मेगा बैंक १२ वर्षमा प्रवेश: सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंक

मेगा बैंक १२ वर्षमा प्रवेश: सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंक


मेगा बैंक नेपाल आज ११ बर्ष पूरा गरि १२ वर्षमा प्रवेश गरेको छ। ११ वर्षको अवधिमा मेगा बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रुपमा स्थापित बन्न पुगेको छ।

त्यस्तै, बैंकले ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि समेत पाँच बर्षे रणनीतिक योजना तयार पारेको छ । बैंकका अध्यक्ष भोजबहादुर शाहले ५ वर्षका लागि रणनीतिक योजना तयार पारेको जानकारी दिएका हुन् ।

मेगा बैंकका अध्यक्ष शाहले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्न लागेको जानकारी दिए।

त्यस्तै मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले संस्थापक, शेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औं बार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन्।

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको सिइओ खुञ्जेलीले बताइन्। ‘कोभिड–१९ को विद्यमान अवस्थालाई मध्यनजर गरि डिजिटल बैंकिङ र डिजिटाइजेशनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसै अनुरुप ग्राहकहरुलाई लक्षित गर्ने योजना बनाएका छौं’–सिइओ खुञ्जेलीले भनिन्। 

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको ११ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्तापुँजीका हिसाबले छैटौं स्थानमा रहेको छ। 

२०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ । मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आउने बैंकले जनाएको छ। 

वार्षिकोत्सवको अवसरमा बैंकले सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई १२ लाख सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंयाँ सहयोग गरेको हो। 

Logo