यसवर्षको मनसुन भित्रियो, विपद् व्यवस्थापनमा कस्तो हुनु पर्छ सरकारको तयारी?

यसवर्षको मनसुन भित्रियो, विपद् व्यवस्थापनमा कस्तो हुनु पर्छ सरकारको तयारी?


बाढी, पहिरो र डुवान नेपालको कुनै एक ठाँउको मात्र समस्या होइन। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म वा नेपाल हिन्दुकुस पर्वत श्रृंखलाको मध्यभागमा भएका कारण पनि बाढी पहिरो बढी जाने विज्ञहरु बताउँछन्। 

गएको वर्ष पनि सिन्धुपाल्चोक, म्याग्दी, बाग्लुङ, बझाङ, जाजरकोट, संखुवासभा लगायत मुलकुभर बाढी र पहिरोले सयौंको ज्यान गयो, हजारौं विस्तापित भए, अरबौंको पूर्वाधारमा क्षति भयो। घर पहिरोले पुरियो तर प्रभावकारी उद्धार र राहत एवं पुनस्र्थापन हुन अझै सकेको छैन।

यसबर्ष पनि मनसुन सुरु भइसकेको छ, विज्ञहरु अहिले देखि नै सतर्क रहनुपर्ने सुझाव दिदैछन् तर, सरकारले अहिलेसम्म ठोस योजनासहितको कार्यक्रम ल्याउन सकेको छैन।

यस वर्ष पनि बाढी, पहिरो र ढुवानले क्षति पुर्याउने लगभग निश्चित छ। मनसुन सुरु भइसक्दा गतवर्षको पहिरोको वितण्डा सबैलाई झलझली सम्झना आइरहेको छ। आकाश हेरेर रात काट्न मानिस बाध्य छन् भने पीडितले अहिलेसम्म समुचित राहत पाउन सकेका छैनन्। 

हरेक वर्षको मनसुनमा दोहोरिइरहने यो उपक्रमबारे विज्ञहरुले गम्भीरतापूर्वक अध्ययन अनुसन्धान गर्न सुझाएका छन्। 

पहिरोविज्ञ कृष्ण देवकोटा किन जन-धनको क्षती हुन्छ र बाढी पहिरो किन बढी जान्छ भन्ने विषयमा चाहिँ गहन अध्ययन हुन जरुरी रहेको बताउँछन् ।

भूगर्वविद्समेत रहेका देवकोटा नेपालका पहाडहरु अहिले पनि पहाड बन्ने क्रममै रहेकोले पनि कमजोर रहेको र बर्षात हुना साथ यसले आफ्नो ठाउँ छोड्ने बताए।

डाक्टर देवकोटाका अनुसार बाढी, पहिरो र डुवान बढ्नुको मुख्य कारण तीनै तहका सरकारहरुले गर्ने विकास, ग्रामिण सडकमा डोजर आतंक नै प्रमुख कारण रहेको छ। 

उनले भने, ‘पछिल्लो समय विकास निर्माणका नाममा डोजर आतंक बढेको छ, चुनावमा भोट बटुल्न भएपनि पनि टुक्रे योजनाका लागि बजेट विनियोजन गरिदिने, इन्जिनियरिङबिनाको उक्त योजनाले पछिल्लो समय पहाड झनै कमजोर भएको छ।’ 

नेताहरुले दीर्घकालीन सोच नबनाई जनतालाई भोट फकाउन मात्र गरिएको विकास निर्माणले विनास निम्त्याउने उनले बताए। त्यसो त अन्य पहिरो विज्ञहरु पनि नेपाली पहाडहरु कमजोर रहेको बताएका छन्। उनीहरुका अनुसार नेपालका पहाडी भूभाग हिन्दुकुस हिमशृंखलाको मध्यभागमा रहेको कारण पनि पहाड कमजोर रहेको हो।

नेपालमा पछिल्लो समय भएका विभिन्न अध्ययनमा पनि चुरे पहाडहरु पहाड बन्ने प्रक्रियामा रहेको उल्लेख छन्। यीनै कमजोर पहाडमा बस्ती भएका कारण र जमिनको वैज्ञानिक उपयोग कम भएका कारण पनि पहिरो जाने विज्ञहरुको दावी छ।

भूगर्भविद् डाक्टर देबकोटाले सरकारले भौगर्भिक अध्ययन गर्नु पर्ने र मुलुकभर नै भू-उपयोग नीति ल्याउनु पर्ने बताए। विकास निर्माणको काम गर्दा खोला, नदीनाला र पहाडको भित्रि संरचनालाई असर नपर्ने गरि गर्नुपर्ने उनको सुझाव छ।

पहिरोजस्ता प्राकृतिक प्रकोपबाट बच्न स्वयं नागरिक पनि बढी चनाखो हुनुपर्छ। सरकार र सरकारी संयन्त्रले जारी गरेको सूचना र जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान हेर्ने, सुन्ने र आफू जोखिमयुक्त ठाउँमा छु भन्ने लाग्यो भने केहि दिनका लागि सुरक्षित स्थानमा सर्नु पर्दछ।

भूगर्वविद् डाक्टर देवकोटा चाहिं नागरिकभन्दा बढी सरकार जिम्मेवार बन्नु पर्ने तर्क राख्छन्। उनले सरकारले जोखिम न्यूनिकरण गर्न काम गरेको भए पनि प्रभावकारी र दीर्घकालीन योजनासहित काम नभएको दावी गरे।

जलश्रोत, उर्जा तथा सिचाई मन्त्रालयले बाढी र पहिरो नियन्त्रण गर्ने सवालमा मोटो रकम खर्च गरेको छ। तर, उच्च, मध्यम र न्यून जोखिम भनेर बर्गिकरण नगरि अर्थात पर्याप्त अध्ययन नगरि रकम खर्च गरेका कारण प्रतिफल कमजोर भएको देवकोटाको तर्क छ।

नेपालमा पछिल्लो समय वाढी नियन्त्रण र पूर्वसूचनाका क्षेत्रमा केहि राम्रो उपलब्धि हात लागेको छ तर पहिरोको विषय कठिन भएर नै होला अध्ययन भएको पाइएको छैन। तर, सरकारले अध्ययन गरेर त्यसअनुरुप काम गर्ने हो भने पहिरोमा हुने मानवीय र भौतिक क्षती कम गर्न सकिने देवकोटाको भनाइ छ।

सबैखाले विपदको हल खोज्न सर्बप्रथम स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्नुपर्ने र बैज्ञानिक भू-उपयोग नीति आवश्यक भएको विज्ञहरुको भनाइ छ।

नेपालमा मनसुन सुरु हुना साथ पहिरो जाने र साना-ठूला खोल्सा, खोला र ठूला नदीहरुमा पानीको बहाव बढेसँगै जमिन कटानी सुरु हुन्छ र ठूलो प्राकृतिक विपद सिर्जना हुन्छ। 

अझै पनि हिजोका घटनाबाट पाठ सिकेर जोखिमपूर्ण वस्ती समयमै स्थानान्तर गर्ने हो भने अहिलेका विपदबाट हुने मानवीय एवं भौतिक क्षति उल्लेख्यरुपमा कम गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर हुन जरुरी भएको विज्ञहरुको सुझाव छ ।

Logo