नेप्से परिसूचक ६० अंकले गिरावट, कारोबार रकम ६ अर्ब ६४ करोड मात्रै

नेप्से परिसूचक ६० अंकले गिरावट, कारोबार रकम ६ अर्ब ६४ करोड मात्रै


आइतबार १०८ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १६१ अंकले बृद्धि भयो ।

तर, सोमबारको उच्च बृद्धिदर मंगलबार भने निरन्तरता पाएन । मंगलबार ४४ अंकले गिरावट आएको थियो । 

यसरी शेयर बजारमा बुधबार पनि गिरावटले निरन्तरता पाएको छ । बुधबार अधिकांश कम्पनीको शेयर मूल्य मात्रै घटेन, कारोबार रकममासमेत भारी गिरावट आएको छ ।

बुधबारको कारोबारमा नेप्से परिसूचक ६० अंकले घटेर २ हजार ८७६.५९ अंकमा सीमित भएको छ । 

आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँमा कारोबार भएको छ । 

जसमध्ये कारोबारमा ३८ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज कारोबारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एक्सल डेभलपमेन्ट बैंक, राइराङ हाइड्रोपावर डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी, स्वरोजगार लघुवित्त वित्त विकास बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

आइतबार भारी अंकले घटेको नेप्से सोमबार बिहान शेयर बजारका समस्या तत्काल समाधान गर्न भन्दै अर्थमन्त्रीले गभर्नरलाई फोन गरेपश्चात् एक्कासी शेयर बजार उकालो लागेको थियो ।

तर, मंगलबार राष्ट्र बैंकले शेयर धितो कर्जामा तोकिएको ४ देखि १२ करोडको सिमा परिमार्जन नहुने भनेकाले नेप्से गिरावट रोकिएन ।

शेयर बजारमा गिरावट आउनसाथ नाफा बुक गरेर बसेका ठूला लगानीकर्ता शेयर बजारमा नफर्किएपछि साना लगानीकर्ताले बजार थाम्न नसक्दा बजारमा निरन्तर पहिरो गइरहेको छ।
 

Skip This
Logo