खुद्रा पैसाको महत्व किन घट्दै? यस्तो छ कारण

खुद्रा पैसाको महत्व किन घट्दै? यस्तो छ कारण


कुनै एक समय थियो। चार पैसा कसैसँग भयो भने पनि त्यसको महत्व अहिलेको लाख रुपैयाँसरह मानिन्थ्यो। प्राचिन समयमा पैसाको कारोबार न्युन हुने गरेको थियो। पैसासँगै नोटको विकास धेरै पछि मात्र भएको पाइन्छ। हामीले प्रयोग गर्ने कागजी नोट नेपालमा प्रयोग हुन थालेको नै धेरै भएको छैन। नेपालमा कागजी नोटको प्रचलन २०१७ सालबाट सुरु भएको पाइन्छ। 

वि.सं.२००२ सालबाट नै नेपालमा कागजी नोटको सुरुवात गरिएको भनिएता पनि चलनचल्ती भने धेरै पछाडी सुरु भएको पाइन्छ। ०१७ सालभन्दा पहिले नेपाली पैसाका नोटहरू छालाका बनाइने गरेका थिए। 

तर, अहिले छालाका नोटहरू प्रयोग गर्ने मानिसहरु कमै मात्रामा रहेका छन्। पछिल्लो पुस्तालाई सुन्दा पनि अचम्म लाग्न सक्छ। छालाको पैसा सर्वसाधारण जनताले भन्दा पनि त्यो बेला राजघराना र व्यापारी वर्गले मात्र प्रयोग गर्न पाएका थिए।

पैसा कुनै न कुनैरुपमा मानव इतिहासको महत्वपूर्ण अंशको रुपमा रहँदै आएको छ । बितेका तीन हजार वर्ष पहिला पैसा भन्दा पनि वस्तुविनिमय प्रणाली रहेको थियो। त्यो समयमा मुद्राको रुपमा सजिलै विक्री हुने वस्तुहरु छाला, नुन र हतियारहरु विक्री गर्न मिल्ने वस्तुहरु विनिमयका माध्यम थिए। इकाइ मूल्य आपसी समझदारीमा तय गरिन्थ्यो।

तर आज पैसा आधुनिक अर्थ व्यवस्थाको मेरुदण्ड मानिन्छ । पैसाले नै अहिले हरेक मानिसको दिनचर्यालाई प्रभावित पारिरहेको छ। पैसा, द्रव्य, धन, दौलतको मोह सर्वव्यापी छ। अर्थशास्त्र, लेखाशास्त्र र वित्तशास्त्रमा पैसालाई शरीरको रक्त सञ्चारसँग समेत तुलना गर्ने गरिन्छ। 

तर पछिल्लो समय त्यो विगतको चार पैसा र रुपैयाँको महत्व हराउँदै गएको छ। मानिसहरुले चार पैसा वा रुपैयाँको मुल्याङ्कन नै गर्न छाडेका छन्। कसरी खुद्रा पैसाको महत्वमा गिरावट आइरहेको छ, जिज्ञासाको विषय बनेको छ।

तर पछिल्लो समय इन्डफेक्सनका कारण (वस्तु तथा सेवा) कम खरिद गर्न पाउने र डिजिटल डिभाइसको विकास भएकाले सामान खरिद गर्न पैसा चाहिन्छ भन्ने नभएकाले खुद्रा पैसाको महत्व कम हुँदै आएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बताए।

अहिले डिजिटल कारोबार बढ्दै गएकाले क्युआर कोड तथा एटिएम कार्डमार्फत भुक्तानी गर्न सकिने भएकाले खुद्रा पैसाको विगतको तुलनामा ९० प्रतिशत महत्व घट्दै गएको प्रमुख नेपाल बताउँछन्।

‘हामीले एक कप चिया खानु पर्दा पनि २० रुपैयाँको नोट आवश्यक भएको छ। स्थान्तरणको सहजता र क्रय क्षमताको कारण मानिसहरुले ठूला दरका पैसाको पहिचानमा जोड दिएका छन्। तर साना दरका नोट र क्वाईन विस्तारै लोप  हुँदै गएकाले आवश्यकताका कारण महत्व कम भएको हो।,’ प्रमुख नेपालले भने । 

यसरी साना दरका पैसा वा सिक्काको प्रयोग बढाउन नसक्नु नेपाल सरकार तथा राष्ट्र बैंक लगायत सबै निकायको कमजोरी रहेको छ। उनले भने, ‘क्वाइन पैसा प्रयोग हुने भ्यान्डिङ मेसिन जडान गर्न सकिएको छैन। राज्यले उपल्ब्ध गराउने माध्यम कमी देखिन्छ।’

त्यस्तै, ग्राहक, उपभोक्ता, सेलर र जसले क्वाइन वा साना दरको पैसा प्रयोग गरी वस्तु वा सेवाको डेलिभर गर्दछन्, उनीहरु नै यो विषयमा गम्भिर नभएकाले प्रयोग कम भएको छ भने पछिल्लो समय मूल्यवृद्धि र जनता तथा उपभोक्ताहरुमा पनि सानो रकमको बेवास्ता बढेकाले महत्व हराउँदै गएको उनको भनाइ छ।

जीवनलाई पैसासँगै तुलना
पछिल्लो आधुनिक विश्वमा हरेक मानिसले पैसालाई जीवनसँग तुलना गरिरहेका छन्। पैसाबिना हरेक मानिसको दिनचर्या चल्न छाडेको छ। 

अहिलेको पूँजीवादी अर्थव्यवस्थामा पैसाले किन्न र बेच्न नसकिने वस्तु वीरलै रहेका छन्। पैसा भए जे पनि किन्न पाइन्छ भन्ने आम सर्वसाधारणको सोच रहेको  छ । बजार र बजारका मूल्य मान्यताहरुले हाम्रो जीवनमा प्रभाव पारिरहेका छन्।

पैसाकै लागि सारा जीवनलाई एकातिर थन्क्याएर मरिमेटेर काम गरिरहेका छौं। अहिले खुसी पनि पैसा नै अनि दुःख पनि पैसा नै रहेकाले जीवनलाई पैसाकै आधारमा तुलना गरिन्छ।

Logo