वाणिज्य बैंकहरुले सार्वजनिक गरे निक्षेपको ब्याजदर, कुन बैंकको कति?

वाणिज्य बैंकहरुले सार्वजनिक गरे निक्षेपको ब्याजदर, कुन बैंकको कति?


नेपालमा हालसम्म सञ्चालित २७ वाणिज्य बैंकमध्ये २४ बैंकले असार महिनाका लागि निक्षेप र मुद्दती (निक्षेप)को ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ ब्याजदर यही असार १ देखि लागू भएको छ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निक्षेपको ब्याजदर मासिक रूपमा परिवर्तन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार बैंकहरूले अर्को महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदर अर्को महिना सुरु हुनुपूर्व सार्वजनिक गरिसक्नुपर्ने हुन्छ। त्यसअनुसार बैंकहरूले हरेक महिनाको मसान्तमा आगामी महिना लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ। अहिलेसम्म २३ वाणिज्य बैंकहरूले त्यस्तो ब्याजदर सार्वजनिक गरेका छन्। 

केही बैंकले निक्षेप बचत खातामा दिँदै आएको न्युनतम ब्याजदर बढाएका छन् भने अधिकतम सीमालाई यथावत राखेका छन्। त्यस्तै मुद्दती खातामा पनि ब्याजदर स्थिरप्रायः रहेको छ।

निषेधाज्ञा अवधिमा वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको छ। तरलता अभाव हुन नदिनका लागि भए पनि  बैंकहरुले निक्षेपकर्ताका लागि  ब्याजदर बढाएका छन्। अधिकांश बैंकले बचतमा २ देखि ५ प्रतिशतभित्र रहेर ब्याजदर सार्वजनिक गरेका छन् भने मुद्दती निक्षेपमा पनि ब्याजदर ८ प्रतिशतसम्म निर्धारण गरेका छन्।

कुन बैंकको ब्याजदर कति? 
नबिल बैंक
नबिल बैंकले असार १ देखि लागू गरेर बचतमा न्युनतम २.५१ प्रतिशत देखि अधिकतम ४.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ७.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, तीन महिनाको मुद्दतीको ब्याजदर ५.०१ प्रतिशत निर्धारण गरेको छ। यता, बैंकको वैशाख मसान्तसम्म बेस रेट ५.८४ प्रतिशत रहेको छ। यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्युनतम ८.४९ प्रतिशत  देखि ११.५० प्रतिशत सम्म ब्याजदर तोकेको छ।

एनएमबी बैंक
एनएमबी बैंकले पनि असार १ देखि लागू गरेर बचतको न्यूनतम ब्याजदर ३.६०प्रतिशत  र अधिकतम ५.६०प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.८० प्रतिशत र न्युनतम ६.५० प्रतिशत  निर्धारण गरेको छ। चैत मसान्तसम्मको आधारदर ७.१९ प्रतिशत रहेको थियो। यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले पनि बचतको ब्याज २.५५ प्रतिशत  तोकेको छ भने व्यक्तिगत मुद्दतीमा अधिकतम ७.५०प्रतिशत  ब्याजदर निर्धारण गरेको छ। यता, बैंकको वैशाख मसान्तसम्मको आधारदर ७.५६ प्रतिशत रहेको छ। यसमा न्युनतम १.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ। 

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले पनि असार १ देखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसअनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशतदेखि ७.२५ प्रतिशत  र संस्थागत मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। 

बैंकले बचत खातातर्फ न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। त्यस्तै बैंकले चैत महिनाको आधारदर ५.५० प्रतिशत  अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ। बैंकले यसमा एक प्रतिशतदेखि तीन प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बताएको छ। स्थिर कर्जाका लागि नौ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ। 

प्रभु बैंक
प्रभु बैंकले पनि बचत खातामा न्युनतम दुई प्रतिशतदेखि अधिकतम चार प्रतिशत सम्म ब्याजदर तोकेको छ। मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ५.५० प्रतिशत र अधिकतम सात प्रतिशतसम्म ब्याजदर पाउने भएको छ। बैंकको चैतसम्मको आधार दर ७.०६ प्रतिशत छ। यसमा पाँच प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिने भएको छ। त्यस्तै  स्थिर ब्याजदरका लागि न्युनतम ९.९९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। 

कुमारी बैंक
कुमारी बैंकले पनि बचत खातामा न्युनतम दुई प्रतिशतदेखि अधिकतम चार प्रतिशत ब्याजदर तोकेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

त्यस्तै, कर्जातर्फ विभिन्न प्रकारका ऋणमा आधारदरमा अधिकतम सात प्रतिशतसम्म प्रिमियम तोकेको छ। बैंकको वैशाख महिनामा आधारदर ७.६३ प्रतिशत  रहेको थियोे। बैंकले न्युनतम १०.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म स्थिर कर्जा दिने जनाएको छ। 

सेन्चुरी कमर्सियल बैंक
सेन्चुरी कमर्सियल बैंकले पनि बचतको न्युनतम ब्याज तीन प्रतिशत  र अधिकतम पाँच प्रतिशत निर्धारण गरेको छ। त्यस्तै, व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज आठ प्रतिशत  कायम गरेको छ।यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो। बैंकको वैशाख मसान्तसम्मको आधारदर ७.५३ प्रतिशत  रहेको थियो। यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकले जनाएको छ। स्थिर कर्जाको लागि ११.४९ प्रतिशतदेखि १२.९९ प्रतिशत ब्याज निर्धारण गरेको बैंकले जनाएको छ। 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्युनतम ब्याज २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ। व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ। वैशाख मसान्तसम्म बैंकको आधारदर ५.९८ प्रतिशत रहेको थियोे। यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिने भएको छ।

हिमालयन बैंक
हिमालयन बैंकले पनि  बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत  र अधिकतम ४.५० प्रतिशत  निर्धारण गरेको छ। 

त्यस्तै व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ४.७५  प्रतिशत र अधिकतम ब्याजदर ७.७५ प्रतिशत  निर्धारण गरेको छ। बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५% रहेको थियो। यसमा अधिकतम ५ प्रतिशत  सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । 

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६ प्रतिशत  र अधिकतम ४.५० निर्धारण गरेको छ। व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत  र न्यूनतम ७.७६ प्रतिशत  निर्धारण गरेको छ। 

चैत मसान्तसम्मको आधारदर ७.१४ प्रतिशत  रहेको थियो। यसमा अधिकतम ६.९९ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। स्थिर कर्जाका लागि बैंकले न्युनतम १० प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्युनतम ब्याजदर २.५० प्रतिशत र अधिकतम ५ प्रतिशत निर्धारण गरेको छ। व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८ प्रतिशत र न्यूनतम ७ प्रतिशत  निर्धारण गरेको छ। बैंकको चैत मसान्तसम्मको अधारदर ७.४ प्रतिशत रहेको थियो। यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्युनतम ब्याज ३.१० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ। व्यक्तिगत मुद्दतीको ब्याज ७.५१प्रतिशत  निर्धारण गरेको छ। बैंकको चैत मसान्तसम्म आधारदर ७.०९ प्रतिशत रहेको थियोे। यसमा  ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ। बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम ९.८९ प्रतिशतदेखि अधिकतम १२.२४ प्रतिशत  ब्याजदर निर्धारण गरेको छ। 

सनराइज बैंक
सनराइज बैंकले बचतमा न्युनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। त्यस्तै, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत  ब्याज निर्धारण गरेको छ। वैशाख मसान्तसम्मको बैंकको आधारदर ६.८८ प्रतिशत  रहेको थियो। यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ। बैंकले स्थिर ब्याजदरका लागि न्युनतम १०.५० प्रतिशतदेखि अधिकतम १२.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचतमा न्युनतम २.५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर निर्धारण  गरेको छ। बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ६.५प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिने भएको छ। यसको आधारदर ६.७५ प्रतिशत रहेको छ। बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ। 

बैंक अफ काठमान्डू
बैंक अफ काठमान्डूले बचतको न्युनतम ब्याज २.५० प्रतिशत  र अधिकतम चार प्रतिशत निर्धारण गरेको छ।  त्यस्तै व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज सात  प्रतिशत कायम गरेको छ। बैंकको वैशाख मसान्तसम्मको आधार दर ७.०४ प्रतिशत रहेको छ। 

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत  र अधिकतम ४ प्रतिशत निर्धारण गरेको छ। त्यस्तै, व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७५ प्रतिशत  र न्युनतम ७.२५ प्रतिशत  निर्धारण गरेको छ। बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९ प्रतिशत रहेको थियो। 

लक्ष्मी बैंक 
लक्ष्मी बैंकले बचतमा न्युनतम साढे दुई प्रतिशत ब्याजदर कायम राखेको छ भने बचतमा अधिकतम साढे ५ प्रतिशतसम्म तोकेको छ। त्यस्तै मुद्दतीमा ६ महिनासम्म व्यक्तिलाई ७ तथा संस्थालाई साढे ६ प्रतिशत तोकिएको छ। ६ महिनामाथिको बचतमा संस्था र व्यक्ति दुवैलाई ७ प्रतिशत तोकेको छ। 

नेपाल बैंक 
नेपाल बैंकको पनि बचतमा न्युनतम साढे २ तथा अधिकतम खाताका प्रकारअनुसार ४ प्रतिशतसम्म छ। मुद्दतीमा बैंकले तीन महिनासम्मको लागि व्यक्ति र संस्था दुबैलाई साढे ५ तथा तीन महिनाभन्दा माथिको मुद्दतीमा ६ प्रतिशत ब्याजदर तोकेको छ। त्यस्तै ६ महिनाभन्दा बढी अवधिका लागि व्यक्ति र संस्था दुवैलाई ७ प्रतिशत ब्याजदर तोकेको छ। 

सिटिजन्स बैंक 
सिटिजन्स बैंकले बचत खातामा न्युनतम २.५५ प्रतिशत तथा अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिने गरी नयाँ सूची निकालेको छ। बैंकले मुद्दतीमा संस्था र व्यक्ति दुवैतर्फ ७.५५ प्रतिशतसम्म तोकेको छ।  

एनआइसी एसिया बैंक 
एनआइसी एसिया बैंकले बचतमा न्युनतम २.५६ प्रतिशत निर्धारण गरेको  छ। ३ महिना र सोभन्दा माथिको व्यक्तिगत तथा संस्थागतलाई ७.५६ प्रतिशत ब्याजदर तोकिएको छ। 

सिभिल बैंक 
सिभिल बैंकले बचतमा न्युनतम ३.५५ प्रतिशतदेखि ५.५५ प्रतिशतसम्म तोकेको छ। व्यक्तिगततर्फको मुद्दतीमा पनि बैंकले दिने ब्याजदर तुलनात्मक रुपमा अन्यकोभन्दा बढी छ।

एक देखि दुई वर्षसम्मको अवधिका लागि व्यक्तिगत मुद्दती खातालाई ८ प्रतिशत तथा २ वर्षमाथिको अवधिका लागि ८.५५ प्रतिशत तोकेको छ। त्यस्तै संस्थागततर्फ तीन महिनाका लागि ७.१५ प्रतिशत, ६ महिनादेखि एक वर्षसम्मका लागि ७.५१ तथा एक वर्षमाथिको लागि ७.७५ प्रतिशत तोकेको छ। 

मेगा बैंक 
मेगा बैंकले बचतमा न्युनतम २.२५ देखि अधिकतम साढे ३ प्रतिशतसम्म तोकेको छ। त्यस्तै व्यक्तिगत र संस्थागत दुवैमा मुद्दतीमा ७.२५ प्रतिशत तोकेको छ। 

सानिमा बैंक 
सानिमा बैंकले बचतमा न्यूनतम २.०५ प्रतिशतदेखि ४.०५ प्रतिशतसम्म दिने गरेको छ। मुद्दतीमा बैंकले व्यक्तिगततर्फ तीन महिनाको लागि ५.०५ प्रतिशत तथा ६ महिनाभन्दा माथिको लागि व्यक्ति र संस्था दुवैलाई ६.५५ प्रतिशत निर्धारण गरेको छ। 

ग्लोबल आइएमई बैंक 
ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम ३.०१ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। मुद्दतीमा बैंकले व्यक्तिगततर्फ ३ महिनाको लागि ७ प्रतिशत तथा ६ महिनाभन्दा माथिको लागि व्यक्ति र संस्था दुवैलाई ७.५० प्रतिशत निर्धारण गरेको छ। त्यस्तै एक वर्षभन्दा बढी अवधिका लागि ८.०१ प्रतिशत तोकेको छ।

Logo