बजेटमा निजी क्षेत्रको प्रतिक्रियाः ‘समग्रमा बजेट सकारात्मक, कार्यान्वयन होस्’

बजेटमा निजी क्षेत्रको प्रतिक्रियाः ‘समग्रमा बजेट सकारात्मक, कार्यान्वयन होस्’


सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट ल्याएको छ। सरकारले स्वास्थ्य क्षेत्रमा पहिलो पटक १ खर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ। यसरी सरकारले ल्याएको बजेट समग्रमा सकारात्मक रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएका छन्। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको बजेटबारे प्रतिक्रिया दिंदै निजी क्षेत्रका छाता संघ संगठनका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षहरुले बजेट अत्यन्तै राम्रो आएको प्रतिक्रिया दिएका हुन्। त्यस्तै, विगतमा पनि सरकारले बजेटमा धेरै कुरा समाबेश गरे पनि कार्यान्वयनमा समस्या आउने गरेकाले अहिलेको बजेट पनि सकारात्मक तर कार्यान्वयनमा भने चुनौती रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन्। बजेटबारे प्रतिक्रिया दिँदै अप्ठ्यारो अवस्थामा आएको बजेट भएका कारण यत्तिको बजेट सकारात्मक रहेको बताएका हुन्। 

निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि केही सुझावहरु समेटिएका छन्। यो अप्ठ्यारो अवस्थामा बजेट  आएका कारण नराम्रो भन्न नसकिने उनको भनाइ छ।  ‘हामीले जुनबेला सुझाव दिएका थियौं, त्यसबेला यस्तो अवस्था थिएन’ उनले भने, ‘यो सरकार चुनावी सरकार वा विशेष परिस्थितिको सरकार हो, बेलामा धेरै अपेक्षा गर्न सक्ने पनि कुरा भएन, यो बजेट समग्रमा राम्रो छ।’ 

बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा भने उनले आशंका छन्। विगतका बजेटहरुमा पनि राम्रो आए पनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै उनले यस वर्ष पनि फरक नहुने बताए। ‘विगतका वर्षमा देखिँदै आएको समस्या हो कार्यान्वयनको, यो समस्या यस वर्ष पनि यथावतै रहन्छ’ उनले भने ।

त्यस्तै ,नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अप्ठ्यारो परिस्थितिमा आएको बजेट समग्रमा सन्तोषजनक रहेको बताएका छन्। ढकालले केन्द्रबिन्दुसँग प्रतिक्रिया दिंदै उनले निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको बताए।

कोरोना महामारी नियन्त्रणमा तथा स्वास्थ्य क्षेत्रमा बजेट प्राथमिकतामा राख्नुपर्ने थियो त्यहि अनुसार बजेट आएको बताए । उनले भने,‘सरसर्ती हेर्दा राम्रै छ, हामी अझै समग्र बजेट हेरेर संस्थागत धारणा राख्छौं।’

नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई एक महिनाका लागि भिसा फ्रि दिने बजेटमा उल्लेख गरिएको छ। रकम ठूलो नभए पनि यसले राम्रो सन्देश बाहिर जाने उनले बताए। 

त्यस्तै, कर्मचारीलाई १० दिने भ्रमण बिदा, स्टार्टअपका लागि बिउ पूँजी दिने व्यवस्था, संरक्षित क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लगायतका विषयवस्तुहरु राम्रो भएको उनको भनाइ छ। वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘समग्रमा बजेट एकदम व्यापक छ, कार्यान्वयन पनि राम्रो हुनुपर्‍यो।

निजी क्षेत्रको अर्को संगठन नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिडको समयमा चुनावी सरकारले पूर्ण बजेट ल्याउनु सुखद भएको बताएका छन्। 

उनले पूर्ण बजेट आए पनि चुनावी सरकार भएकाले यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। सरकारले कोरोना महामारी नियन्त्रण र यसबाट प्रभावित अर्थतन्त्र र आर्थिक पुनरोत्थानका लागि बजेट ठीक रहेको केन्द्रबिन्दुलाई बताए।

परिसंघले सरकारलाई बुझाएको बजेट सुझाव कार्यान्वयन भएको भन्दै उनले मेड इन नेपाल, मेक इन नेपाल अभियान, स्टार्टअपलाई आयकरमा छुट, उद्योगको लागत घटाउन बजेटले उपयुक्त नीति लिएको पनि बताए। 

त्यस्तै, नेपाल चेम्बर अफ कमर्श अध्यक्ष राजेन्द्र मल्लले काम चलाउ चुनावी सरकारले ‘पपुलिष्ट’ बजेट ल्याएको र कार्यान्वयन गर्न  चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए । उनले निजी क्षेत्रले दिएको सुझावअनुसार नै बजेट आए पनि सरकारको स्थिरतासँग बजेट जोडिने भएकाले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

त्यस्तै उनले सरकारले निजी क्षेत्रबाट महामारीको बीचको कठिन परिस्थितिमा १० खर्बको राजश्व संकलन गर्न लक्ष्य पूरा हुन सक्दैन। उनले भने, कोरोना महामारीका कारण राजश्व दिने उघोग व्यवसाय नै बन्द रहेको अवस्था सरकारले १० अर्ब राजश्व उठाउन सक्दैन।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बजेट सुन्दा बाहिर निस्केर दीपावली गर्न मन लाग्ने गरि खुशी बनाएको बताए। बजेट आफूहरुको अपेक्षा अनुसार नै आएको उनको प्रतिक्रिया छ। 

अध्यक्ष कटुवालले दीपावली मनाउने सबैलाई खुसी बनाउने बजेट आए पनि अहिलेको अवस्था एकदमै कठिन अवस्था रहेको छ। उनले भने, ‘यो बजेटले कोरोना महामारीबाट प्रभावित भएका ठूलादेखि साना तथा मझौला उद्योग व्यवसायहरुमा समेत खुशी बनाएको छ, तर मुख्य कुरा अहिलेको समय र सरकार नै समस्यामा रहेकाले कार्यान्वयन मुख्य पाटो रहेको छ।’

सरकारले विगतका बजेटहरु पनि राम्रै ल्याउने तर कार्यान्वयन गर्नुपर्दा सधैं कमजोर हुने गरेको र भोग्दै आएको उनले बताए । यसपालि भने अझ राजनीतिक घटनाक्रमले कार्यान्वयनमा थप चुनौती थपेको उनको बुझाइ छ। बजेटको राम्रो कार्यान्वयनमा भने अब सरकारले ध्यान दिनुपर्ने उनले बताए।

Logo