कस्तो इ-पासपोर्ट आउँदैछ नेपालमा?

कस्तो इ-पासपोर्ट आउँदैछ नेपालमा?


पासपोर्ट कुनै पनि नागरिकको प्रवासमा रहँदाको परिचयपत्र हो। वैदेशिक रोजगारदेखि विदेश भ्रमणमा जानेसम्मका लागि पासपोर्ट नभई नहुने कुरा हो। १३ औँ शताब्दीमा बेलायतबाट सुरु भएको कागजी पासपोर्ट अहिले प्रविधिमैत्री हुने क्रममा छ। 

नेपालको परराष्ट्र मन्त्रालय अन्तर्गतको पासपोर्ट विभागले सन् २०१० डिसेम्बर २६ देखि साधारण पासपोर्ट हटाएर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोगमा ल्याएको थियो। पासपोर्टमा भएको परिचयलाई यन्त्रको सहयोगले प्रमाणीकरण गर्न सकिने भएकाले एमआरपीको प्रयोग विश्वभर हुन थालेपछि नेपालमा पनि एमआरपी जारी गर्न थालिएको थियो। 

एमआरपीको प्रयोग संसारभरका देशमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सक्रियतामा भएको थियो। नेपाल आइकाओको एक सदस्य राष्ट्र हो।  आइकाओले सन् २०२५ पछि आफ्ना सदस्य राष्ट्रहरूले अनिवार्य रूपमा इ–पासपोर्ट प्रयोगमा ल्याउनुपर्ने बताएको छ। नेपालले पनि त्यसैअनुरुप इ–पासपोर्ट प्रयोगमा ल्याउन लागेको छ। 

आगामी नोभेम्बर महिनाको अन्त्यबाट नेपालमा इ–पासपोर्ट वितरण हुने पासपोर्ट विभागका प्रवक्ता राजेन्द्र पाण्डेले जानकारी दिए।

कागजी पासपोर्टबाट एमआरपी हुँदै इ–पासपोर्टसम्म आइपुग्दा पासपोर्टको प्रविधीकरण तीव्र गतिमा भइरहेको भान हुन्छ। तीव्र गतिको प्रविधिकरणसँगै अलमल पनि बढ्दो छ। सरकारले इ–पासपोर्ट वितरण गर्ने बताउँदै आएको भए पनि इ–पासपोर्ट के हो भन्नेबारे मानिस स्पष्ट भएको पाइँदैन। यसै विषयमा चर्चा गरौँ। 

साधारण कागजी पासपोर्ट र इ–पासपोर्टबीचको फरक निर्धारण गर्ने एउटा विद्युतीय ‘चिप’ले मात्र हो।

इ–पासपोर्टको स्वरुप साधारण कागजी पासपोर्टभन्दा धेरै फरक हुँदैन। साधारण कागजी पासपोर्ट र इ–पासपोर्टबीचको फरक निर्धारण गर्ने एउटा विद्युतीय ‘चिप’ले मात्र हो। अनुहार, औंठाछाप र आँखाको स्वरुपजस्ता मानिसका शारीरिक गुण उसका अद्वितीय परिचय हुन्, अर्थात् यी विवरण मानिसपिच्छे फरक हुन्छन्। देशबाहिर मानिसको परिचयपत्र यस्ता विवरणमा आधारित हुने हुँदा विश्वसनीयता थप हुन्छ। 

इ–पासपोर्टको ‘चिप’मा यस्तै शारीरिक परिचय कैद गरिएका हुन्छन्, जसको प्रयोगमार्फत् पासपोर्ट बोक्ने मानिसको परिचय प्रमाणीकरण गर्न सकिन्छ। मानिसको शारीरिक जानकारी रहने भएकैले इ–पासपोर्टलाई ‘बायोमेट्रिक’ पासपोर्ट पनि भनिन्छ। ‘बायोमेट्रिक’को अर्थ जीवन (शरीर) सम्बन्धी जानकारी भएको भन्ने हुन्छ।  

इ–पासपोर्टले कसरी काम गर्छ?
विद्युतीय ‘चिप’मा भएको शारीरिक जानकारीको प्रमाणीकरण इ–पासपोर्टको कार्यविधिको चुरोकुरो त हो। तर, यसको पनि प्रक्रिया हुने गर्छ।  

इ–पासपोर्टमा भएको विद्युतीय ‘चिप’को अद्वितीय खालको परिचय हुन्छ, जसलाई ‘डिजिटल सिग्नेचर’ भनिन्छ। उक्त ‘डिजिटल सिग्नेचर’ पासपोर्टधारीको अनुहार, औँठाछाप र आँखाजस्ता शारीरिक गुणको संवाहक पनि हो। सोही ‘सिग्नेचर’को माध्यमबाट मानिसको परिचय प्रमाणीकरण हुने गर्छ।  

विभिन्न देशले द्विपक्षीय माध्यमबाट त्यस्तो ‘डिजिटल सिग्नेचर’ आदानप्रदान गरेर परिचय प्रमाणीकरण गर्न त सक्छन्। तर, त्यसो गर्दा ठूलो मात्रामा सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ, जसले गर्दा आदानप्रदान प्रणाली झन्झटिलो एवं जटिल हुन्छ। संसारभरका ‘डिजिटल सिग्नेचर’ एकै ठाउँ राख्दा द्विपक्षीय झन्झटबाट मुक्ति सम्भव हुन्छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले यस समस्या हल गर्न ‘पब्लिक कि डिरेक्टरी’ नामक संग्रह राखेको हुन्छ, जसमा इ–पासपोर्टको डिजिटल सिग्नेचर संग्रहित हुन्छ। यस डाइरेक्टरीमा इ–पासपोर्ट कार्यान्वयनमा ल्याएका देशले आफ्ना नागरिकको बारेमा जानकारी ‘अपलोड’ गर्न र प्रमाणीकरणका लागि चाहिएको अवस्थामा विदेशी नागरिकको जानकारी ‘डाउनलोड’ गर्न सक्छन्। 

अनुहार, औँठाछाप, आँखाको स्वरुपजस्ता मानिसका शारीरिक गुणहरू (अर्थात् बायोमेट्रिक जानकारी) सुरक्षा प्रणालीमा बढ्दो मात्रामा प्रयोग हुन थालेका छन्। इ–पासपोर्ट त्यसैको एक उदाहरण हो। 

Logo