शेयर बजारमा उतारचढाव आउँदा मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

शेयर बजारमा उतारचढाव आउँदा मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?


कोरोना महामारीका कारण पछिल्लो दुई वर्षमा मुलुकको अर्थतन्त्रमा गहिरो असर परेको छ। कोरोनाका कारण अर्थतन्त्र चलायमान बनाउने अधिकांश क्षेत्र अहिले पनि संकटमा छ। कोरोना महामारीको पहिलो लहरपछि लयमा फर्कन लागेको अर्थतन्त्र कोरोनाको दोस्रो लहरसँगै थप संकटमा परेको छ।

तर, यसरी दुई वर्ष लगातार अर्थतन्त्रको विस्तार ठप्प हुँदा समग्र अर्थतन्त्र प्रभावित बन्यो। मुलुकमा लाखौं श्रमिकको रोजगारी गुमेको छ। व्यावसायिक क्षेत्रमा ठूलो लगानी गर्ने लगानीकर्ता मारमा परेका छन्।

विश्व बैंकले समेत आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने आँकलन गरेको छ। समग्र अर्थतन्त्रको अवस्था शिथिल बन्दै जाँदा कोरोना महामारीको पहिलो लहरपछि शेयर बजारमा भने उत्साह देखिएको छ।

विगत एक वर्षदेखि शेयर बजार परिसूचक उकालो लागिरहेको छ। साना र नयाँ लगानीकर्ता शेयर बजारमा उत्साहित रूपमा लागेका छन्। 

एक वर्षदेखि अन्यत्र लगानीको आकर्षक विकल्प नदेखिएको र बैंकको ब्याजदर लगातार घटिरहेको कारण लगानीकर्ताहरूले शेयर बजार लगानी बढाएका छन्। पूर्व अनुभव नभएका समेत शेयर बजारमा लागेका छन्।  

गत वर्षको असारसम्म एक हजार १७८ अंकमा रहेको शेयर बजार एक वर्षको बीचमा गत भदौ २ गते तीन हजार १९८ अंकसम्म पुगेको थियो।

तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै निरन्तर शेयर बजारमा उतारचढाव आएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ सय ९२ अर्ब ७६ करोड रहेकोमा २०७८ असार मसान्तमा धितोपत्र बजार पँुजीकरण ४० सय १० अर्ब ९६ करोड पुगेको छ।

शेयर बजारलाई समग्र मुलुकको आर्थिक अवस्थाको ऐना भनिने चलन छ। तर, अर्थतन्त्र शिथिल भएका बेला शेयर बजारमा देखिएको पछिल्लो रौनकलाई अस्वाभाविक भएको अर्थविद्हरूले टिप्पणी गरेका छन्।

शेयर बजारमा जति धेरै उतारचढाब भए पनि मुलुकको समग्र अर्थतन्त्रमा खासै फरक नपर्ने उनीहरूको भनाइ छ।

अर्थतन्त्रमा खासै प्रभाव पर्दैनः अर्थविद् केशव आचार्य

विश्वका धेरै मुलुकमा शेयर बजारलाई लगानीको स्रोत जुटाउने माध्यमको रूपमा लिने गरिन्छ। 

युरोपियन मुलुकहरूमा पुँजी बजारबाट नै पैसा उठाएर पानीजहाज, जहाज कम्पनीलगायत अन्य धेरै औद्योगीकरण भएका छन्।

तर, हाम्रो मुलुकको पुँजी बजार र हाम्रो उत्पादन, निर्यात र रोजगारीसँग सम्बन्ध खोज्दा भेटिने अवस्था छैन। कोरोना महामारीको समयमा समेत शेयर बजार उकालो लागेर तीन हजारभन्दा माथि पुगेको थियो।

नेपाली पुँजी बजारमा भएको विकासले नेपालबाट हुने निर्यातमा कति प्रभाव पर्यो? राजश्वमा कति प्रबन्ध गर्यो? आर्थिक बृद्धिदरमा कति मदत गर्यो? त्यस्तै, मुलुकमा गरिबी निवारणमा मदत गर्यो? हेर्दा शेयर बजारसँग स्पष्ट सम्बन्ध रहेको छैन र देखिँदैन पनि।

पछिल्लो एक वर्षमा धेरै मान्छे शेयर बजारमा प्रवेश गरेका छन्। शेयरमा लगानी गर्न सजिलो पनि देखिएको छ। बैंकबाट थोरै ऋण लिएर लगानी गर्दा त्यसबाट नाफा आउँछ। त्यसैले बजार विस्तार हुन्छ। 

पुँजी बजार बृद्धि नराम्रो होइन। पुँजी बजारले बैंकहरूको तीन खर्बभन्दा बढी पुँजी भएको छ। त्यस्तै वित्तीय कम्पनी, बीमा कम्पनीलगायत अन्य कम्पनीको पनि सूचीकृत हुँदै गएको छ। 

तर, पुँजी बजारको दीर्घकालीन विकास गर्नको लागि भोलि विश्वमा बाढी पहिलो, भूकम्प, बाटोघाटो नै बन्द भयो भने त्यसलाई धान्न हामीले कृषि, औद्यौगिकरण, विभिन्न कृषिजन्य वस्तुको उपज उत्पादनमा हामी लाग्न सकेका छैनौं।

उत्पादन क्षेत्रमा जोड दिएर मुलुकलाई उत्पादन क्षेत्रमा आत्मनिर्भर बनाउनेतिर सरकार लाग्नुपर्ने बेलामा अर्थमन्त्री राष्ट्र बैंकले बनाएका नीति संशोधन गर्न निर्देशन दिनु त्यो पनि केही सीमित व्यक्तिहरूको लागि राष्ट्र बैंकमाथि हस्तक्षेप गर्नु राम्रो भएन।

समग्र पुँजी बजारमा १२ करोडमाथि शेयर धितोकर्जा लिने ०.११ प्रतिशत मात्रै रहेका छन्। यो भनेको एक हजारमा ११ जनाले मात्रै शेयर धितो कर्जा १२ करोडमाथि कर्जा सुविधा लिएका रहेछन्। यस्तो हुँदा पनि ठूलो हङ्गामा भएको छ। 

पुँजी बजारमा १२ करोडसम्म लगानी गर्नेहरूलाई राष्ट्र बैंकको नीतिको मतलब छैन। तर, थोरै जमातको कुरा सुनेर अर्थमन्त्री त्यसैको पछि लाग्नु भएन । आठ लाखदेखि १० लाख लगानी गर्नेको पनि सरकारले कुरा सुन्न जरुरी छ।

उतारचढाव स्वाभाविकः प्रा.डा. चन्द्रमणि अधिकारी

शेयर बजार घटबढ हुनु स्वाभाविक हो। शेयर बजारका वस्तुगत आधारहरू पनि हुन्छन्। मनोवैज्ञानिक आधारहरू पनि हुन्छन्। शेयर वस्तुगतका आधारमा भन्दा आर्थिक प्रभाव गर्ने मौद्रिक नीति आउँदा, बजेटले नयाँ नीति लिन खोज्दा, कम्पनीहरूको मुनाफामा तल माथि हुँदा शेयर बजारमा प्रभाव पर्छ।

त्यस्तै, मनोवैज्ञानिक आधार भनेको सरकारको नयाँ नेतृत्व, शेयर बजार नियमनकारी निकायमा नयाँ नीति आउँदा तथा नियमनकारी निकायमा बसेका व्यक्तिले केही अभिव्यक्ति दिँदा बजार घटबढ हुने गरेको छ।

तर, नेपाली पुँजी बजार त्यति धेरै परिपक्व छैन, अन्तर्राष्ट्रियस्तरमा जोडिएको पनि छैन। देशमा पनि राजधानीकेन्द्रित संकुचित बजार छ। पछिल्लो समय अर्थतन्त्र ओरालो लागेको छ। शेयर बजार उकालो लागेको छ। यो एकखालको ‘करेक्सन’ मान्नु पर्छ। 

यसले समग्र मुलुकको अर्थतन्त्रमा ठूलो उतारचढाव आउँछ भन्ने छैन। यस्तो अवस्थामा एउटा डर हुन्छ, जुन पुँजी बजारसम्बन्धी जानकारी नभएर तथा अनाश्वयक अरुको लहलहैमा लागेर लगानी गर्ने साना लगानीकर्तालाई मार पर्छ। नत्र, मुलुकको अर्थतन्त्रमा त्यस्तो असर पर्दैन।

पुँजी बजारमा कहिलेकाँही आउने उतारचढावले समग्र अर्थतन्त्रमा प्रभाव पारी हाल्दैन। किनकी, पुँजी बजारको नेपालको अर्थतन्त्रमा अझै पनि अत्याधिक ठूलो अंश ओगट्न सकेको छैन।

बैंक तथा वित्तीय संस्थाको धेरै लगानी छ। पछिल्लो समय हाइड्रो पावरहरू थपिँदै गएका छन्।
तर, यसलाई नियमन गर्ने निकायहरू छैनन्। त्यसकारण अर्थतन्त्रमा धेरै ठूलो प्रभाव पर्ने हुदैन। त्यसको प्रभाव लगानीकर्तालाई केही प्रभाव पर्छ। अर्थतन्त्रमा ठूलो प्रभाव पदैन। 

अर्थतन्त्र त्यतिबेला तहसनहस हुन्छ, जतिबेला आर्थिक नीतिमा भएका कमजोरीहरू, सरकारको लगानी हुन नसक्दा, सरकारको खर्च हुन नसक्दा र मुलुकमा चरम भष्ट्राचार बढ्दा अर्थतन्त्रमा प्रभाव पर्ने हुन्छ।

शेयर बजार संवेदनशील हुन्छः पूर्व गभर्नर चिरन्जीवी नेपाल 

शेयर बजार संवेदनशील हुन्छ। स–सानो सूचनाले पनि शेयर बजारलाई प्रभावित पार्ने गरेको छ। विश्वका धेरै मुलुकमा मन्त्री तथा पुँजी बजार नियम निकायको नीतिले शेयर बजारलाई प्रभावित पार्ने गरेको छ।

शेयर बजार तल माथि भइरहन्छ। अर्थतन्त्र तङ्ग्रिने अवस्थामा शेयरमा धेरै पैसा गयो भने प्राथमिकता प्राप्त क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव हुन नदिन राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाइ गर्दछ। 

कोरोनाका कारण नेपालको अर्थतन्त्र संकटमा रहेको छ। अझै पनि कहिले अर्थतन्त्र त तङ्ग्रिन्छ भन्ने निश्चित छैन।

कोभिडको तेस्रो, चौथो लहर आउने सम्भावना बाँकी छ। बजार अलि स्थिर भएको समयमा राष्ट्र बैंकले अहिलेको नीति ल्याउनु पर्ने थियो।

शेयर धितो कर्जाको सीमा कटाउनुपर्ने देखिएको थियो। तर, राष्ट्र बैंकको नीति ल्याउने समय गलत भएको मात्रै हो।

पुँजी बजारलाई प्रभाव पर्ने किसिमको नीति नियम धितोपत्र बोर्डमार्फत् आउनुपर्ने हो। अहिले केन्द्रीय बैंकले नीति जारी गर्दा लगानीकर्ताहरू बढी आक्रोशित भएका हुन्।

बजारको संवेदनशिलताको विषयमा धितापत्र बोर्ड बढी जानकार हुन्छ। केन्द्रीय बैंकले समग्र अर्थतन्त्रको आधारमा नीति ल्याउने हो। केन्द्रीय बैंकले दीर्घकालीन अर्थतन्त्रलाई मध्यनजर गरेर नीति ल्याउँछ। त्यसैले समग्र अर्थतन्त्रमा शेयर बजारमा भएको उतारचढावले त्यति धेरै प्रभाव पर्ने देखिँदैन।

शेयर बजार पहिले पनि दुई सयबाट १२ सय पुगेको थियो। पहिलो पटक शेयर बजार बढ्दा धितोपत्र बोर्डको अध्यक्ष थिए। दोस्रो पटक बजार बढ्दा गभर्नर छन् । त्यस समय बढ्दै गएको बजारलाई प्रभावित गर्ने खालको नीतिगत निर्णय गरिएन।

बजार स्थिर भएको समयमा बजारलाई व्यवस्थित गर्ने नीति अपनाइएको थियो। तर, अहिले राष्ट्र बैंकले हतार गरेको हो कि भन्ने हो। यसमा राष्ट्र बैंकको नियत सकारात्मक नै देखिन्छ।

उत्पादनमुलक क्षेत्रमा जानुपर्ने पैसा शेयरमा मात्र दिएर हुँदैन। उत्पादनमुलक क्षेत्र बढ्छ र शेयरमा जाने रकममा लगाम लगाउन खोजिएको हो।

लगानीकर्ताहरू उत्साहित भएर घरखेत बेचेर लगानी गरिराखेका छन्। कोभिडको समयमा नेपालमा मात्र विश्वका अधिकांश शेयर बजार बढेको छ। लगानीको अर्को क्षेत्र नखुलेसम्म पुँजी बजारलाई लगाम कस्ने समय भएको छैन।  
 

Logo