११ असोज २०७८ सोमबार

खसी पालनले उकासेको जीवनः वार्षिक एक करोड बढीको कारोबार

सुनसरीका दुई परिवारले खसीबोका पालेरै वार्षिक १ करोड बढीको कारोबार गर्दै आएका छन्।

उत्पादनले सहजै बजार पाउने र मागसमेत बढी आउने भएकाले खसीबाख्रा पालन उनीहरुको राम्रो आम्दानीको श्रोत बनेको हो। सुनसरीको कोशी कटान क्षेत्रमा दुई वर्ष अघिबाट थालिएको बोयर गोट फार्ममा तीन महिनाको एउटै पाठी अढाई लाख मूल्यमा बिक्री हुने गरेको छ । अस्ट्रेलियाबाट चिम्पाञ्जी जातको बोका र बाख्रा ल्याएर सुरु गरिएको सो फार्मले दुई लटका पाठापाठी बिक्री गरि सकेको छ। 

फार्मका खसी बाख्रा मासुका लागि भन्दा पनि बीउ र उत्पादनको लागि किसानले प्रयोगमा ल्याउने गरेका छन्। एउटा माउ बाख्राले एकै पटकमा तीन वटासम्म पाठापाठी पाउने भएकाले समेत पालनको लागि पाठीको माग अत्याधिक रहेको फार्म सञ्चालक बताउँछन्। बोकासमेत ६ देखि ८ लाखमा बिक्रि हुने गरेको बताउने फार्म सञ्चालक माग धान्न नसकेकाले व्यवसाय विस्तारमा जुटेको बताउँछन्।

कृषि पेशा अंगाल्दै आएको सुनसरीको डुम्राहाकी कोपिला कार्कीको परिवारलेसमेत पाठापाठी बेचेरै मनग्यै आम्दानी गर्दै आएको छ। आठ वर्ष यता निरन्तर सो पेशामा लागेको कार्की परिवारले खसीबाख्रा पालनका लागि घरमै ठूलेमोर कृषि फार्म संचालन गरेको छ। उक्त फार्ममा १५० बढी खसीबाख्रा पालिएका छन्। लोकल तथा बोयर क्रस र जमुनापारी क्रस बाख्रा पालन गर्दै आएको सो परिवार बजारको कुनै समस्या नभएको बताउँछ। मासुका लागि खसीको माग अत्याधिक रहेको बताउने फार्म सञ्चालिका कार्की स्थानीय बजारमै उत्पादन खपत हुने गरेको बताउँछिन्।

व्यवसायिकरुपमा फार्म संचालन गर्दै आएकाको हकमा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र इनरुवाले आवश्यक परामर्श र अनुदान दिने भएकालेसमेत पछिल्लो समय व्यवसायिक पालनमा किसानको आकर्षण बढ्दै गएको छ।

कृषि अर्थ संसार

प्रकाशित: १९ भदौ २०७८ ०७:२० शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी