महामारीपछि डिजिटल कारोबार बढ्योः बैंकर्स भन्छन्–अबको क्रान्ति डिजिटल युगका लागि!

महामारीपछि डिजिटल कारोबार बढ्योः बैंकर्स भन्छन्–अबको क्रान्ति डिजिटल युगका लागि!


विगत एक वर्षदेखि मुलुकमा डिजिटल भुक्तानी प्रणालीमा आमूल परिवर्तन भएको छ। गत वर्ष कोरोना महामारी सुरु भएपछि डिजिटल कारोबार चुलिँदै गएको हो।

महामारीभन्दा पहिले डिजिटल कारोबार हुने गरे पनि तीव्र कारोबार हुने गरे गरेको थिएन। तर, कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष सरकारले जारी गरेको लकडाउन कारण प्रायजसो बैंक तथा वित्तीय संस्था बन्द भएपछि अनलाइन कारोबारमा मानिस केन्द्रित भएका थिए। त्यससँगै डिजिटल कारोबारमा वृद्धि भएको पाइएको छ।

नेपाल राष्ट्र बैंकले केही वर्षदेखि डिजिटल कारोबारलाई प्राथमिकता दिने नीति लिएको छ। त्यसबाट पनि डिजिटल भुक्तानी बढ्न ठूलो सहयोग पुगेको देखिन्छ। 

गत वर्ष राष्ट्र बैंकमा महाप्रसाद अधिकारी गभर्नर नियुक्त भएपछि उनले अझै प्राथमिकतासाथ यो कारोबारलाई अघि बढाएका थिए। त्यही अनुसार बैंकहरुले पनि डिजिटल कारोबारलाई आक्रामक बनाउँदै लगेका छन्।

गत कात्तिकदेखि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोड वितरण व्यापक बनाएका थिए। बैंक तथा वित्तीय संस्थाले पनि क्युआर कोड वितरणका लागि अग्रसरता लिएपछि डिजिटल कारोबार बढेको पाइन्छ। 

व्यक्तिगत वा संस्थागत खाता भए पनि अब बैकिङ कारोबार डिजिटलबाटै गर्नुपर्ने नेपाल बंैकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाही बताउँछन्। अहिलेको महामारीको अवस्थामा औषधि किन्दा पैसा चाहिने भएपछि मानिसहरु बैंक गइरहेको पाइन्छ। तर, डिजिटल कारोबार अगाडि बढाएमा बैंक गइरहनु नपर्ने शाहको भनाइ छ।

‘औषधि किन्न जाँदा, तरकारी किन्न जाँदा पैसा बोक्नु नपर्ने हुन्छ, मोबाइल फोन भएमा क्युआर कार्डमार्फत् कारोबार गर्न सकिन्छ,’ शाह भन्छन्। यसरी डिजिटल कारोबार गर्न पाए कोरोना संक्रमण नफैलने उनको धारणा छ।

पहिले डेबिट तथा क्रेडिट कार्ड आएपछि डिजिटल कारोबार सुरुआत भएको थियो। डिजिटल क्रान्तिले अबको भुक्तानी प्रणालीलाई सहज बनाएको शाहको धारणा छ। 

त्यस्तै, नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका निर्देशक निश्चल अधिकारी एक वर्षको लकडाउनपछि डिजिटल कारोबार बढ्दै गएको बताउँछन्। उनका अनुसार अहिलेसम्मको तथ्यांकले अब विस्तारै डिजिटल कारोबार बढ्दै गएर क्यासलेस कारोबारतिर जाने संकेत गरेको छ।

‘हरेक चिजको विस्तार हुन कुनै न कुनै कारण चाहिन्छ नै, यो कारोबार बढ्नुमा कारोना महामारी जोडियो,’ उनी भन्छन्। चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा ७ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको व्यापार इकमर्स प्लेटफर्मले गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि चैत मसान्तसम्म मात्रै ७ अर्ब ८७ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको इकमर्स व्यापार भएको छ। लकडाउनमा मानिस बाहिर हिँडडुल गर्न नपाएपछि अनलाइनबाट अर्डर गरेर वस्तु मगाउनेको संख्यामा समेत उच्च वृद्धि भएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्म नेपालमा इकमर्सबाट व्यापार गर्नेको संख्या ११ लाख ४० हजार ९ सय ५६ पुगेको छ।

कुन माध्यमबाट कति कारोबार भयो? 

क्युआर कोडबाट २ अर्बभन्दा बढीको भुक्तानी भएको छ। उपत्यकालगायत देशका मुख्य सहरका तरकारी बजारमा क्युआर कोडलाई आक्रामक बनाइएको छ। मन्दिरदेखि ठेला गाडामा समेत क्युआर कोड वितरण गरिएको छ। यसले पनि पछिल्लो समय डिजिटल क्रान्तिको एक माध्यम क्युआर कोड बनेको छ।

खल्तीमा पैसा बोकिरहनु पर्ने झन्झटबाट मुक्त हुँदै मोबाइलको एपबाट सजिलै भुक्तानी गर्ने सकिने यो प्रणाली अहिले निकै लोकप्रिय बनेको छ। दिनप्रतिदिन प्रयोगकर्ता र कारोबार रकम बढ्दै गएको नबिल बैंकका सिइओ शाहको भनाइ छ। 

तरकारी बजार, पान पसलदेखि कफी सप हुँदै डिपार्टमेन्टल स्टोरसम्म यतिबेला क्युआर स्क्यान कोडको प्रयोग व्यापक हुन थालेको छ। चालु आवको नौ महिना अर्थात् चैत महिनासम्म २ अर्ब ७२ करोड रुपैयाँ कारोबार पुगेको छ । 

चालू आवको पहिलो महिना असारमा क्यूआर कोडबाट भुक्तानी रकम ५८ करोड ९० लाख रुपैयाँ मात्रै रहेको थियो। गत वर्षको लकडाउनमा बढेको अनलाइन सपिङ इकमर्सको व्यापार असारपछि विस्तारै घट्दै गएको थियो। तर, कोरोना महामारीको दोस्रो लहर सुरु हुनेबित्तिकै इकमर्सको व्यापार बढ्न थालेको छ। निषेधाज्ञाको समयमा आवश्यक खाद्यान्नका लागि सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प अनलाइन सपिङ साइट बनेका छन्। 

गत असार महिनामा इकमर्स व्यवसायले १ अर्ब २० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा त्यसपछि भने कारोबार रकम घट्दै गएको थियो। तर, चैत महिनामा भने फेरि १ अर्बभन्दा माथिको व्यापार भइसकेको छ। 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कार्यालयमा भौतिक रुपमै उपस्थित हुनुपर्ने, एटिएम गइरहने झन्झटबाट मुक्त हुँदै मोबाइलको एपमार्फत् कारोबार गर्नेहरु बढेका छन्। पैसा भुक्तानी गर्न, रकम पठाउन तथा विभिन्न प्रकारका बिल भुक्तानी गर्न मोबाइल बैंकिङ प्रयोग गर्न थालिएको छ।

चालू आवको नौ महिना अर्थात् चैत महिनासम्ममा मात्रै ४८ अर्ब ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। गत असारसम्म १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। 

आइपीएसमार्फत हुने कारोबार पनि पछिल्लो समय निकै बढेको देखिन्छ। चालु आवको नौ महिना अर्थात् चैत महिनामा यो कारोबार बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।

गत असार महिनामा कनेक्ट आइपीएसमार्फत्  ५१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। कनेक्ट आइपिसबाट गत फागुन महिनासम्म १ खर्ब ४ अर्ब रुपैयाँ कारोबार रहेको थियो। पछिल्लो चार महिनादेखि यसको कारोबार पनि बढ्दै गएको देखिन्छ।

Logo