धितोपत्र बोर्डका अध्यक्ष र सञ्चालकलाई कारबाही गर्न कर्मचारी युनियनको माग

धितोपत्र बोर्डका अध्यक्ष र सञ्चालकलाई कारबाही गर्न कर्मचारी युनियनको माग


नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र बोर्डका सञ्चालक चन्द्रप्रसाद ढकाललाई छानविन गरी कारबाही गर्न माग गरेको छ ।

युनियनले विज्ञप्ती निकाल्दै बोर्डका अध्यक्ष तथा सञ्चालक ढकाल लगायतले बुक विल्डिङमार्फत् धितोपत्र जारी गर्ने प्रक्रियामा गएको सर्वोतम सिमेन्टको शेयर खरिद गरेको बिषयमा छानबिन गर्न माग गरेको छ ।

संचारमाध्यममा बोर्ड अध्यक्ष ढुंगानाको विषयमा प्रकाशित समाचार र सोही परिप्रेक्षमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा स्पष्ट गरी पठाउनेबारे भनेर लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

धितोपत्र ऐन २०६३ को प्रस्तावनामै उल्लेख गरिएअनुसार पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मूल मर्मअनुसार बोर्डको नेतृत्व एवं सञ्चालकहरूले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट नभएको विज्ञप्तिमा उल्लेख छ ।

बुक विल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित सम्बेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको अध्यक्ष तथा सञ्चालकका रूपमा गम्भिर विचलन भएको निष्कर्ष निकालेको छ ।

बोर्डको कार्यक्षेत्रभित्रै पर्ने हुँदा, सञ्चार माध्यममा आएका बिषयले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचारसंहिताअनुसार गम्भिर नैतिक पतन भएको भन्दै करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन भनेको छ ।

त्यस्तै, उक्त कार्यमा संलग्नहरूलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७) १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी युनियनले माग गरेको छ ।


 

Logo