मोबाइल बैकिङ भुक्तानी कारोबार सीमा बढ्यो, प्रिपेड कार्डको घट्यो

मोबाइल बैकिङ भुक्तानी कारोबार सीमा बढ्यो, प्रिपेड कार्डको घट्यो


नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङमार्फत हुने भुक्तानीको सीमा बढाएको छ। 

मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ भुक्तानीको सीमा बढाएको हो।

बैंक खाताबाट ‘वालेट’मा र ‘वालेट’बाट अन्य बैंक खातामा रकम पठाउँदाको अधिकतम सीमा बढाएको छ। 

अब, प्रतिकारोबार ५० हजार रूपैयाँ, प्रतिदिन एक लाख रूपैयाँ र प्रतिमहिना १० लाख रूपैयाँ भुक्तानी गर्न पाउने व्यवस्था गरेको छ।

यसअघि प्रतिकारोबार २५ हजार रूपैयाँ, प्रतिदिन एक लाख रूपैयाँ र प्रतिमहिना पाँच लाख रूपैयाँको सीमा रहेको थियो।

एक ‘वालेट’बाट अर्को ‘वालेट’मा रकम पठाउँदाको सीमा भने यथावत नै राखिएको छ। जसमा अहिले प्रतिकारोबार २५ हजार रूपैयाँ, प्रतिदिन एक लाख रूपैयाँ र प्रति महिना पाँच लाख रूपैयाँसम्मको कारोबार गर्न पाइन्छ।

साथै, ‘वालेट’मा बढीमा ‘ओभरनाइट’ २५ हजार रूपैयाँसम्म मौज्दात राख्न पाइनेमा त्यो संख्यालाई दोब्बर बनाउँदै ५० हजार रूपैयाँसम्म राख्न पाइने व्यवस्था गरेको छ। 

नयाँ व्यवस्थाअनुसार सो सीमाभन्दा बढी रहेको रकम अनिवार्य रूपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनु पर्ने छ।

साथै संस्थागत ग्राहक र एजेन्टबाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न पाउने छन्।  

त्यसैगरि, बैंक तथा वित्तीय संस्था तथा कार्ड जारी गर्न अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले जारी गरेको एनएफसी कार्डमार्फत् प्रतिकारोबार अधिकतम पाँच हजार रूपैयाँसम्मको विद्युतीय कारोबार गर्न पाउने भएका छन्। 

त्यस्तै, राष्ट्र बैंकले ‘क्यूआर कोड स्क्यान’ गरी हुने भुक्तानीको सीमा पनि दोब्बरले बृद्धि गरेको छ। यसअघि मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम एक लाख रूपैयाँ रहेकोमा अहिले सीमा बढाएर प्रतिदिन दुई लाख रूपैयाँ बनाइएको छ। 

साथै इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीको सीमा १० लाख रूपैयाँबाट बढाएर प्रतिदिन २० लाख रूपैयाँ बनाइएको छ।
तर, नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार प्रिपेड कार्डबाट रकम झिक्ने सीमा भने घटाएको छ।

यसअघि प्रिपेड कार्डबाट प्रतिकारोबार २५ हजार रूपैयाँ निकाल्न पाइन्थ्यो। अब, २५ हजारलाई घटाएर प्रतिकारोबार १० हजार रूपैयाँ, प्रतिदिन २० हजार रूपैयाँ र प्रति महिनामा २ लाख रूपैयाँ मात्रै निकाल्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

तर, डेबिट कार्डको हकमा भने यसअघि कै  प्रतिकारोबार २५ हजार रूपैयाँ, प्रतिदिन एक लाख रूपैयाँ र प्रतिमहिना चार लाख रूपैयाँसम्म निकाल्न मिल्ने सुविधालाई परिर्वतन गरेको छैन।

त्यस्तै, राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले तीन हजार रूपैयाँसम्मका लागि प्रतिकारोबार पाँच रूपैयाँ सेवा शुल्क लिन पाउनेछन्। 

तीन हजार एक रूपैयाँदेखि १० हजार रूपैयाँसम्मका लागि १० रूपैयाँ र १० हजार एक रूपैयाँदेखि माथिको कारोबारमा २० रूपैयाँ सेवा शुल्क लिन पाउनेछन्।

बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत् विद्युतीय रकमान्तर गर्दा ५० हजार रूपैयाँसम्मका लागि १० रूपैयाँ सेवा शुल्क बुझाउनुपर्नेछ।

५० हजार एक रूपैयाँदेखि एकलाख रूपैयाँसम्मका लागि प्रतिकारोबार २० रूपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा ३० रूपैयाँ सेवा शुल्क लिन पाउने छन्। 
 

Logo