अर्थ संसार गण्डकी

पोखरामा खाद्यबैंक संचालन, ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔं’

15 Shares

कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्ने लायन्स क्लब अफ अभियानद्वारा सुरु गरिएको ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन्।

विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चनालगायत सामाग्री छन्। अहिलेको विषम परिस्थितिले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवालगायतलाई लक्षित गरी अभियान सुरु गरिएको अभियानका संस्थापक अध्यक्ष विनोद ढुङ्गानाले जानकारी दिए। “हामीले जेठ १६ गतेदेखि अभियानमा सुरु गरेका हौँ, शनिबार सेवा बन्द रहन्छ, अहिलेसम्म एक हजार ११५ जनाले सेवा लिनुभएको छ”, उनले भने।

उनका अनुसार क्लबले राहत कोषमार्फत सङ्कलित रकमबाट सुरुमा २० हजारबाट सो अभियान सुरु गरेको हो। अहिले लायन्स क्लबका सदस्य एवम् गैरसदस्यले स्वतस्फूर्त सहयोग गर्दै आएका छन्। हालसम्म करीब रु चार लाखको राहत सामग्री वितरण भइसकेको उनले जानकारी दिए।  

बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गरिएको सो अभियानमा  दैनिक १३० देखिमाथि १६५ सम्म खाद्य सामग्री लिन आउने गरेको अभियान कार्यक्रमका संयोजक मातृका पोखरेलले जानकारी दिए। “हामी नाम टिपाउँछौँ, सकेसम्म दिनदिनका लागि भनेर सामान लैजान भन्छौँ, उहाँहरु आफ्नो परिवारको सदस्य सङ्ख्या र आवश्यक खाद्य सामग्री लिएर जाने  गर्नुहुन्छ”, उनले भने । त्यसरी आउने केही व्यक्ति दैनिक दोहोरिने गरेको उनको भनाइ छ। पोखरेलका अनुसार यो अभियानलाई निरन्तर रुपमा निषेधाज्ञा जारी रहेसम्म पुनः सञ्चालन गरिने छ।रासस

प्रकाशित: २४ जेष्ठ २०७८ १६:४२ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी