न्यून कर्मचारी राखेर बैंकिङ सेवा, डिजिटल कारोबार गर्न बैंकहरुको आग्रह

न्यून कर्मचारी राखेर बैंकिङ सेवा, डिजिटल कारोबार गर्न बैंकहरुको आग्रह


कोरोना संक्रमणको दोस्रो तरंग रोकथाम ताथ  नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकासहित ५२ भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरेको छ। 

निषेधाज्ञामा सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।  अन्य सेवा बन्द रहे पनि बैंक तथा वित्तीय संस्थाहरु भने खुला रहेका छन्। बैंकहरु खूला नै रहेकाले सेवाग्राहीको बाक्लै उपस्थिति रहने गरेको छ। 

निषेधाज्ञाको चौथो दिनसम्म अधिकांश कर्मचारी कार्यालय आउनुपर्ने भएकाले बैंक भरिभराउ देखिन्थे। तर, निषेधाज्ञाको सातौं दिन बुधबार भने बैंक शाखाहरुमा थोरै ग्राहक र कर्मचारीमा उपस्थित रहेका बैंकहरुले जनाएका छन्।

कोरोना संक्रमण दर उच्च रहेकाले बैंकहरुमा जोखिम बढ्ने भन्दै राष्ट्र बैंकले आइतबारदेखि बैंकमा २५ प्रतिशत मात्रै कर्मचारी राखेर शाखा सञ्चालन गर्ने निर्देशन दिएको छ। त्यही अनुसार बैंकका शाखाहरुमा मंगलबारदेखि २५ प्रतिशत मात्रै कर्मचारीले शाखा सञ्चालनमा ल्याएको नेपाल बैंकर्स संघले जनाएको छ।

निषेधाज्ञाको चार दिनसम्म सेवाग्राहीको चाप रहे पनि बुधबारदेखि भने निकै कम हुन थालेको राष्ट्रिय वाणिज्य बैंक, न्युरोड शाखाकी प्रबन्धक दुर्गा छत्कुलीले बताइन्। उनका अनुसार सधैं भिडभाड हुने राष्ट्रिय वाणिज्य बैंकको न्युरोड शाखामा सोमबारसम्म लामो लाइन हुने गरेकोमा बुधबार निकै कम सख्यामा ग्राहक आएका छन्।

‘बैंकहरुका कर्मचारी नै कोभिड संक्रमण हुन थालेकाले बैंक सञ्चालन गर्न कठिन हुन थालेको छ,’ उनले भनिन्।

डिजिटल कारोबारलाई राष्ट्र बैंक तथा अन्य बैंकहरुले प्राथमिकतासाथ लागू गरे पनि पहिलेभन्दा बढे पनि अपेक्षा गरेजति कारोबार हुन सकेको छैन। धेरैजसो मानिस अझै पनि डिजिटल माध्यमभन्दा बैंकमै आएर सेवा लिन मन पराउने भएकाले पनि डिजिटल कारोबार बढ्न नसकेको उनी बताउँछिन्। 

त्यस्तै, गत वर्षको लकडाउन अवधिमा अन्तर बैंक एटिम काड प्रयोग गर्दा निशुल्क रहेकाले डिजिटल कारोबार बढेको थियो। तर, अहिले डिजिटल कारोबार गर्दा शुल्क छुट नभएकाले कारोबार नबढेको हुनसक्ने अनुमान बैकहरुको रहेको छ।

यता राष्ट्र बैंकले निषेधाज्ञाको समयमा कति डिजिटल कारोबार भयो भन्ने यकिन तथ्याङ्क संकलन नगरिएको राष्ट्र बैंकको डिजिटल भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीले बताए। उनका अनुसार डिजिटल कारोबारको गत चैत महिनासम्मको मात्र तथ्याङ्क उपलब्ध छ। 

‘यो पहिलाको जस्तो लकडाउन नभएर निषेधाज्ञा मात्रै भएकाले डिजिटलल कारोबारको तथ्याङ्क संकलन गरेका छैनौं। तर, पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएको र निषेधाज्ञाको अवधिमा अझै बढ्छ’ उनले भने।

आइतबार राष्ट्र बैंकले कार्यालयमा उपस्थित नभइ कार्यसम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न निर्देशन दिइसकेको छ। निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैंकले भनेको छ।

प्रविधिको उच्चतम प्रयोग गर्दै ‘वर्क फ्रम होम’लाई जोड दिन पनि बैंक तथा वित्तीय संस्थालाई भनेको छ। ‘फेस टु फेस’ बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन छ।

सोही निर्देशनको प्रभाव सोमबारदेखि बैंकहरुमा प्रष्टै देखिएको हो। उपत्यकाका अधिकांश बैंकहरुले भिडभाड कम गर्न आधा सटर खोलेर सेवा दिइरहेका छन्। वैशाख २२ गतेसम्मको निषेधाज्ञा सरकारले एक साताका लागि थपेर वैशाख मसान्तसम्म पुर्याएको  छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा अवधि थप्दै हरेक बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालय खोलेर सेवा दिन आग्रह गरेका छन्। 

त्यस्तै, बैंक केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै जनशक्ति राखेर सेवा दिनुपर्ने नयाँ प्रावधान ल्याइएको छ। शाखा कार्यालय सञ्चालनबारे नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई विवरण दिनुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन्।

शाखा कार्यालय आउने कर्मचारीको सवारी साधनका लागि सीमित पास जारी गरेर राष्ट्र बैंक र प्रशासन कार्यालयमा अनलाइनमार्फत् विवरण दिनुपर्ने उनले बताए। बीमा कम्पनीमा समेत एक चौथाइ मात्रै कर्मचारी राखेर सेवा दिनुपर्नेछ।

Logo