किसानहरूलाई चाहिने रासायनिक मल सधैं किन अभाव हुन्छ?: सांसद खतिवडा

किसानहरूलाई चाहिने रासायनिक मल सधैं किन अभाव हुन्छ?: सांसद खतिवडा


कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य सांसद घनश्याम खतिवडाले किसानहरूलाई चाहिने रासायनिक मल सधैं किन अभाव हुन्छ भन्दै बैठकमा प्रश्न गरेका छन्।

सोमबार सिंहदरबारमा भएको समितिको बैठकमा सांसद खतिवडाले रासायनिक मल खरिदमा वान डोर सिस्टम कायम गर्नुपर्ने सुझाव पनि दिएका छन्। 

‘मैले थाहा पाउँदादेखि अभाव भएको मल म अहिले ६० वर्ष पुगें आजसम्म पनि मलको अभाव छ मात्र भनिन्छ। यो सिस्टममा त्रुटि हो कि, मन्त्रालयको लापरवाही हो कि, साल्ट ट्रेडिङ, कृषि सामाग्री कम्पनी दुवैले किन सहज आपूर्ति गर्न सक्दैनन्? भन्दै खतिवडाले प्रश्न उठाएका छन्।

‘हामीलाई चाहिने जम्मा आवश्यक मल खादमा ४० प्रतिशत आपूर्तिका लागि मात्रै सरकारले बजेट छुट्याएको छ, यस्तो लापरवाही किन?’, खतिवडाले बैठकमा भनेका छन्। सीमानामा कहिले नेपालबाट भारत जाने त कहिले भारतबाट नेपालमा मल आउने गरेको अनुभव सुनाउँदै उनले भारतबाट आउने मलमा नुन मिसाइने गरेको बताए। 

नियम संगत ढंगले भन्दा खुल्ला सीमाका कारण यस्ता गतिविधि सीमा क्षेत्रमा नयाँ नभएको भन्दै खतिवडाले आपूर्तिको व्यवस्थापन त राम्रो छैन नै, आएको मलको वितरण प्रणालीमा पनि समस्या देखिएकाले यथासक्य चाँडो समाधानतर्फ जानुपर्ने सुझाव दिएका छन्।

त्यस्तै खतिवडाले किसानहरूको जिविकाका लागि, कृषि उत्पादनका लागि, सरकारले अनुदान दिने परिपाटी कायम गरिएको तर, सरकारले दिएको अनुदानबाट आयातमा के चिज प्रतिश्थापन भयो र निर्यातमा के चिज प्रवर्द्धन गर्यौं, भन्दै प्रश्न गरेका छन्।

उनले भने, ‘वास्तविक किसानको हातमा अनुदान पुगोस्, अनुदान गलत ठाउँमा गइरहेको आंशका बढेको छ।’

समितिले सोमबार रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आव ७७/७८ को कार्य प्रगति र चालु आवको कार्ययोजनाका सम्वन्धमा छलफल गरेको थियो।

Logo