साना किसानको सहयोगमा काभ्रेको मण्डनदेउपुर-१० का किसानलाई कृषियन्त्र हस्तान्तरण

साना किसानको सहयोगमा काभ्रेको मण्डनदेउपुर-१० का किसानलाई कृषियन्त्र हस्तान्तरण


काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० स्थित आँपघारीका किसानहरुलाई सहुलियतमा कृषियन्त्र हस्तान्तरण गरिएको छ। चण्डेनीमण्डन सानाकिसान सहकारी संस्था लिमिटेडको पहल र प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा किसानहरुलाई मिनि टिलर ट्याक्टर, मकै पिँध्ने मेसिन, मकै छोडाउने मेसिन र स्प्रेयर पम्प लगायतका कृषियन्त्रहरु प्रदान गरिएको हो।

शनिबार आँपघारीमा आयोजित एक कार्यक्रमकाबीच पूर्वमन्त्री गोकुल बाँस्कोटा, नगरउपप्रमुख निर्मला शाही लगायतले किसानलाई ती कृषि सामाग्री हस्तान्तरण गरेका हुन्।

किसानहरुलाई प्रविधिमैत्री बनाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले किसानहरुलाई आर्थिक अनुदान तथा कृषियन्त्रहरु हस्तान्तरण गरिएको साना किसान सहकारी संस्थाका अध्यक्ष सुमन नेपालले बताए। 

वितरण गरिएका मध्ये १२ किसानलाई मिनि टिलर ट्याक्टर, चार जना किसानलाई मकै पिँध्ने मेसिन, पाँच किसानलाई मकै छोडाउने मेसिन र नौ जना किसानलाई इलेक्ट्रिक स्प्रेयरपम्प हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा आलु खेतीका लागि ४४ जना किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत र मण्डनदेउपुर नगरपालिकाको २५ प्रतिशत अनुदान रकमसमेत हस्तान्तरण गरिएको थियो।

अध्यक्ष नेपालका अनुसार सो परियोजनामार्फत चार जना किसानलाई पिभिएस आलुको बीउका लागि ३ लाख ४२ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको छ। उनले संस्था स्थापना भएको चार वर्षको अवधिमा किसानहरुलाई प्रविधिमैत्री, कृषिमा आधुनिकीकरण गर्नका लागि विभिन्न कार्यक्रमहरु अघि सारिएको समेत जानकारी दिए। उनका अनुसार सहकारीमा आवद्ध थप १८३ जना किसानले मिनि टिलर ट्याक्टर खरिदका लागि आवेदन दिएका छन्।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले किसानहरुको आर्थिक समृद्धि नभई देशको विकास असम्भव भएको बताए । उनले एमाले नेतृत्वको सरकारले किसानमैत्री थुप्रै कार्यक्रमहरु अघि बढाएको पनि बताए। 

बाँस्कोटाले किसानहरुलाई प्रविधिमैत्री, आधुनिक खेतीमा आकर्षित गर्नका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याइएको बताउँदै कृषिका लागि आवश्यक सिंचाईका योजनासमेत अघि बढेको बताए। 

पछिल्ला दिनहरुमा यस भेगका किसान आधुनिक खेतीतर्फ आकर्षित भएका छन्। गत वर्ष यहाँ चक्लाबन्दी कार्यक्रम अन्तर्गत गह्रा सुधार गरिएको थियो। ती गह्राहरुमा एकिकृत खेतीको सुरुवात पनि गरिएको अध्यक्ष नेपालले जानकारी दिएका छन्।

Logo