मौद्रिक नीतिमा व्यवसायीको प्रतिक्रिया: कोरोनाप्रभावित व्यवसायीलाई सहुलियत सकारात्मक

मौद्रिक नीतिमा व्यवसायीको प्रतिक्रिया: कोरोनाप्रभावित व्यवसायीलाई सहुलियत सकारात्मक


राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ। कोरोना महामारी प्रभावित उद्योगी–व्यवसायीलाई राहत, निरन्तरतासहित बैंकले मौद्रिक नीति ल्याएको छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित व्यवसाय, बैंक तथा वित्तीय संस्थामा समेत नयाँ व्यवस्था गरिएको बताएका छन्।

मौद्रिक नीतिले महामारी प्रभावित व्यवसायीको माग सम्बोधन गरेको भन्दै व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन्। राष्ट्र बैंकले बजेटमा समावेश गरिएका योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सजिलो बनाउने गरी मौद्रिक नीति आएको उद्योगी–व्यवसायीले उल्लेख गरेका छन्।

मौद्रिक नीति सकारात्मक : शेखर गोल्छा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चालू आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक आएको बताएका छन्। 

अध्यक्ष गोल्छाले मौद्रिक नीतिका सकारात्मक र चुनौती दुबै भएको पनि बताएका छन्।  उनले मौद्रिक नीतिमा १२ करोडसम्म शेयर धितो ऋण लिन पाउने व्यवस्था गर्नु चाहिँ गलत भएको बताएका छन । 

महासंघका अध्यक्ष शेखर गोल्छाले केन्द्रविन्दुसँग प्रारम्भिक प्रतिक्रिया दिँदै एउटा बैंकले ४ करोडसम्म र समग्र वित्तीय क्षेत्रबाट १२ सम्म सेयर धितो ऋण पाउने भन्ने व्यवस्थाले बजारमा तरलता ल्याउने बताएका हुन्। 

‘राष्ट्र बैंकले शेयर व्यवस्था गरेको शेयर कर्जाको सीमा चिन्ताको विषय हो, यसले तरलता ल्याउँछ नै,’ अध्यक्ष गोल्छाले भने ।

यसबाहेक मौद्रिक नीतिले धेरैजसो विषय गत वर्षकै निरन्तरता दिनु राम्रो पक्ष भएको उनको भनाइ छ। गत वर्षभन्दा एक कदम अगाडि बढेर कोरोनाबाट अतिप्रभावित उद्योग क्षेत्रलाई सहुलियत दिने कुरा उल्लेख हुनु सकारात्मक भएको उनले उल्लेख गरेका छन्।

उनले भने, ‘मुख्य कुरा भनेको एक करोडभन्दा कम ऋण लिएकाले फेरि लिन वा नयाँ ऋण लिन चाहने साना मझौला व्यवसायीले बेस रेटमा दुई प्रतिशत मात्रै थपमा ऋण पाउने भन्ने कुरा निकै स्वागतयोग्य छ।’

यो व्यवस्थाले कोरोना प्रभावित सानामझौला उद्योगीव्यवसायीलाई निकै राहत पुर्याउने आशा जगाएको छ। त्यस्तै, पुनर्कर्जामा साना मझौला उद्यमीलाई प्राथमिकता दिइने कुरा पनि स्वागतयोग्य रहेको छ।

त्यस्तै, पुनर्तालिकीकरणमा कोभिडप्रभावित उद्योगलाई प्राथमिकता दिइएको छ। बेस रेट गणना परिमार्जन गर्ने भनिएको छ, त्यो उद्यमीमैत्री भएको उनको प्रतिक्रिया छ। 

त्यस्तै, रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्थाले तरलता बढाउन मद्दत गर्नेछ।

 महिला उद्यमीलाई दिइने कर्जा सीमा बढाएर २० लाख पुर्याउनु सकारात्मक रहेको उनको भनाइ छ। व्यवसाय निरन्तरता र कर्जा सहजीकरण राम्रो पक्ष हो। सूक्ष्म निगरानीको व्यवस्थालाई ३ वर्ष बनाइने भनिएको छ, त्यो पनि राम्रो पक्ष रहेको छ। 

त्यस्तै, कालोसूचीको व्यवस्थालाई पुनरावलोकन गर्ने कुरा व्यवसायीमैत्री छ। सिसिडी अनुपात हटाएर कर्जा निक्षेप अनुपात ९० प्रतिशत बनाउनु सकारात्मक भएकाले यसले बजारमा तरलता बढाउने उनको धारणा छ।

विदेशबाट लिने सेवा आयात बापतको भुक्तानीका लागि वाणिज्य बैंकहरूले प्रदान गर्नसक्ने सटही सुविधामा आवश्यक पुनरावलोकन गरिने व्यवस्था छ। यो व्यवसाय विस्तारका लागि महत्वपूर्ण र सकारात्मक छ। 

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित व्यवसाय, बैंक तथा वित्तीय संस्थामा समेत नयाँ व्यवस्था गरिएको बताएका छन्।

त्यस्तै उनले मौद्रिक नीतिको चुनौतीपूर्ण पक्ष बैंक वित्तीय संस्थाबाट लिने कर्जा सीमा तोकिनु, साना तथा मझौलालाई परियोजना धितो कर्जा दिनुपर्ने माग प्रत्यक्षरुपमा समावेश गरिनु नकारात्मक पक्ष रहेको उनले बताए।

बजेटमा स्टार्टअपलाई २५ लाखसम्मको कर्जा दिइने भनिएको थियो, तर त्यो बिषय कार्यान्वयनमा प्रष्ट आएको छैन। 

विद्युतीय कारोबार बढाउने नीति राम्रो :  चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

कोरोना महामारीका कारण प्रभावित भएको उद्योग व्यवसायलाई निरन्तरताका लागि सुविधा दिएकाले मौद्रिक नीति सकारात्मक नै रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिक्रिया दिएका छन्। 

 खास गरी बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्राथमिकता दिएर विभिन्न सहुलियतको व्यवस्था  मौद्रिक नीतिमा गरिएको छ। उनले भने,‘यो मर्जरमा जाने बैंकहरूका लागि सकारात्मक छैन।’

बैंक तथा वित्तीय संस्थाहरूमा विद्युतीय कारोबार बढाउने नीति लिनु पनि राम्रो भएकाले अब सफल रुपमा कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ। 

अब कार्यान्वयनको  अपेक्षा : राजेन्द्र मल्ल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति गत वर्षकै निरन्तरता दिने खालको आएको प्रतिक्रिया दिएका छन्। मौद्रिक नीति सार्वजनिक भएपछि केन्द्रविन्दुलाई प्रतिक्रिया दिँदै उनले गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिएर मौद्रिक नीति आएको उल्लेख गरे।

अध्यक्ष मल्लले तल्लो तहका एसएमइज र महिला उद्यमीको विकासका लागि बजेटले ल्याएका कार्यक्रमलाई सम्बोधन गर्ने खालको मौद्रिक नीति आएको र अब कार्यान्वयनको अपेक्षा निजी क्षेत्रले गरेको बताए। 

 बैंकिङ माध्यममार्फत् आउने रेमिट्यान्स बैंकमै जम्मा गरेर राखेको अवस्थामा थप एक प्रतिशत ब्याज दिने व्यवस्था मिलाउने घोषणा हुनु निकै स्वागतयोग्य भएको उनको विचार छ।

सार्वजनिक यातायातका लागि राम्रो व्यवस्था : कृष्णप्रसाद दुलाल, अध्यक्ष, नाडा आटोमोबाइल्स डिलर्स एशोसियसन 

नाडा आटोमोबाइल्स डिलर्स एशोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति समग्रमा राम्रो आएको  प्रतिक्रिया दिएका छन्। 
नाडाका अध्यक्ष दुलालले जेठ १५ गते केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई नै सहयोग पुग्ने गरी मौद्रिक नीति आएको र अटोमोबाइल क्षेत्रलाई भन्दा पनि सार्वजनिक यातायातका लागि राम्रो आएको उनको धारणा छ। 

‘पुनःकर्जा यथावत राखेको छ, यसले धेरै ठूलो राहत मिल्नेवाला छ। डाउन पेमेन्टका कुरा नआए पनि सार्वजनिक सवारीसाधनका धनीहरूले किस्ता, साँवा र ब्याज एक वर्षको भाका राखेर तिर्नसक्ने भएका छन्,’ उनले भने, ‘स्वरोजगार बन्न सक्ने खालका गाडी, ट्याक्सीलगायत किन्न २५ लाखसम्म बिना धितो ऋण पाउने व्यवस्था पनि राम्रो छ।’ 

पर्यटन क्षेत्रबारे धेरै उल्लेख : खुमबहादुर सुवेदी, अध्यक्ष, टान 

ट्रेकिङ एजेन्सीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष  खुमबहादुर सुवेदीले मौद्रिक नीति समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। 

सुवेदीले ट्राभल, होटल, ट्रेकिङ, एयरलाइन्सलगायत पर्यटनसम्बन्धी क्षेत्रबारे मौद्रिक नीतिले धेरै उल्लेख गरेको भन्दै अब सहज कार्यान्वयन हुनुपर्ने बताए। 

कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्तिका लागि स्वरोजगार व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइनेलगायत पर्यटनसम्बद्ध विषय उल्लेख हुनु खुसीको कुरा भएको उनको धारणा छ। यसको  सहज कार्यान्वयनको अपेक्षा टानले गरेको अध्यक्ष सुवेदीको भनाइ छ ।

मौद्रिक नीति साना तथा मझौला उद्योगमैत्री छ, अब कार्यान्वयन हुनुपर्छ: अध्यक्ष कटुवाल

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले चालू आर्थिक वर्षको  मौद्रिक नीतिले साना तथा मझौला उद्योगी तथा व्यवसायी मैत्री प्रतिक्रिया दिएका छन्। 

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले काेराेना प्रभावित साना, लघु, घरेलु तथा मझौला व्यवसायीकाे समस्या बुझेर समग्रमा सकारात्मक नीति आएकाे छ। उनले भने,` मौद्रिक नीतिले काेराेना महामारीको कारण शिथिल बनेका, व्यवसाय निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका तथा पलायन हुन लागेका व्यवसायीकाे हितमा आएको छ।´

कोरोना महामारीका कारण धेरै उद्योग व्यवसाय पलायन हुने अवस्थामा पुगेका छन्। महामारीले धेरै समस्यामा पर्नेमा पनि साना तथा मझौला उद्योग व्यवसायहरु नै भएकाले  मौद्रिक नीतिले व्यवस्था गरेका सकारात्मक पक्षले व्यवसायलाई खुसी बनाएकाे उनको भनाइ छ। 

उद्यम व्यवसाय सञ्चालन गर्न मौद्रिक नीतिमा १ करोड वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम २ प्रतिशत दरले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ। यो साना तथा मझौला उद्योगी व्यवसायीहरुका लागि राम्रो भएको उनले बताए। 

कोरोना प्रभावित उद्योग व्यवसायीहरुलाई धेरै सहुलियत दिएको भन्दै उनले मौद्रिक नीति स्वागत योग्य भएको बताए। तर विगतमा जस्तै यस वर्ष पनि कार्यान्वयनका क्रममा साना तथा मझौला उद्योग व्यवसायले धेरै दुःख पाउनु पर्ने तथा धेरै लामो प्रक्रिया बनाएर झुलाउने अवस्था आउन सक्ने शंका व्यक्त गरे।

‘कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने व्यवस्थाले व्यवसायीलाई अझ बढी राहत मिलेको बताए।

त्यस्तै, मौद्रिक नीतिले व्यवसायी गर्न ऋण लिएर लगानी गरेका त निषेधाज्ञा अवधिमा पनि  ०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई/इक्यूआई वा साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरि ०७८ पुस मसान्त सम्म म्याद थप गर्न सकिने व्यवस्था मिलाइएकोले व्यवसायीलाई ठूलाे राहत मिलेको छ।

उनले भने,`गत वर्ष साना व्यवसायीलाई त्यति धेरै राहत भएको थिएन याे वर्ष साना व्यवसायीकाे लागि धेरै राम्रो नीति आएको उनले बताए।

Logo