दाङ र बाँकेमा एकै दिन आठ सङ्क्रमितको मृत्यु

दाङ र बाँकेमा एकै दिन आठ सङ्क्रमितको मृत्यु


दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ। अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको हो।  

दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५ बजेतिर मृत्यु भएको हो। उनी वैशाख २४ गते अस्प्तालमा भर्ना भएकी थिइन् । त्यस्तै तुलसीपुर–७ निवासी ५८ वर्षीया महिलाको पनि साँझ पौने ५ बजेतिर मृत्यु भएको हो। उनी वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत थिइन्।

त्यस्तै घोराही–१४ निवासी ५९ वर्षीय पुरुषको आइतबार साँझ सवा ५ बजेतिर निधन भएको हो। उनी वैशाख २४ गतेदेखि उपचाररत थिए। त्यस्तै घोराही–७ निवासी ४१ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ बजे निधन भएको हो। 

यस्तै बबई गाउँपालिकाका–४ निवासी २७ वर्षीया महिलाको राति साढे १२ बजेतिर निधन भएको हो। ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन्। अन्य चारजना भने एचडियू कक्षमा उपचाररत थिए। उनीहरु सबैमा कोरोनासँगै निमोनिया र श्वाशप्रश्वासमा समेत समस्या रहेको थियो।

एक कोरोना सङ्क्रमितको मृत्यु

रुकुम (पूर्व):  हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम (पूर्व) का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ। भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको हो। अवस्था जटिल बन्दै गएपछि अस्पतालले अन्यन्त्र सिफारिस गरेको थियो। उनलाई अपराह्न ३ बजे हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पताल  लगिएको थियो।

थप दुईको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको गए राति मृत्यु भएको छ। भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं. ७ बर्दिया निवासी ४६ वर्षीया महिला र बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुष छन्। वैशाख २६ गते भेरी अस्पतालमा भर्ना भएकी गुलरिया नगरपालिका वडा नंं ७ बर्दिया निवासी ४६ वर्षीया महिलाको गए राति १० बजे मृत्यु भएको हो भने वैशाख २६ गते भर्ना भएका बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुषको गए राति ११ः५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए।रासस

Logo