सरकारले चुरेबाट एक डोको पनि गिट्टी-बालुवा उठाउँदैनः अर्थमन्त्री पौडेल

सरकारले चुरेबाट एक डोको पनि गिट्टी-बालुवा उठाउँदैनः अर्थमन्त्री पौडेल


उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणमा सरकार प्रतिबद्ध भएको भन्दै चुरेबाट एक डोको गिट्टी बालुवा पनि नउठाउने बताएका छन्।

पौडेलले चुरेका विषयमा दुष्प्रचार गरिएको बताए । बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको उनको आरोप छ। ‘चुरे दोहनका पुराना ‘क्ल्प्सि’ (भिडियो)हरु ल्याएर अनावश्यक दुष्प्रचार भयो’, अर्थमन्त्री पौडेलले भने।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्तक्र्रियामा बोल्दै उनले भने, ‘चुरे संरक्षणमा सरकार प्रतिबद्ध छ, चुरेबाट एक डोको गिटी बालुवा पनि उठ्दैनन् ।’

उनले पटक पटक सरकार वातावरण संरक्षणमा प्रतिबद्ध रहेको बताए। ‘म स्पष्ट पार्न चाहन्छु सरकार वातावरण संरक्षणमा प्रतिबद्ध छ ।’, उनले भने।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरि व्यापारघाटा न्यूनीकरण गर्ने निर्णय गरेको छ।

सरकारको यो निर्णयले तराई मरुभूमिमा परिणत हुने भन्दै चौतर्फी विरोध भइरहेको छ।

विरोधीहरुले असंबैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापारघाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्न लागेको आरोप लगाएका छन्।

सरकारको यो नीति र निर्णय कार्यान्वयन भए तराई मधेस क्षेत्रमा ठूलो प्राकृतिक संकट आउने र निर्णय राष्ट्रघाती भएको उनीहरुको ठहर छ।

उनीहरुले प्राकृतिक सम्पदा र खानीजन्य पदार्थ तस्कर र माफियाको हातमा सुम्पेर देशको वातावरणीय विनाश गर्ने योजनाका साथ सरकारले यस्तो निर्णय गरेकोसमेत आरोप लगाइरहेका छन्।

अर्कातिर केही विज्ञ लगायत सरोकारवालाहरुले ढुङ्गा, बालुवा र गिट्टी निर्यात नेपालको आर्थिक उन्नतिको प्रस्थान विन्दु हुने तर्क राख्दै आएका छन्।

नेपालको ढुङ्गा, बालुवा र गिट्टी खानी सञ्चालन गर्दा यस अवधारणाको उपयोग गर्न सकिने बताउँदै विज्ञहरु प्राकृतिक स्रोतको उपयोगबिना आर्थिक विकास सम्भव नहुने तर्क गर्छन्।

विज्ञहरु वातावरणमा हुने प्रभाव न्युनिकरण गर्दै तिनको उपयोग गर्न सकिने बताउँछन्।

Logo