शेयर बजार कब्जा गर्न खोजेको भन्दै अर्थ समितिमा अध्यक्ष ढुंगानाप्रति सांसदहरूकाे आक्रोश

शेयर बजार कब्जा गर्न खोजेको भन्दै अर्थ समितिमा अध्यक्ष ढुंगानाप्रति सांसदहरूकाे आक्रोश


अध्यक्ष भिष्मराज ढुंगानाले छोरीमार्फत् गरेको सर्वोत्तम सिमेन्टको शेयर कारोबारको नेपाल धितोपत्र बोर्डले बचाउ गरेको छ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीले विवाहित छोरीले गरेको सो शेयर कारोवारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टिकरण दिएका हुन्। बैठकमा समितिका सदस्यहरुले परिवारका सदस्यहरुलाई शेयर कारोबारमा संलग्न गराएर शेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्रोश व्यक्त गरेका थिए। 

बोर्डको तर्फबाट त्यसको जवाफ दिने क्रममा उप कार्यकारी निर्देशक अधिकारीले विवाहित छोरी परिवारमा भित्र पर्ने व्यवस्था धितोपत्र सम्बन्धि कुनै पनि ऐनमा नभएकाले अध्यक्ष ढुंगानालाई सो विषयमा विवादमा तान्न नमिल्ने तर्क गरे। उनले भने, ‘धितोपत्र सम्बन्धि ऐनमा परिवार भन्नाले विवाहित छोरी नपर्ने स्पष्ट उल्लेख गरिएको छ। र विवाहित छोरीले शेयर खरिद विक्री गर्ने निजी अधिकार भएकाले त्यसमा उनको बुबाको संलग्नता नहुने स्पष्ट देखिएको छ। हामीले अर्थ मन्त्रालयलाई पनि सोही प्रावधान खुलाएर स्पष्टिकरण दिएका छौं।’

सर्वोत्तम सिमेन्टको शेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुन विपरित छोरीको नाममा १० हजार कित्ता शेयर जारीको अनुमति पाउनुभन्दा करिव ३ साता अघि खरिद गरेको आरोप लागेको थियो। सोही विषयमा अर्थ समितिले बोर्डका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको हो। बैठकमा बोल्दै समितिका सभापति कृष्णप्रसाद दाहालले परिवारका सदस्यहरुलाई पूँजी बजारमा ल्याउने काम नियमनकारी निकाय आफैंले गरेको भन्दै आपत्ति जनाएका थिए। उनले अन्य क्षेत्रमा लगानी नगरेर परिवारकै सदस्य भएको क्षेत्रमा लगानी बढाउनुको कारण के हो? भनि बोर्डका सदस्यहरुलाई प्रश्न पनि गरे।

यता, बोर्ड अध्यक्ष ढुंगानाले भने विवादित छोरीको शेयर कारोबारलाई बन्देज लगाउन मिल्ने कानुनी प्रबन्ध नभएको जवाफ दिए। उनले विवाहित छोरी परिवारका सदस्य नरहने धितोपत्र सम्बन्धि ऐनमा स्पष्ट व्यवस्था भएकाले छोरीको शेयर कारोबारमा आफूलाई मुछ्न नमिल्ने तर्कसमेत गरे।

समितिका सदस्यहरुले परिवारलाई शेयर बाँडफाँट गरेर गलत काम नगर्न बोर्डका पदाधिकारीहरुलाई सचेत गराएका थिए।

Logo