुरक्षा सतर्कतासहित उद्योग खुलाउनुपर्ने उनी बताउँछन्।

त्यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार सरकारलाई आगामी बजेट निर्माणको लागि सुझाव दिँदै कोरोनाको दोस्रो लहर आए पनि उद्योग व्यवसाय सुचारु राख्नुपर्ने बताएका थिए। रोजगारी अभिवृद्धि गर्नसक्ने र आर्थिक महत्व बोकेका आयोजना अवरुद्ध हुन नहुने उनको विचार छ। 

कोरोनाबाट प्रभावित लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जन लगायत व्यवसायमा सरकारी सबै सहुलियत कम्तीमा दुई वर्ष थप्नुपर्ने उनको भनाइ छ। 

त्यस्तै, होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले फेरि पनि लकडाउन भएमा व्यवसायी आर्थिक रुपमा थेग्न नसक्ने अवस्थामा पुग्ने बताए। उनले गत वर्षको लकडाउनका कारण कतिपय होटल बन्द भएका जनाए। कोरोनाको दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले आगामी बजेटमार्फत् विशेष सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। 

होटल व्यवसायीले सरकारी मापदण्ड अनुसार काम गरिरहेको उल्लेख गरे। गत वर्ष चैत ११ गतेदेखि ९ महिनासम्म कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनले नेपालको उद्योग–व्यवसायी क्षेत्र धराशयी बनेको थियो। लकडाउन खुलेर आर्थिक गतिविधि विस्तारै बढ्न थालेका बेला फेरि कोरोनाको दोस्रो लहरले पुनः व्यवसायीको मनोबल खस्किन थालेको छ।

नेपाल उद्योग वाणिज्य महासंघको तथ्याङक अनुसार गत वर्षको लकडाउनको कारण बन्द उद्योगमध्ये ४० प्रतिशत अझै सञ्चालनमा आउन सकेका छैनन्।

Logo