हवाई उडान पनि छिट्टै बन्द गर्ने सरकारको तयारी (भिडियोसहित)

हवाई उडान पनि छिट्टै बन्द गर्ने सरकारको तयारी (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये कोरोना भाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ। यद्यपि ट्रान्जिट हुँदै नेपाल भित्रने विमानमा भने यो नियम लागु हुने छैन। शुक्रबारको बैठकले देश भित्र पनि संक्रमणको अवस्था भयावह भएको निश्कर्ष निकाल्दै आन्तरिक उडानमा पनि रोग लगाउने सिफारिस गरेको हो।

कोरोनाको नयाँ लहरसँगै उपत्यकासहित देशमा विभिन्न स्थानमा निषेधाज्ञा जारी हुँदा १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ। यद्यपि, दिवसका बारेमा भर्चुअल गतिविधि भने सम्पन्न भएका छन्। मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका छन्। यस्तै प्रधानमन्त्री ओलीले श्रमिकको पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता पनि जनाएका छन्।

प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना संक्रमितका लागि बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको बताएको छ। शनिबार बिहान काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संकटमा राज्य हतास नभइ नागरिकलाई ढाडस बन्नुपर्ने बताएका छन्। स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो। तर संकटमा अपील गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ। कांग्रेसले विज्ञप्तिमा भनको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले उपत्यकासहित २२ बढी जिल्लामा निषेधाज्ञा जारी गरेपछि यसको प्रत्यक्ष असर उपभोग्य सामग्रीको मूल्यमा देखिन थालेको छ। बजारमा दैनिक उपभोग्य सामग्रीहरू दाल, चामल, तरकारी, फलफूल, तेललगायतमा मूल्य उच्च देखिएको छ। उपत्यकाको हँकमा कालीमाटी फलफूल तथा तरकारी बजारमा हालसम्म कुनै मूल्यवृद्धि नबढाइएको समितिका प्रवक्ता विनायक श्रेष्ठको दाबी छ। तर, बजारमा व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी  मूल्य वृद्धि गर्ने गरेको गुनासो बढ्न थालेको छ। 

अस्ट्रेलियाली सरकारले हालका लागि भारतको यात्रालाइ गैरकानुनी बनाएको छ। भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना वा दुवै हुनसक्ने पनि  अष्ट्रेलिया सरकारले उल्लेख गरेको छ। भारतमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा कयौं देशहरूले भारतका लागि उडान बन्द गराएका छन्।

Logo