महामारीमा सरकारलाई राहतः एक वर्षको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति

महामारीमा सरकारलाई राहतः एक वर्षको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति


बैकिङ क्षेत्रसँग एक वर्षको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को नौ महिनाको विवरण अनुसार ११.९ महिनाको वस्तु आयात गर्न सकिने विदेशी मुद्रा सञ्चिति रहेको छ।

 त्यसैगरी, १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न विदेशी मुद्रा पर्याप्त रहने विवरणमा उल्लेख छ। २०७७ साल असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०७७ चैत मसान्तमा १४३३ अर्ब २७ करोड पुगेको छ।

कारोना महामारीले सरकारका लागि अप्ठ्यारो स्थिति सिर्जना गरिदिएको भए पनि अर्थतन्त्रले केही हदसम्म सरकारलाई साथ दिएको अर्थशास्त्री तथा विश्लेषक भीम भुर्तेलले बताएका छन्।

‘विदेशी मुद्राकोे सञ्चिति अहिलेसम्म सकारात्मक नै दखिएको छ। पर्यटन, वैदेशिक सहयोग जस्ता विदेशी मुद्राका स्रोत कमजोर भए पनि रेमिट्यान्सले स्थिति धानेको देखिन्छ,’ भुर्तेलले भने।

नेपाल राष्ट्र बैंकको उक्त रिपोर्ट अनुसार पछिल्लो ९ महिनामा रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि भई ७२९ अर्ब २ करोड पुगेको छ। तर, पर्यटनबाट हुने आयमा ९०.२ प्रतिशतले कमी आई ५ अर्ब ५४ करोड कायम भएको छ। अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म यस्तो आय ५६ अर्ब ६८ करोड रहेको थियो। त्यस्तै, पछिल्लो ९ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी २५ प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको छ।

‘सरकारलाई अहिले महामारीसँग जुध्न स्वास्थ्य क्षेत्रको कमजोर स्थितिले गाह्रो भइरहेको अवस्था छ। आर्थिक सूचकहरू भने सरकारका लागि सकारात्मक नै छन्,’ भुर्तेलले भने। 

आयात बढ्यो 
आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११११ अर्ब ४० करोड पुगेको छ । कोरोना भाइरसको दोस्रो लहरले देश आक्रान्त भएको अवस्थामा आयातमा भएको वृद्धि पनि सरकारका लागि सकारात्मक नै भएको भुर्तेलले बताएका छन्।

‘आयात सरकारका लागि राजस्वको स्रोत हो। पछिल्लो ९ महिनामा आयात बढ्नु दीर्घकालीन दृष्टिकोणले राम्रो त होइन, तर महामारीको अवस्थामा राज्य सञ्चालनका लागि सहज वातावरण सिर्जन गर्ने कुरा हो,’ भुर्तेलले भने।   

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११११ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो। 

छिमेकी राष्ट्रहरूबाट हुने आयातमा भारी वृद्धि भएको छ। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ। 

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदीलगायत वस्तुको आयात घटेको छ।

थलिँदै अर्थतन्त्र
व्यापार घाटामा हुने वृद्धि दीर्घकालीन अर्थतन्त्रका लागि सकारात्मक मानिँदैन। आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २०७६/७७ को तुलनामा १२.५ प्रतिशतले वृद्धि भई १०१६ अर्ब ६३ करोड पुगेको छ। २०७६/७७ को सोही अवधिमा यस्तो घाटा २०७५/७६ को तुलनामा ८.९ प्रतिशतले घटेको थियो। 

त्यस्तै चालु खाताको घाटामा भारी वृद्धि भएको छ। यस आर्थिक वर्षको पछिल्लो ९ महिनामा चालु खाता २०७ अर्ब ४१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १२६ अर्ब ९ करोडले घाटामा रहेको थियो।

पछिल्लो ९ महिनामा रेमिट्यान्समा वृद्धि देखिए पनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको देखिन्छ। त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सोही अवधिमा ५५.७ प्रतिशतले घटेको छ। अर्थात् नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्ने दुवैको संख्यामा भारी गिरावट आएको छ। कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशतको हाराहारीमा हिस्सा ओगटेको वैदेशिक रोजगारको संकुचनका साथै पर्यटन क्षेत्रको अधोगति वैकल्पिक आर्थिक गतिविधिको अभावमा दीर्घकालीन अर्थतन्त्रका लागि स्वस्थकर नहुने देखिन्छ।  

Logo