विकास बैंकहरूको कर्जा विस्तार र निक्षेप संकलनमा वृद्धि

विकास बैंकहरूको कर्जा विस्तार र निक्षेप संकलनमा वृद्धि


विकास बैंकहरूले पछिल्लो एक सातामा निक्षेप संकलन तथा कर्जा प्रवाहमा सुधार गरेका छन्। एक साताको अवधिमा विकास बैंकहरूले ३ अर्ब १४ करोड रुपैंयाँ कर्जा प्रवाह थप गरेका छन् भने अघिल्लो साताको तुलनामा ७३ करोड निक्षेप संकलन थप गरेका छन्।

गत भदौ १९ गतेसम्म विकास बैंकहरूले ४ खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरि ४ खर्ब ३३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

विकास बैंकहरूले पछिल्लो एक साताको अवधिमा भदौ २५ गतेसम्म ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने, ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको डेभलपमेन्ट बैंकर्स संघले जनाएको छ।

यसरी अघिल्लो साताको तुलनामा पछिल्लो सातामा कर्जा प्रवाह ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ थप गर्दा निक्षेप संकलन ७३ करोड १४ लाख रुपैंयाँ थप गरेको छ। नेपालमा अहिलेसम्म ८ राष्ट्रियस्तर र १० क्षेत्रियस्तरका गरि १८ वटा विकास बैंकहरू सञ्चालित छन्।

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले भदौ १९ गतेसम्म ४ खर्ब १६ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ६५ अर्ब ९१ करोड ३३ लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए।

पछिल्लो एक साता २५ गतेसम्म आइपुग्दा यी विकास बैंकहरुले निक्षेप संकलन ०.२४ प्रतिशत र कर्जा प्रवाह ०.७९ प्रतिशतले बढाएका डेभलपमेन्ट बैंकर्स संघको तथ्यांकले देखाएको छ । एक सातामै ९८ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन थप गर्दा कर्जा प्रवाह भने २ अर्ब ८९ करोड १६ लाख रुपैयाँले थप गरेका हुन्।

यस्तै, क्षेत्रियस्तरका विकास बैंकहरुमा साहारा विकास बैंक र साल्पा विकास बैंक बाहेक ७ वटा विकास बैंकहरुले भदौ २५ गतेसम्म ७१ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ४३ करोड ७ लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन्। 

एक सातामा क्षेत्रियस्तरका विकास बैंकहरुको निक्षेप २५ करोड ७ लाख रुपैयाँले घट्दा कर्जा प्रवाह भने २५ करोड ८२ लाख रुपैयाँले थप भएको छ।

जिल्लास्तरको विकास बैंकका कर्जा लगानी भने ०.३८ प्रतिशत वृद्धि भएर ६ खर्ब ७४ अर्ब तीन करोड रुपैंयाँ पुर्याउन सफल भएका छन्। गत हप्ता यी बैंकले  ६ खर्ब ७१ अर्ब ७ करोड रुपैंयाँ कर्जा लगानी गरेका थिए। 

यसमा कर्पोरेट विकास बैंक र साल्पा विकास बैंकको व्यवसाय विवरणमा समावेस नरहेको संघले जनाएको छ।

Logo