विद्युतीय सवारीमा अन्तःशुल्क खारेजसँगै घट्यो गाडीको मूल्य, कुन गाडीको मूल्य कति?

विद्युतीय सवारीमा अन्तःशुल्क खारेजसँगै घट्यो गाडीको मूल्य, कुन गाडीको मूल्य कति?


सरकारले बजेटमार्फत अन्तःशुल्क पूरै र भन्सार घटाएपछि विभिन्न कम्पनीका गाडी बिक्रेताले विद्युतीय गाडीको मूल्य घटाएका छन्। सरकारले बजेटमार्फत विद्युतीय गाडीमा लाग्दै आएको अन्तःशुल्क खारेज भएपछि विद्युतीय गाडी अप्रत्याशित रुपमा सस्तो हुन थालेको छ।

सरकारको यो निर्णयले प्रायः सबै कम्पनीका विद्युतीय गाडीको मूल्य घटेको छ। मूल्य घटेपछि भन्सारमा होल्ड भएका विभिन्न गाडी छुटाउने प्रक्रियासमेत सुरु भइसकेको छ।   

अघिल्लो र चालू आवमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तःशुल्क र भन्सार बढाएका थिए। यसको व्यापक रुपमा विरोधपछि अन्तःशुल्क र भन्सार शुल्क घटाएको थियो। तर पछि घटाए पनि विगत एक वर्षदेखि विद्युतीय गाडीको बिक्री ठप्प जस्तै थियो भने भन्सारमा आएका गाडीसमेत ल्याउन सकेका थिएनन्।

सरकारले बजेटबाट छुटको व्यवस्था गरेसँगै विभिन्न कम्पनिहरुले विद्यतीय गाडीको मूल्य घटाएर नयाँ मूल्य निर्धारण गरेका छन्। बजेटपछि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, एमजी, टाटा, ग्रेटवाल मोटर्स, महिन्द्रा र कियाले आफ्ना विद्युतीय गाडीको नयाँ मूल्य सूची सार्वजनिक गरेका छन्। तर  हुण्डाई र एमजीको गाडी सस्तो हुँदा कियाको निरो ब्राण्डको कार भने ३ लाख महँगिएको छ। 

यसअघि सरकारले अन्तःशुल्क पूरै र भन्सार घटाएपछि नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार र अन्तःशुल्क घटेसँगै नेपालमा विद्युतीय गाडी सस्तो हुने बताएका थिए। त्यस्तै ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले पनि स्वाभाविकरुपमा अन्तःशुल्क र भन्सार छुट भएपछि विद्युतीय गाडीको मूल्य घट्ने बताएका थिए।

अन्तःशुल्क पूरै हटाउने र भन्सार घटाउने नीतिको व्यवसायीले स्वागत गरे पनि नीतिगत स्थिरता नभए विद्युतीय गाडी बिक्रीले गति नलिने उनको भनाइ छ। सरकारले गरेको निर्णय राम्रो छ। तर विद्युतीय गाडीलाई बढावा दिने हो भने नीतिगत स्थिरता चाहिने उनको धारणा छ।

कुन गाडीको मूल्य कति? 

हुण्डाईको गाडी १८ लाख सस्तियो 

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले विद्युतीय सवारी साधनमा लाग्दै आएको करका दर समायोजन गरेको छ। समायोजन गरेसँगै विद्युतीय कार बिक्रेता कम्पनी लक्ष्मी हुण्डाईले सबैभन्दा पहिला नयाँ मूल्य सार्वजनिक गरेको छ। लक्ष्मी हुण्डाईले बजेटअघिको तुलनामा एउटा गाडीमा १८ लाख रुपैयाँसम्म मूल्य घटाएको छ।

हुण्डाईले बिक्री गर्दै आएको विद्युतीय कार ‘कोना’ ७४ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजारमा उपलब्ध हुने कम्पनिले जनाएको छ। यसरी यो गाडीको बजारमूल्य १८ लाख रुपैयाँले घटेको हो। क्रसओभर एसयूभी कोना ईभी १५० किलोवाटको मूल्य भने ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा अन्तःशुल्क बढ्दा यी गाडीको मूल्य १ करोड नाघेको थियो।  

एमजीको एसयूभी इजेडएस ९ लाख सस्तो 

एमजीको चर्चित ब्राण्ड हो एसयूभी इजेडएस कम्पनीले इजेडएसको मूल्य ५९ लाख ९९ हजारबाट ५० लाख ९९ हजारमा झारेको छ।  

आर्थिक वर्ष २०७६/०७७ मा ४९ लाख ९९ हजार मूल्य रहेको यो गाडीको भाउ चालु आर्थिक वर्ष २०७७/०७८ भने ५९ लाख ९९ थियो। तर, जेठ १५ गतेको बजेट भाषणले करका दर समायोजन गरेसँगै ९ लाख रुपैयाँ सस्तो भएको हो। यो गाडीमा पहिले १० प्रतिशत भन्सार लाग्दै आएकोमा जेठ १६ गतेबाटै भन्सारदर भने बढेर १५ प्रतिशत पुगेको छ। 

कियाको ब्राण्ड 
कियाको विद्युतीय गाडी बिक्री गर्दै आएको कन्टिनेन्टल एशोसिएट्सले बजेटपछि निरोको मूल्य सार्वजनिक गरेको छ। निरोको नयाँ मूल्य ६९ लाख ६९ हजार रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ। 

त्यस्तै, कियाको निरो ब्राण्डको गाडी भने ३ लाख रुपैयाँ महँगिएको छ। कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गाडीको मूल्य ३ लाख रुपैयाँ बढाएको हो। यसअघि ६६ लाख ९० हजार रुपैयाँ रहेको निरो कारको मूल्य अब ६९ लाख ९० पर्ने भएको छ। 

बजेटले भन्सारको दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएका कारण गाडी ३ लाख रुपैयाँ महँगो भएको कम्पनीको दाबी छ। 

महिन्द्रा
महिन्द्राको विद्युतीय गाडी बिक्री गर्दै आएको अग्नि इनर्जीले बजेटपछि इटुओ प्लस गाडीको मूल्य घट्ने जनाएको छ। तर यति नै घट्ने भन्ने सार्वजनिक गरेको छैन।

टेस्ला मोडल
टेस्ला गाडी भित्र्याउँदै आएको अरिती इन्टरनेशनलले टेस्ला गाडीको मूल्य घटाएको छ। करिब एक वर्ष अगाडि यो कम्पनिले ३ सिरिजको गाडी नेपाल भित्र्याएर बिक्री सुरु गरेको थियो ।

कम्पनिका अनुसार यस अघि एक करोड २५ लाख रुपैयाँमा बिक्री गर्दै आएको टेस्ला मोडल ३ को बजार मूल्य करिब ९० लाख रुपैयाँमा पाइने भएको छ। करिब एक वर्षभित्र कम्पनिले १५ थान गाडी बिक्री गरिसकेको छ।

टाटा
टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा टिगोर ल्याउने भएको छ। कम्पनिले दुई वर्ष अगाडि नाडा अटो शोमा विद्युतीय गाडी ‘टाटा टिगोर’ प्रदर्शनीमा राखेको थियो। मुलुकमा विद्युतीय गाडीलाई पुनः बढावा दिइने भएपछि कम्पनिले छिट्टै इभी सेगमेन्टका टिगोर र नेक्सन भित्र्याउने योजना रहेको कम्पनिले जनाएको छ।

ग्रेटवाल मोटर्स
चिनियाँ कम्पनि ग्रेटवाल मोटर्सको विद्युतीय गाडी पनि नेपाल ल्याउने तयारी भएको छ। एकपटक फूल चार्ज गरेपछि साढे तीन सय किलोमिटर चल्ने यो गाडी सानो छ। भिजी इम्पेक्सले नेपाली बजारमा ल्याउन लागेको यो गाडी बजेटपछि मूल्य २० लाख रुपैयाँको हाराहारीमा आउने छ।

डेरी ब्रान्ड
नेपाली बजारमा उपलब्ध डेरी ब्रान्डको इलेक्ट्रिक कारको नयाँ मूल्य सूची सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक अटो होस्ट प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य सूची अनुसार डेरी ईभी ७ को मूल्य १९ लाख ५० हजार र ईएम ७ को मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। यो भन्दा पहिले यी दुई गाडीको मूल्य क्रमशः २५ लाख ९९ हजार र २६ लाख ५० हजार रुपैयाँ थियो।

नयाँ बजेटमार्फत इलेक्ट्रिक गाडीको कर र अन्तःशुल्क घटाएपछि यी गाडीको मूल्य घटेको हो। 

यस्तो छ बजेटले गरेको व्यवस्थाः  

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत १ सय किलोवाट क्षमताको मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ। १०१ देखि २ सय किलोवाट सम्मको मोटरजडित कारमा १५ प्रतिशत, २०१ देखि ३ सय किलोवाटसम्मका कारमा ३० प्रतिशत र ३०१ किलोवाटभन्दा माथिका कारमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ।  

विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क खारेज भएको छ । बजेट साउन १ देखि लागू हुने भएपनि बजेटले व्यवस्था गरेको कर तथा राजश्वको दर भने जेठ १६ बाटै लागू हुने भएकाले विद्युतीय सवारीका बिक्रताले नयाँ मूल्य सार्वजनिक गरेका छन्।

देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने तयारी 

सरकारले आगामी आर्थिक वर्षभित्र विद्युतीय गाडी चार्जिङ गर्ने देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। सरकारले आगामी वर्षको बजेटमा नै नीति बनाएर चार्जिङ स्टेशन बनाउने तयारी गरेको हो। विश्वका ठूला विद्युतीय कार उत्पादकलाई नेपाल ल्याउन पहल गर्ने, सहायक उद्योग संचालन गर्नेलाई कर सहुलियत र निःशुल्क जमिन प्रदान गर्ने भनिएको छ। 

भन्सारमा रोकिएका विद्युतीय गाडी धमाधम नेपाल भित्रिदै

चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा अत्याधिक कर बढाएका थिए। खतिवडाले भन्सार बढाएपछि बजेट अघि भन्सार पारी आएर  रोकिएका सवारी साधन अन्ततः धमाधम नेपाल भित्रिन थालेका छन्।

सरकारले आगामी वर्षको बजेटमार्फत विद्युतीय सवारी भन्सार शुल्कका साथै अन्तःशुल्क खारेज गरेपछि एक वर्षदेखि रोकिएका गाडी नेपाल ल्याउन थालिएको छ। 

गत वर्ष बजेट अघि भन्सार आएका कियाका विद्युतीय सवारी साधनको भन्सार पास हुन सकेको थिएन। त्यसबेला भन्सार तिरेर ल्याउँदा गाडी बेच्नै नसक्ने देखिएपछि आयातकर्ताले डिटेन्सन तिरेर वीरगन्ज सुक्खा बन्दरगाहमै राखेका थिए।

Logo