सुन्दर यातायातले अब नेपालमै विद्युतीय गाडीको एसेम्बल गर्ने, साउनभित्रै उद्घाटन गर्ने तयारी

सुन्दर यातायातले अब नेपालमै विद्युतीय गाडीको एसेम्बल गर्ने, साउनभित्रै उद्घाटन गर्ने तयारी


पछिल्लो समय हरेक क्षेत्रमा नयाँ प्रविधि भित्रने क्रम बढ्न थालेको छ। डिजेल तथा पेट्रोलले मात्रै चल्ने नेपालमा अहिले विद्युतीय गाडी पनि चल्न थालेका छन्। निजी सवारी मात्रै नभएर सुन्दर यातायातले करिव दुई वर्षदेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालन गर्दै आएको छ।

नेपालमा अहिलेसम्म मोटरसाइकलको मात्रै एसेम्बल हुँदै आएको छ। तर मोटरसाइकलमा पनि जति अपेक्षा गरिएको थियो, त्यो अनुसार सफलता पाउन भने सकिएको छैन। अब नेपालमा विद्युतीय गाडीकोसमेत एसेम्बल हुने भएको छ।

एसेम्बल प्लान्ट निर्माणका लागि पहिलो चरणको काम जग्गा प्राप्ती टुंगो लागेर सम्झौतासमेत भएको सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले जानकारी दिए। उनका अनुसार सुन्दर यातायाताले यसअघि नै एसेम्बल निर्माणका लागि सैनामैना नगरपालिका र सुन्दर यातायातबीच सम्झौता भइसकेको छ। बिजुली गाडीको एसेम्बल प्लान्ट रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ८ र ९ को नदी उकास जग्गामा स्थापना गर्ने भएको छ।

जग्गा प्राप्ति लगायतका अन्य सबै प्रक्रिया अघि बढेको र साउन महिनाको पहिलो साताभित्रै एसेम्बल प्लान्टको निर्माणको शिलान्यास गर्ने तयारीमा सुन्दर यातायात लागेको सञ्चालक थापाले बताए।

उनले भने,‘कोरोना महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि तीन महिना निषेधाज्ञा लागू भएकाले समयमा नै शिलान्यास गर्ने काम रोकियो। अब तत्कालै गरिहाल्न पनि निषेधाज्ञा जारी छ। यस्तो बेलामा प्रमुख अथितिसहित धेरै मानिसहरु जम्मा गरेर कार्यक्रम गर्ने वातावरण नभएकाले भर्चुअल माध्यमबाट शिलान्यास गर्ने की भन्ने तयारीमा छौं।’

यो एसेम्बल प्लान्ट चाडै शिलान्यास गरेर निर्माणको काम अघि बढाउन निषेधाज्ञाले बाधा पुर्याएको छ। कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ। जसमध्ये एसेम्बल प्लान्ट पनि हो। यो जस्तै विभिन्न बहुराष्ट्रिय आयोजनाहरुमा समेत बाधा पुगेको छ। यसले गर्दा रोजगारीका अवसरहरु समेत गुम्दै गएको सञ्चालक थापाको भनाइ छ।

निषेधाज्ञा पूर्णरुपमा हटेर प्लान्ट निर्माणको शिलान्यास भए निर्माण सुरु भएको ६ महिनाभित्रै एसेम्बल प्लान्ट निर्माण गरि सक्ने कम्पनीहरुको लक्ष्य रहेको थापा बताउँछन्। 

सुन्दर यातायात एसेम्बल प्लान्ट निर्माणको पहिलो चरणमा ३ अर्ब ६० करोड लगानी गर्ने तयारीमा छ। प्लान्ट निर्माणका लागि यातायातले सैनामैनाको भडसी, भडसा र शंकरपुरको १० बिघा जग्गामा एसेम्बल प्लान्ट राख्ने भएको छ। २५ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ। जग्गाको सुन्दर यातायातले वार्षिक ६ लाख रुपैयाँ तथा नाफाको १ प्रतिशत नगरपालिकालाई दिने र वर्षमा नगरपालिकाभित्रका एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङ पढाइदिने पनि सहमति भएको कम्पनीले जनाएको छ।

सुन्दर यातायातले नै नेपालमा सबैभन्दा पहिलो विद्युतीय सार्वजनिक यातायात सञ्चालनमा ल्याएको थियो । अहिले काठमाडौं उपत्यकाको चक्रपथमा दुईवटा विद्युतीय सार्वजनिक यातायात सञ्चालन गरिरहेको छ। 

सार्वजनिक यातायातका रुपमा विद्युतीय गाडी चलाउँदै आएको सुन्दर यातायातले नै रुपन्देहीमा विद्युतीय गाडीको एसेम्बल स्थापना गर्न लागेको हो। यसका लागि चीनबाट पार्टपूर्जा ल्याउने यातायातले जनाएको छ। यसरी विदेशबाट विद्युतीय सवारीको पाटपूर्जा ल्याएर नेपालमा नै एसेम्बल सञ्चालन गर्दा नेपालमा रोजगारीको सिर्जना हुनुका साथै विदेशबाट आयात गर्ने विद्युतीय सवारीको तुलनामा एउटा गाडीमा २० देखि २२ लाख सस्तो पर्ने कम्पनीको दाबी छ। त्यस्तै, नेपालमा नै विद्युतीय गाडीको प्लान्ट बनेपछि अन्य सबै खालका विद्युतीय सवारीको एसेम्बल गर्न पनि सकिने सञ्चालक थापाको भनाइ छ।

विद्युतीय सवारी एसेम्बल प्लान्ट निर्माणका लागि सुन्दर यातायातले पहिलो चरणमा ३ अर्ब ६० करोड लगानी गर्ने जनाएको छ। प्लान्ट निर्माणमा ४९ प्रतिशत शेयर लगानी सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको रहनेछ। कम्पनीको प्लान्ट स्थापना भएको पहिलो वर्ष ३ सय गाडी बनाउने लक्ष्य छ। 

त्यसपछि हरेक वर्ष १ हजार गाडी उत्पादन गर्ने लक्ष्य सुन्दर यातायातले लिएको छ। सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत विद्युतीय सवारी साधनको प्रयोग बढाउन ठोस कार्ययोजना बाहिर ल्याएको छ। बजेटमा इलेक्ट्रीक सवारी साधनको प्रयोग बढाउन आवश्यक पूर्वाधार निर्माणदेखि नेपालमा नै विद्युतीय गाडीको उत्पादनलाई जोड दिइएको छ।

विसं.२०८८ सम्ममा विद्युतीय सवारीसाधन विक्री गर्ने वातावरण निर्माण गर्ने योजना सरकारको छ। नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन पुराना पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा छुटको व्यवस्था लगायतका विषय बजेटमा उल्लेख छ।

Logo