हुम्लामा मनपरी भाडा: ११ किलाेमिटरकाे ५ सय रुपैयाँ !

हुम्लामा मनपरी भाडा: ११ किलाेमिटरकाे ५ सय रुपैयाँ !


हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँपालिका सम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा असुल्ने गरेका छन्। सदरमुकाम सिमकोट गाउँपालिकादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जम्मा ११ किलोमिटरकाे दूरीमा जीपले प्रति यात्रु ३ सयदेखि ५ सयसम्म भाडा असुल्ने गरेका छन्।

स्थानीय कुम्मेर हमालले लकडाउन अघि ३ सय ५० रुपैयाँ भाडा लिने गरिएकोमा अहिले ५ सय सम्म लिने गरिएकाे गुनासाे गरे। तोकेको भाडा नदिए चालकले लैजान नमान्ने गरेको हमालको गुनासो छ।

सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नछोएको भए पनि सिमकोटदेखि अन्तर्पालिकासम्म सञ्चालन हुँदै आएका छोटो दूरीका यातायातले मनपरी रुपमा भाडा असुली रहेका छन्।

व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिने गरेको यात्रुले बताएका छन्। 'मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा पनि भएकै छ', हमालले भने।

गाडि चालकले कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन। सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ।

जीप चालकले यात्रुबाट बढी भाडा लिने गरेकाे विषयमा अनुगमनसमेत नभएकाे यात्रुकाे गुनासाे छ। सदरमुकाम सिमकोट मात्रै ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको भए पनि सदरमुकाम बाहिर सम्बन्धित निकायबाट अनुगमन नहुनुले यात्रुलाई थप समया निम्त्याएको छ।न्युज कारखानाबाट

Logo