जगदम्बा स्टीलमा तोडफोड गर्ने माथि कारवाही गर्न महासंघको माग

जगदम्बा स्टीलमा तोडफोड गर्ने माथि कारवाही गर्न महासंघको माग


वीरगंज पथलैया औद्योगिक कोरिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रालिमा भदौं ११ गते भएको तोडफोड गर्नेमाथि कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ।

स्थानीय तहमा संचालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पुर्याएको छ।

तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद भएको बताइएको छ । 
उद्योगको अमोनिया ग्याँस टयाङ्कबाट ग्यास लिक भई भएको घटनालगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ । 

यस्तो कार्यले एकातिर उद्योग र स्थानीय जनताबीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोवल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने महासंघले जनाएको छ ।

तोडफोडमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानूनका दायरामा ल्याई कारवाही गर्न महासंघले संघीय सरकारसहित तीनै तहका सरकारसँग माग गरेको छ ।
 

Logo