राष्ट्रिय स्तरका विकास बैंकको नाफा वाणिज्य बैंकभन्दा पनि बढी

राष्ट्रिय स्तरका विकास बैंकको नाफा वाणिज्य बैंकभन्दा पनि बढी


वाणिज्य बैंक तथा विकास बैंकहरुले गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण साउन मसान्तसम्म सार्वजनिक गरेका छन्।

अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा ५ बैंकबाहेक सबैले गत आर्थिक वर्ष २०७७\७८ मा मुनाफा गरेका छन्। सो अवधिमा २७ वाणिज्य बैंकहरुले खुद नाफा ६३ अर्ब ३७ करोड रुपैयाँ कमाएका छन्।  

गत आर्थिक वर्षमा सबैभन्दा बढी मुनाफा कमाउने पहिलो वाणिज्य बैंक नविल बैंक बनेको छ। नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५० करोड मुनाफा गरेको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो। 

त्यस्तै, दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ९१ करोड थियो।

त्यस्तै, राष्ट्रिय स्तरका विकास बैंकहरुले गत आर्थिक वर्षमा खुद नाफा साढे ५ अर्ब रुपैयाँ बढी कमाएका छन् । जुन अघिल्लो आवको तुलनामा ६८.९५ प्रतिशत अर्थात् २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बढी रहेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ थियो । 

अहिलेसम्म नेपालमा १८ वटा विकास बैंक सञ्चालनमा छन् । जसमध्ये ८  राष्ट्रियस्तरका र १० क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरु रहेको छन्। राष्ट्रियस्तरका विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्। 

राष्ट्रियस्तरका ८ विकास बैंकहरुको कुल चुक्ता पुँजी २६ अर्ब ९२ करोड ३३ लाख रुपैयाँ रहेको छ । विकास बैंकहरुले पछिल्लो एक वर्षको अवधिमा ४ अर्ब १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य मात्रै नाफा आर्जन गरेका छन्।

पछिल्लो केही वर्षदेखि राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा तथा कर्जा लगानीदेखि अन्य सूचकमा समेत वाणिज्य बैंकहरुलाई उछिन्न थालेका छन्। गत आर्थिक वर्षको वित्तीय विवरणमा पनि आधाभन्दा बढी राष्ट्रियस्तरका विकास बैंकहरुले वाणिज्य बैंकहरुभन्दा धेरै खुद नाफा आर्जन गरेका थिए।

वाणिज्य बैंकहरुलाई गत आर्थिक वर्षको खुद नाफामा उछिन्ने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन्।

मुक्तिनाथ विकास बैंकले नेपाल एसबीआई बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकभन्दा बढी मुनाफा आर्जन गरेको छ । त्यस्तै गरिमा विकास बैंकले सेञ्चुरी र सिभिल बैंक र ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकले सिभिल बैंकभन्दा बढी खुद नाफा कमाएर वाणिज्य बैंक भन्दा अब्बल बन्नसमेत सफल भएका छन्।

८ विकास बैंकमा कुन बैंकको नाफा कति ?

१.मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसले अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.७० प्रतिशत बढी नाफा कमाएको छ । यो नाफा नेपाल एसबिआई बैंक, सेञ्चुरी र सिभिल बैंकभन्दा बढी हो । जसमा नेपाल एसबीआई बैंकले गत आवमा ९६ करोड, सेञ्चुरी बैंकले ७५ करोड र सिभिल बैंकले ५५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

२.गरिमा विकास बैंक

गरिमा विकास बैंकले गत आर्थिक वर्षमा ८२ करोड ५२ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको २४ करोड ८० लाख ३२ हजार रुपैयाँ बढी हो । बैंकको यो खुद नाफा सेञ्चुरी र सिभिल बैंकभन्दा धेरै रहेको छ । 

३.ज्योति विकास बैंक

ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ७४ करोड १६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको भन्दा २५ करोड ३२ लाख २३ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

४.महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ७३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवभन्दा ३० करोड ४३ लाख ५१ हजार रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ ।

५.कामना सेवा विकास बैंक
 
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवभन्दा ५८ करोड ५ लाख २१ हजार रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ।

६.लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा ५१ करोड ६२ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवभन्दा १३ करोड ७७ लाख २७ हजार रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ।

७.साइन रेसुंगा डेभलपमेन्ट बैंक

साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ५१ करोड ४५ लाख २५ हजार रुपैंयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवभन्दा ९ करोड १६ लाख ६४ हजार रुपैयाँ बढी रहेको छ।

८.सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ४१ करोड ६९ लाख ३० हजार रुपैंयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवभन्दा २२ करोड ५८ लाख ८३ हजार रुपैयाँ बढी छ।

Logo