१ अर्ब ८० करोडमा चोभार सुख्खा बन्दरगाह निर्माणकार्य सम्पन्न, चाँडै सञ्चालन गर्ने तयारी

१ अर्ब ८० करोडमा चोभार सुख्खा बन्दरगाह निर्माणकार्य सम्पन्न, चाँडै सञ्चालन गर्ने तयारी


कीर्तिपुर नगरपालिका–६ चोभारमा सुख्खा बन्दरगाह निर्माणकार्य सम्पन्न भएको छ। यद्यपि कहिलेबाट सञ्चालनमा आउने हो त्यो भने टुंगो लागेको छैन। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मा शिलन्यास गरी निमार्ण कार्य थालिएको सुख्खा बन्दरगाह २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ । 

विशेष गरेर बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र काठमाडौंबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह निर्माण गरिएको बताउँछन् इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल ।

अहिलेसम्म भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएकोमा अब भने नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट हुनेछ। 

चोभार भएर जाने बाहिरी चक्रपथ, काठमाडौं–तराई÷मधेस जोड्ने द्रुतमार्ग, चीन र भारतबाट आउने रेललाई जोडेर एउटा महत्वपूर्ण ट्रान्जिट हब बनाउने योजनासहित तयार गरिएको बन्दरगाह हो चोभार सुख्खा बन्दरगाह । 

 

करिब १ अर्ब ८० करोड लगानीमा तयार यस सुख्खा बन्दरगाह निर्माणका लागि विश्वबैंकले एक अर्ब ६० करोड  ऋण प्रवाह गरेको हो भने करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण थालिएको थियो । 

त्यस्तै, सरकाररले हिमाल स्टिलको करिब ३० करोड ऋण चुक्ता गरिदिएर आयोजना सुरु गरेको हो। 

आयोजनाअन्तर्गत रहेर सुख्खा बन्दरगाहको मूल भवन, पार्किङ स्थल र गोदाम लगायतका संरचना तथा नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यालय भवन एवम् भन्सारसम्बन्धी भवन र अन्य पूर्वाधारहरु तयार गरिएको छ। 

विशेष गरी सुख्खा बन्दरगाहमा ३ वटा गोदाम घर, प्रशासनिक भवन, २ वटासुरक्षा निकाय बस्ने भवन तयार छन् । यस्तै सवारी नापतौल तथा नियन्त्रण कक्ष, कन्टेनर ग्राउण्ड स्लट तयार गरिएको छ।

बन्दरगाहमा एक्जिम क्षेत्र ११६ टीइयू स्लट चार तहमा राख्न सक्ने संरचना बनाइएको छ भने ५ सय ट्रक तथा पाँच सयकै हाराहारीमा कन्टेनर पार्किङ क्षमता स्थल, ढल प्रशोधन केन्द्र, कूल आयोजनाको ६ प्रतिशत हरियाली क्षेत्र, ध्वनि प्रदूषण नियन्त्रण गर्ने प्रविधियुुक्त १३ सय मिटर लामो पर्खाल, प्रशासनिक पार्किङ यार्ड पनि तयार छ । 

बन्दरगाहमा विद्युतीय सबस्टेसन, लाइटिङ सिसिटिभी क्यामेरासमेत जडान गरिएको छ। 

बन्दरगाहको प्रशासनिक भवनभित्रै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालयहरूको व्यवस्थापन गरिनेछ। सीमा नाकाभन्दा टाढा भित्री सहरमा बनेको पहिलो यस सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै  राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने माल सामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् ।

सुख्खा बन्दरगाहले व्यापार पारबहनमा समय र लागत दुवै बचत हुनेछ। तर, यसका लागि समयमै सरकारी निकायले भन्सार जाँचपाससम्बन्धी मोडालिटी र क्वारिन्टीको टुंगो लगाउन जरुरी देखिन्छ। 

Logo