बुद्ध एयरद्वारा पोखरा-नेपालगञ्ज सिधा उडान सुरु हुँदै

बुद्ध एयरद्वारा पोखरा-नेपालगञ्ज सिधा उडान सुरु हुँदै


निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ।

काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान भर्न लागेको हो। शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछ । केही समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने योजना बनाएको छ।

पर्यटकीय क्षेत्र पोखराबाट नेपालगञ्ज उडानले दुबै शहरका जनता लाभान्वित हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए। उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतर्फ पनि पर्यटकीय गतिविधि बढ्ने विश्वास छ। नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा आसपासका रहेका तालतलाउ तथा हिमाल श्रृङ्खलाको आनन्द लिन सक्छन्।    

यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहर लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ। बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज सञ्चालन गर्नेछ।

कोभिड–१९ महामारीको सन्दर्भमा बुद्ध एयरले सङ्क्रमणरहित उडानका लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई अभिमुखिकरण, पिपिई प्रदान, बीमा र त्यसै अनुरुपको हवाइसेवा सञ्चालन गरिरहेको जनाएको छ। पछिल्ला दिनमा हवाई यात्रुको सङ्ख्या पनि क्रमशः बढिरहेको कम्पनीले जनाएको छ। बुद्ध एयरसँग एटीआर–७२ जहाज १० थान, एटीआर–४२ जहाज तीन थान र दुई थान बीचक्राफ्ट जहाज रहेका छन्।

Logo